logo
२०८१ माघ १८ शुक्रवार



म्याग्दीमा विकास आयोजनाका काम सञ्चालन हुन थाले

प्रदेश |


म्याग्दीमा विकास आयोजनाका काम सञ्चालन हुन थाले


म्याग्दी, वैशाख १९ गते । कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनका बीच यहाँका विकास आयोजना सञ्चालन हुन थालेका छन् । प्रदेश, सङ्घ सरकारका निकाय र स्थानीय तहद्वारा सञ्चालित पूर्वाधार निर्माणका आयोजना सामाजिक दूरी कायम र कामदारको सुरक्षा सतर्कता अपनाएर सञ्चालन भएका हुन् । विकास आयोजना सञ्चालन भएपछि मजदुरहरुलाई रोजगारी सिर्जना भएर राहत मिलेको छ ।

बाहिरका कामदार भित्रन नदिने तर भएका र स्थानीय कामदारलाई परिचालन गरेर विकास आयोजना सञ्चालन भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । लकडाउन जारी भएको करिब दुई हप्तासम्म पूर्णरूपमा रोकिएका आयोजनाहरु विस्तारै सञ्चालन भएका छन् । “घर जान नपाएका र स्थानीय मजदुरलाई परिचालन गरेर निर्माण सामग्री उपलब्ध आयोजनाका कामलाई निरन्तरता दिएका छन्”, उहाँले भन्नुभयो, “एक ठाउँका मजदुर अन्य ठाउँमा नलगीकन जहाँ छन्, त्यहीकै काममा लगाउन सहजीकरण गरेका हौँ ।”

सामाजिक दूरी कायम गर्न, स्यानिटाइजर, मास्कको व्यवस्था गरेर काम गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ । एक्साभेटर प्रयोग गरेर सडकको ट्र्याक (मार्ग खोल्ने), नाली बनाउने, सुधार गर्ने, मोटर चल्ने पुल ढलान, नदी नियन्त्रणका लागि पर्खाल लगाउने, सिँचाइ, खानेपानी, विद्युतीकरण, भवन निर्माणको कामलाई निरन्तरता दिइएको छ ।

दरवाङ र बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण योजना रोकिएको छैन । बर्खा शुरु हुनुभन्दाअघि नै नदी नियन्त्रण योजना नसकेमा बाढीले कटान गर्ने जोखिम भएकाले ती योजनालाई निरन्तरता दिइएको हो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले उपभोक्ता समितिमार्फत सञ्चालित योजना धमाधम सञ्चालन भएका बताउनुभयो । लकडाउनका कारण गाउँमा पर्याप्त जनशक्ति भएकाले विकास आयोजना कार्यान्वयनमा सहज भएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिका–१ आनन्दबगर नदी नियन्त्रण योजनाका सचिव सन्तोष बोगटीले बन्दाबन्दीकै बीच स्थानीय मजदुरहरुलाई परिचालन गरेर तटबन्ध गरिएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले रु पाँच लाख विनियोजन भएको उक्त योजनामार्फत ६३ थान ग्यावियन जाली पर्खाल लगाइएको छ ।

सो योजनाका मजदुर रामबहादुर दमाइले लकडाउनका कारण गाउँ बाहिर काम गर्न जान नपाएको अवस्थामा स्थानीय आयोजना चालू भएकाले राहत मिलेको बताउनुभयो । थोरै मजदुरले सुरक्षित तरिकाले काम गरिएको उहाँले बताउनुभयो ।

यहाँको ४० मेगावाट क्षमताको राहुघाट, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणलाई पनि निरन्तरता दिइएको छ । बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–रत्नेचौरलगायत सडक आयोजनाका मजदुर घर गएकाले ती आयोजनाको रोकिएका छन् ।

स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जिल्लामा नागरिकस्तरबाट स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । काठमाडौँमा बस्दै आएका म्याग्देलीहरुले अर्थ सङ्कलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत आज स्थानीय तह, अस्पताल र स्वास्थ्य संस्थामा कोरोना रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन् ।

रु तीन लाख ५० हजार मूल्य बराबरको व्यक्तिगत सुरक्षा सामग्री, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पञ्जा उपलब्ध गराइएको समन्वयकर्ता उमबहादुर पाइजाले बताउनुभयो । उहाँका अनुसार बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रशासन कार्यालय र जिल्लाका ४५ वटै वडाका स्वास्थ्य संस्थाका लागि ११० सेट स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

काठमाडाँैमा बस्नुहुने डा ज्योति शेरचन, प्रताप पुर्जा पुन, उमबहादुर पाइजा, राजु शेरपुजा, बमबहादुर चोचाङ्गीको संयोजनमा काठमाडौँमा रहेका म्याग्देलीबाट अर्थ सङ्कलन र सामग्री जुटाइएको थियो । कोरोनासँग जुध्नका लागि राज्यलाई सघाउन नागरिकस्तरबाट सहयोग गरिएको राजु शेरपुजाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले म्याग्दीमा कोरोना रोकथामका लागि स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न समुदाय, सङ्घसंस्था र नागरिकले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

उहाँले बेनी अस्पतालमा भेन्टिलेटरको स्थापना गर्नका लागि प्रवासी म्याग्देलीहरुले चासो देखाएको र प्रशासनको तर्फबाट सहजीकरण गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?