logo
२०८१ माघ ११ शुक्रवार



सुदूरपश्चिममा २५ करोडको बोइलर कुखुरा नोक्सान

प्रदेश |


सुदूरपश्चिममा २५ करोडको बोइलर कुखुरा नोक्सान


भीमदत्तनगर, चैत २५ गते । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् । यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

“लकडाउनको पहिलो साता साना, मझौला र ठूला बोइलर पालक किसानले करिब दश लाख कुखुरा मासुका लागि तयार गरेका थिए”, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत हेमराज अवस्थीले भन्नुभयो, “कुखुराका लागि दाना, औषधिलगायत सबै प्रभावित हुँदा किसानले क्षति व्यहोर्नु प¥यो ।” 
मन्त्रालयले एक साता समय लगाएर लकडाउनमा सुदूरपश्चिममा कृषि क्षेत्रमा भएको नोक्सानी पर्यवेक्षण गरेर सङ्घीय कृषि मन्त्रालयमा समेत प्रतिवेदन पठाइसकेको छ । “प्रदेशभरी कुखुराका लागि दैनिक २० टन दाना चाहिन्थ्यो”, वरिष्ठ पशु विकास अधिकृत अवस्थीले रासससित भन्नुभयो, “शुरुमा आहार नपाउँने भएपछि ५० हजार कुखुरा खाल्डोमा पुरेर नष्टसमेत गर्ने अवस्था आयो ।” उहाँले लकडाउन लम्बिएसँगै कुखुरा पालक किसानको नोक्सानीको दायरासमेत बढ्दै जाने बताउनुभयो ।

त्यसैगरी सुदूरपश्चिममा अण्डा उत्पादनका लागि किसानले २० लाख लेयर्स जातको कुखुरा पालेका छन् । “लकडाउनले अण्डा उत्पादनसमेत बन्दभयो”, अवस्थीले भन्नुभयो, “अहिले दैनिक २० लाख अण्डा नष्ट हुँदैछ ।” सुदूरपश्चिममा दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको थियो ।

“अण्डाको बिक्री वितरणका लागि सहजीकरण पनि ग¥यौँ”, अवस्थीले भन्नुभयो, “अरू विविध कारणले स्थानीय उत्पादन बिक्री भएन ।” सरकारले कुखुरा पालक किसानका लागि लकडाउनमा दाना ओसारपसारमा सहजीकरण गर्ने भने पनि किसानले सहज रुपमा दाना नपाएको समेत गुनासो गरेका छन् । “यहाँ ८० प्रतिशत भारतबाट कच्चा पदार्थ आएर दाना उत्पादन हुन्थ्यो ।” उहाँले भन्नुभयो, “भारतबाट नआउँदा यहाँ अन्य ठाउँबाट ल्याउनेले महङ्गो र नगदमा मात्रै दाना दिने भनेपछि थप समस्या किसानमा प¥यो ।”

उत्पादन गरिएको अण्डा दुई साताभित्र खराब भइसक्छ । सुदूरपश्चिम प्रदेशमा वार्षिक तीन हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ । “यहाँ दैनिक १२० टन दाना उत्पादन हुन्थ्यो,” वरिष्ठ पशु विकास अधिकृत अवस्थीले भन्नुभयो, “५० टन जति दाना मुलुकको अन्यत्रबाट आउथ्यो ।” सुदूरपश्चिमका नौवटै जिल्लामा कुखुरा पालक किसान रहे पनि दाना उत्पादन भने कैलाली कञ्चनपुुरमा मात्रै हुने गरेको छ ।

सुदूरपश्चिममा प्रतिहप्ता ८० हजार चल्ला उत्पादन हुने गरेको थियो । “ह्याचरीले दुई हप्तामा रु एक करोड नोक्सानी व्यहोरिसकेका छन् ।” अवस्थीले भन्नुभयो, “धेरै ठाउँमा किसानले सस्तोमा बोइलर कुखुरा बिक्री गरिरहेका छन् ।” दुग्धतर्फ पनि सुदूरपश्चिमका किसानले दैनिक रु ८० लाख बराबरको नोक्सानी व्यहोर्नु परेको कृषि मन्त्रालयले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरमा दाना र चल्ला बिक्री गर्दै आउनुभएका व्यापारी अर्जुन नेपालले किसानको अवस्था निकै नाजुक रहेको बताउनुभयो । “यतिसम्मको विपत्ति कहिल्यै भोग्नु परेन”, उहाँले भन्नुभयो, “बर्डफ्लुमा समेत यस्तो समस्या व्यहोर्नु परेन ।”

कञ्चनपुर कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष विक्रम नाथले कुखुरापालक किसान लकडाउनका कारण सबैभन्दा बढी मारमा रहेको बताउनुभयो । “हामीले सामाजिक दूरी कायम गरेर मासु बिक्रीका लागि स्थानीय प्रशासनसित समन्वय गरेपनि सुनुवाई भएन ।” अध्यक्ष नाथले भन्नुभयो, “दाना नपाउँदा नै कुखुरालाई नष्ट गर्नुपर्ने अवस्था आयो ।”केही दिनअघि यहाँको स्थानीय प्रशासनले राति ८ बजेपछि दाना ढुवानीमा खुकुलो गर्ने निर्णय गरेको थियो । “खुकुलो भए पनि सबै किसानले दाना ल्याउन सक्ने अवस्था रहेन,” उहाँले भन्नुभयो, “ रातिको समय पसल बन्द हुँदा दाना ल्याउन समस्या भएको छ ।”

कोरोनाको कहरः पशुपालक कृषकमा असर


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को सङ्क्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको लकडाउनका कारण पशुपालक कृषक मारमा परेका छन् ।

लकडाउनका कारण जिल्लामा उत्पादन हुने दुग्धजन्य पदार्थ बिक्री भएको छैन भने पशुलाई खुवाउने दाना आयातमा समस्या भएको छ । पाल्पा जिल्लामा व्यवसायिक रुपमा पशुपालेका कृषकले दुहेको दुध पशुलाई नै खुवाउन बाध्य भएका छन् ।

रामपुर नगरपालिका— ८ मा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालक नरनारायण अर्यालले भैंसी दुहेर दुध भैंसीलाई नै खुवाउन बाध्य भएको गुनासो गर्नुभयो । करिव १० महिनाअघि व्यवसाय थाल्नुभएका अर्यालको रिसर्च सेन्टरमा अहिले ५९ वटा भैंसी छन् । यसअघि दैनिक २ सय ४० लिटरसम्म दुध बिक्री गरेका अर्यालले अहिले दाना अभावमा दैनिक एक सय ९० लिटर दुध उत्पादन भएपनि बिक्री गर्न समस्या रहेको बताउनुभयो । रु. एक करोड ४० लाख मूल्य बराबरको आम्दानी गरेर भैंसी पालेका अर्यालले सञ्चालन गरेको डेरी समेत दिनभरि खोल्न नपाउँदा दुध बिक्रीका लागि समस्या परेको बताउनुभयो ।

रामपुर नगरपालिका— ५ का जिवनाथ ढुङ्गानाको उन्नत गाई फर्ममा ठूलासाना गरी १० वटा गाई छन् । गाउँका अन्य कृषकबाट समेत दैनिक ५ सय लिटर दुध सङ्कलन गरेर आफ्नै डेरीबाट बिक्री गरेपनि अहिले रोकिएको उहाँको भनाइ छ । यसअघि नै दानाको जोहो गरिसकेकाले दानाभन्दा चोक्कर र बरानको अभाव भएको उहाँले बताउनुभयो ।

पाल्पाको तिनाउ गाउँपालिका डुम्रेमा रहेको सहकारीमा आवद्ध कृषकलाई पनि दाना अभावका कारण समस्या भएको छ । डुम्रे दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका व्यवस्थापक तथा गाईपालक कृषक गोपाल जिसीले दाना अभाव भएर दुध उत्पादन घटेको तर बिक्रीका लागि भने समस्या नभएको बताउनुभयो । २६ वटा गाई पाल्नुभएका कृषक जिसीले सहकारीमार्फत जम्मा भएका दुध पोखरा पुर्याउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । सहकारीमा आवद्ध ५०० सदस्यमध्ये धेरै पशुपालनमा आवद्ध छन् । यसवाहेक निजी ढङ्गले पशुपाल्नेलाई दाना पाउनै गाह्रो छ । २०६८ सालमा फर्म दर्ता गरेर सञ्चालनमा ल्याएको सहकारीले जिल्ला तथा जिल्ला बाहिरसमेत दुध बिक्री गर्दै आएको छ ।

जिल्ला भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले जिल्लामा ३ सयको हाराहारीमा दुग्धजन्य पशुपालक कृषक रहेको बताउँदै यसअघि ८ हजार लिटर दुध उत्पादन हुने बताउनुभयो । उहाँका अनुसार अहिले केही सहकारीमार्फत पशुपालक कृषकले कास्कीको पोखरामा दुध पठाउने गरेका छन् । दैनिक रुपमा करिव २९ सय लिटरसम्म दुध पोखरा जाने गरेकोमा अहिले दाना र सुख्खा घाँसको अभावमा उत्पादन घटेको छ । “अहिले जिल्लामा जम्मा ६ हजार लिटरको हाराहारीमा दुध उत्पादन हुन्छ, उत्पादन भएको दुध बिक्रीका लागि बजार नखुलेपछि कृषक मारमा परेका छन्”, केन्द्रका प्रमुख डाक्टर रानाले भन्नुभयो ।

दाना नपाउँदा मर्न थाले कुखुरा
तुलसीपुरः दाङको तुुलसीपुरमा दाना नपाउँदा ब्रोइलर कुखुरा मर्न थालेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९)लाई दृष्टिगत गरि लकडाउन गरेपछि सप्लायर्सले दाना उपलब्ध नगराउँदा कुखुरा मर्न थालेको तुलसीपुरका किसान राजेन्द्र पोखरेलले बताउनुभयो ।

“चैत ११ गतेदेखि दाना ढुवानी हुन सकेको छैन् । त्यसले गर्दा कुखुराले दाना पाएका छैनन्”, उहाँले भन्नुभयो, “दाना नपाउँदा कुखुरा मर्न थालेका छन् ।” यस अघि चैत १७ गते तुलसीपुर उपमहानगरपालिका, सप्लायर्स र किसानबीच भएको बैठकले किसानलाई सप्लायर्सले दाना आपूर्ति गर्ने भन्ने सम्झौता भएपनि त्यो कार्यान्वयन नहुँदा किसान मारमा परेको उहाँको भनाइ छ । “दाना आपूर्ति नहुँदा केही दिन घरमा रहेको चामल, मकै कुटाएर खुवाउने गरियो, त्यो पनि सकियो”, उहाँले भन्नुभयो, “अहिले हामी पानी खुवाइरहेका छौं, त्यसले कति दिन टिक्नु, केही मरिसके, बाँकी रहेकालाई पनि स्थानीयवासीमा बाँड्न थालेका छौं ।”

सप्लायर्ससँग एकसय रुपैयाँ किलोका दरले कुखुरा लैजाने र सोही अनुसार दाना उपलब्ध गराउने सम्झौता भएको अर्का किसान बसन्त पौडेलले बताउनुभयो । “सप्लायर्सहरुले एकसय किलो माग गरेका थिए, सोही अनुसार सम्झौता गरियो” उहाँले भन्नुभयो, “ पछि एकसय रुपैयाँ किलोका दरले पनि लिन आएनन्, अहिले नगद भएपछि मात्रै दाना उपलब्ध गराउने, उधारो उपलब्ध नगराउने भन्दै आएका छन् ।” लकडाउनको समयमा व्यवसाय पनि नहुँदा नगद पैसा पनि दिन नसकिने अवस्था रहेको र सप्लायर्सले कुखुरा पनि नउठाउँदा किसानहरु मारमा परेको उहाँको भनाइ छ ।

ब्रोइलर कुखुरा ४० देखि ४५ दिनसम्म उठाइसक्नु पर्ने भएपनि अहिलेसम्म पनि नउठ्दा निःशुल्क वितरण गर्ने गरेको किसानको गुनासो छ । अहिले तुलसीपुर क्षेत्रमा करिब ३५ हजार तयारी कुखुरा रहेको किसान पोखरेलले बताउनुभयो । कुखुरापालक किसान अहिले पलायन हुने अवस्थामा रहेको समेत उहाँको भनाइ छ । अहिले सप्लायर्सहरु पनि बाँडिने गरेकाले समस्या भएको उहाँले बताउनुभयो । “तुलसीपुरमा ३०÷३५ वटा सप्लायर्स छन्, ती सप्लायर्सका पनि आ–आफना किसान छन्”, उहाँले भन्नुभयो, “ती सप्लायर्सले आफ्ना किसानहरुबाहेक अरुलाई उपलब्ध नगराउने कार्य पनि भएको छ ।”
सप्लायर्सले भने आफूहरुलाई उत्पादन कम्पनीले नै दाना उपलब्ध नगराएको गुनासो गरेका छन् । तुलसीपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष तारा पौडेलले भन्नुभयो, “हामीले लकडाउनको अवस्थामा नगद कारोबार गर्न सक्दैनौं, किसानबाट चल्ला लिएपनि बिक्री हुने अवस्था छैन्, तर दाना उत्पादन कम्पनीले नै हामीलाई दाना उपलब्ध नगराउने भएपछि किसानसम्म दाना पु¥याउन समस्या भएको छ ।” उहाँका अनुसार प्रशासनले दाना बोक्ने गाडीलाई पास दिएको भएपनि कुखुरा बोक्ने गाडीलाई पास नदिँदा पनि समस्या उत्पन्न भएको छ । दाना उत्पादक कम्पनीले आफूहरुले जिल्लामा जति पनि दाना उपलब्ध गराउन सक्ने बताउँदै आएको छ । दाङ पोल्टि फर्मका प्रबन्ध निर्देशक धनेश्वर वलीका अनुसार अहिले जिल्लामा आवश्यक पर्ने जति दाना उत्पादन छ । आफूले उधारो कारोबार नगर्ने भन्दै नगद आए जति पनि दाना उपलब्ध गराउन सक्ने उहाँको भनाइ छ ।
किसानको माग अनुसार उपमहानगरपालिका, किसान र सप्लायर्सबीच कुखुरा ढुवानीमा सहजता ल्याउने, विहान ६ देखि ८ र साँझ ४ देखि ६ बजेसम्म मासु पसल खुल्ला गर्ने सहमति भएको तुलसीपुर उपमहानगरपालिकाका आर्थिक समितिका संयोजक माधव वलीले बताउनुभयो ।

दाङमा बाली भित्र्याउने चटारो
लमही: यतिखेर किसानलाई बाली भित्र्याउने चटारो छ । मसुरो, गहुँ, जौ, तोरीलगायतका बाली भित्र्याउन किसानहरु खेतबारीमै व्यस्त हुने गरेका छन् । ‘‘लकडाउनमा घरमै बस्नुपर्ने हो, खेतबारीमा बाली पाकेको छ, बाली स्याहानुपर्ने बाध्यता छ’’, स्थानीयवासी मोहन वलीले भन्नुभयो ।
परिवारका सवै सदस्य मास्क लगाएर लकडाउनको पालना गर्दै खेतीवाली स्याहार्न व्यस्त भएको उहाँको भनाइ छ । “लकडाउनको समयमा समूहमा भन्दा पनि दूरी कायम राखेर खेतवारीमा काम गरिरहेको छौं”, उहाँले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिका— १० का किसान कमला चौधरीले अहिले मसुरो र तोरी बाली स्याहार्न व्यस्त हुनुहुन्छ । ‘‘खाली समय सदुपयोग पनि हुने र खेती स्याहार्नु पर्ने भएकाले मास्क लगाएर भएपनि काम गरेका छौं ।’’ चौधरीले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?