बलेवा, चैत १६ गते । बागलुङमा कोभिड–१९) को संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयले चासो बढाएका छन् ।
बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी युवतीमा शनिबार कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग सम्बन्धित व्यक्ति तथा एउटै जहाजमा आएकाहरुको स्वाब परीक्षणका लागि तयारी थालिएको छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँबाट आवश्यक सुरक्षा सामग्रीसहित सम्भावित जाँचका लागि दुई विशेषज्ञलाई बागलुङ पठाएको छ । एक सय थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), सेनिटाइजर र मास्कसहित विशेषज्ञ बागलुङका लागि हिँडेका हुन् ।
डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहानसम्म बागलुङ आइपुग्ने मन्त्रालय स्रोतले जनाएको छ ।
‘उहाँहरु बागलुङ पुगेपछि त्यहाँका चिकित्सकहरुसँग छलफल गरेर आवश्यक सबैको परीक्षणका लागि नमूना संकलनको काम हुनेछ ’ मन्त्रालय स्रोतलाई उद्धृत गर्दै प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले भन्नुभयो, ‘जोखिममा रहेकाहरुको अवस्था हेरेर जाँच गर्नुपर्छ भन्ने छ ।’
यता प्रादेशिक स्वास्थ्य निर्देशनालयले संक्रमित युवतीको परिवार र सम्पर्कमा रहेकाहरुमा कोरोनाको संकेत देखिएमा परीक्षणका नमूना संकलन गर्न तयारी थालेको छ ।
निर्देशनालयले धौलागिरि अञ्चल अस्पतालका लागि एक थान भेण्टिलेटर, २५ थान पिपिई र २५ थान किट आज बागलुङ पठाएको प्रादेशिक स्वास्थ्य आपतक्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताउनुभयो ।