जुम्ला, वैशाख २२ गते । मुलुकभर फैलिँदो कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न डेढ महिनादेखि देश लकडाउनमा छ । सङ्घीय सरकारभन्दा एक दिनअगावै गत चैत १० गते नै जुम्लाका सरोकारवाला निकायको सक्रियतामा लकडाउन घोषणा गरिएको थियो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले स्वास्थ्यकर्मी अग्रपङ्तिमा छन् । उनीहरुलाई यस महामारीविरुद्धको विशाल अभियानमा उत्प्रेरित गर्न दैनिक भत्ताको व्यवस्थापन गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले यस महामारीविरुद्धको अभियानमा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न दैनिक रु एक हजारको भत्ताको व्यवस्थापन गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले कार्यपालिकाको निर्णय गरी दैनिक भत्ताको व्यवस्थापन गरेको हो ।”
त्यसैगरी नगरपालिकाले पालिकाको सिमानामा पर्ने कर्णाली राजमार्गअन्तर्गत गमगाडमा हेल्थ डेस्क स्थापना गरेको छ । अन्य गाउँपालिका र जिल्ला बाहिरबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक महतले बताउनुभयो ।
दमकलमार्फत पानी
नगरपालिकाले सदरमुकाम खलङ्गा आसपासका उपभोक्तालाई तिला नदीको पानी उपलब्ध गराएको छ । दमकलमार्फत पानी ल्याएर उपभोक्तालाई पानी उपलब्ध गराइएको हो । दुई हप्तादेखि बजारमा नियमितरुपमा धारामा पानी नआएपछि सरसफाइका लागि दमकलमार्फत तिला नदीको पानी ल्याएर उपभोक्तालाई उपलब्ध गराउनुपरेको नगरप्रमुख कान्तिका सेजुवाल बताउनुभयो ।
उहाँले भन्नुभयो, “नदीको पानी पिउनयोग्य छैन, तर सरसफाइ गर्न, तरकारी बारीमा सिँचाइ गर्न, शौचालयमा प्रयोग गर्न र कपडा धुन यो पानी प्रयोग हुनेछ ।” लकडाउन सँगसँगै जुम्लामा दुई हप्तादेखि पानीको अभाव भएको छ ।
खलङ्गा खानेपानी उपभोक्ता समितिले सञ्चालन गर्दै आएको खानेपानीको पाइप ठिन्के उर्थु्र सडक खन्ने क्रममा डोजरले पाइप काटेपछि पानी धारामा नआएको हो । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिव मीनबहादुर थापाका अनुसार विकास निर्माणका काम गर्दा खानेपानीका पाइपलाई ध्यान नदिँदा समस्या भएको हो ।