logo
२०८१ फाल्गुन ६ मंगलवार



कर्णालीमा कोभिड–१९ को परीक्षण तीव्र पारिँदै, थपियो पिसिआर

प्रदेश |


कर्णालीमा कोभिड–१९ को परीक्षण तीव्र पारिँदै, थपियो पिसिआर


सुर्खेत, वैशाख १३ गते । कर्णाली प्रदेशमा कोभिड –१९ को परीक्षण दायरा तीव्र पार्न रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी–पिसिआर) मेसिन थप गरिएको छ । प्रदेश सरकारको अनुरोधबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षण तीव्र पार्न त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिष्टसहित पिसिआर मेसिन पठाएको हो ।

मन्त्रालयले प्रयोगशालामा परीक्षण शुरु गर्न सहयोगका लागि विभागका प्रमुखसहित चार कर्मचारीलाई खटाएको छ । विभागका प्रमुख सहप्राध्यापक डा मेघराज बञ्जाराको नेतृत्वमा अर्का सहप्राध्यापक डा देवराज जोशी, अनिल शाह र विराज लोहनी सुर्खेत आइपुग्नुभएको छ । जर्मनीमा बनेको कोरोना भाइरस जाँच्ने ठूलो क्षमताको पिसिआर मेसिन पशु स्वास्थ्य प्रयोगशालामा जडान गरिँदैछ ।

हाल प्रदेश अस्पताल कालागाउँमा मात्रै पिसिआर मेसिन छ । यसको परीक्षण क्षमता कम हुनाका साथै ‘क्रस भेरिफिकेसन’ गर्न आवश्यक परेकाले स्वास्थ्य मन्त्रालयले त्रिविका विशेषज्ञसहित पठाएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले अब ‘क्रस भेरिफिकेसन’को काम प्रदेश अस्पताल सुर्खेतबाटै हुने बताउनुभयो । यसअघि सुर्खेतमा रहेको पिसिआर मेसिनबाट कोरोना भाइरस परीक्षण गरिए पनि अन्तिम टुङ्गो लगाउन (क्रस भेरिफिकेसन) भन्दै सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको स्वाब काठमाडौंँ पठाउनुपर्ने बाध्यता थियो ।

प्रदेश अस्पतालमा रहेको मेसिनले दैनिक १० देखि १४ वटा स्वाबको परीक्षण गर्न सक्छ । त्यही कारण कर्णालीमा सङ्कलित स्वाबका नमूना काठमाडौँ र धनगढी पठाउने गरिएको थियो । पिसिआर थपसँगै अब कोरोना आशङ्कितको स्वाब नमूना काठमाडौँ पठाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब संयोजक ओम आचार्यले जनशक्ति र अन्य सामानको उपलब्धताका आधारमा नयाँ मेसिनबाट करीब ४५ वटासम्म प्रोसेसिङ गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मेसिन आएपछि स्वाब सङ्कलन र परीक्षणलाई तीव्रता दिइनेछ, सङ्कलित स्वाबका नमूना बाहिर पठाउनुपर्ने अवस्था रहँदैन ।”
असई बेपत्ता
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको सभागृहमा सञ्चालित क्वारेन्टाइनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प गुल्मीमा कार्यरत प्रसनि भूपाल कार्की शुक्रबार साँझ बेपत्ता हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले काम सकेर मेहेलकुना खैरेनीस्थित भेरी नदीमा नुहाउने क्रममा उहाँ बेपत्ता भएको जानकारी दिनुभयो । उहाँको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । असई कार्की गुर्भाकोट–६ कै स्थायी बासिन्दा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?