logo
२०८१ माघ ९ बुधवार



कोरोनासँग जुध्न गाउँमा अभिभावकत्व लिँदै पूर्वराज्यमन्त्री

प्रदेश |


कोरोनासँग जुध्न गाउँमा अभिभावकत्व लिँदै पूर्वराज्यमन्त्री


राँझा, चैत १७ गते ।  कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वराज्यमन्त्री दलबहादुर सुनारले गाउँमा अभिभावकको भूमिका निर्वाह गर्नुभएको छ । सबैतिर स्थानीय, प्रदेश र केन्द्रीय सरकारको मुख ताकेर बसिरहेका बेला पूर्वराज्यमन्त्री सुनारको सक्रियतामा स्थानीयस्तरबाटै योजना निर्माण र कार्यान्वयनका लागि कोष खडा गरिएको छ ।
उहाँको नेतृत्वमा बाँके निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको बैजनाथ र खजुरा गाउँपालिकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीयस्तरबाट प्रभावकारी योजना बनेका छन् । ‘यो महाविपत्तिको बेला सरकार वा अरु कसैको आश गरिरहने होइन, आआफ्नो ठाउँमा भएको सम्भावनालाई प्रयोग गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो,‘हामी सरकारले गरिरहेको काममा सहयोग र समन्वय गर्दै स्थानीयस्तरमा नागरिकलाई सचेत र उत्तरदायी बनाउन लागिपरेका छौँ ।’

तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य सुनार २०६४ र २०७० मा दुईपटक संविधानसभा सदस्य बन्नुभयो । विसं २०६८ मा सिँचाइ राज्यमन्त्रीसमेत हुनुभएका सुनार २०७४ पछि भने गाउँ फर्केर जनस्तरमा काम गर्नुभएको छ । हाल उहाँ बैजनाथ गाउँपालिकामा रहेको प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेर विद्यालयलाई नमूना बनाउनु भएको छ भने स्थानीय चाहना कृषि सहकारी संस्थाको समेत नेतृत्व गर्नुभएको छ ।

लकडाउनले गरिखाने मजदूर र विपन्न समुदायको अवस्था दयनीय बनेपछि सुनारको संयोजकत्वमा यतिबेला विपत् कोष निर्माण गरी अतिआवश्यकीय खाद्यान्न सङ्कलन तथा वितरण शुरू भएको छ । बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेश क क्षेत्रमा रहेका मजदूर तथा गरीव एवं विपन्न समुदायलाई लकडाउनका समयमा अत्यावश्यक खाद्यान्नलगायत सामग्री जुटाउन पूर्वराज्यमन्त्री सुनारको संयोजकत्वमा विपत् कोष निर्माण गरी काम शुरू भएको नेकपा जिल्ला सचिवालय सदस्य चन्द्र चौधरीले जानकारी दिनुभयो ।

उहाँले निर्वाचन क्षेत्रमा रहेका मजदूर तथा विपन्न समुदायको तथ्याङ्क सम्बन्धित गाउँपालिका र वडा कार्यालयबाट सङ्कलन गरी वास्तविक पीडितको घरसम्म पुगेर आवश्यक खाद्य पदार्थ वितरण गरी कोरोनाविरुद्धको अभियानमा जनतालाई जागृत बनाइने बताउनुभयो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले पूर्वराज्यमन्त्री सुनारको सक्रियताले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गाउँपालिकाले सञ्चालन गरेका अभियान थप प्रभावकारी हुने बताउनुभयो । स्थानीयस्तरमा सबैले आआफ्ना स्थानबाट आवश्यक सक्रियता देखाएमा गाउँपालिकाले सञ्चालन गरेका हेल्प डेस्क, क्वारेन्टाइन, आइसोलेशन वार्डका कामकारवाही पनि प्रभावकारी भई भाइरस रोकथाममा सघाउ पुग्ने उहाँको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?