logo
२०८१ माघ १८ शुक्रवार



वन्यजन्तु मार्न पासो थाप्दै गरेका तीन जना शिकारी पक्राउ

प्रदेश |


वन्यजन्तु मार्न पासो थाप्दै गरेका तीन जना शिकारी पक्राउ


जनार्जन खत्री

सर्लाही, बैशाख २२ गते । सर्लाहीको वागमती नगरपालिका–१०, शङ्करपुरस्थित जङ्गलमा वन्यजन्तु मार्न पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन् ।


सेक्टर वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षक टोलीले बागमती नगरपालिका–४, का चन्द्रबहादुर ब्लोन, बागमती नगरपालिका–२, का सन्देश मोक्तान र सोही वडाका भीमबहादुर डिमडोङलाई पासो थाप्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पासो थाप्दै गरेका अन्य मानिस भने सशस्त्र वन रक्षक टोलीलाई देख्ने बित्तिकै फरार भएका छन् ।

घटनास्थलबाट शिकारीहरुले प्रयोग गरेको बा ७० प ३५७८ नं. को मोटरसाइकल र ठूलो परिमाणमा वन्यजन्तुलाई मार्न प्रयोग गरिने पासो बरामद गरिएको छ । पासो थाप्दै गर्दा पक्राउ परेका तीनै जनालाई सेक्टर वन कार्यालय मूर्तियामा ल्याएर थप अनुसन्धान भइरहेको सशस्त्र वन रक्षक समूहका जमदार अम्बरबहादुर पाख्रिनले जानकारी दिनुभयो ।

डढेलो लागेर वन क्षेत्र उदाङ्गो भएको मौकामा अहिले सर्लाहीको वन जङ्गलमा व्यापक मात्रामा वन्यजन्तुको शिकार गर्ने क्रम बढेको छ । जिल्लाको मूर्तिया, जानकीनगर, सागरनाथ, परवानीपुर, घारीबथान, गौरीशङ्कर लगायत क्षेत्रका जङ्गलमा वन्यजन्तुको शिकार गर्न शिकारीहरुको समूह बन्दुक लगायतका हतियार बोकेरै जङ्गल जाने गरेका छन् ।

कतिपय स्थानमा मानव वस्तीमै आउने बँदेल, हरिण जस्ता जंगली जनावर गाउँले मिलेरै मारेर खाने गरेका छन् । डिभिजन वन कार्यालय सर्लाहीले भने वन्यजन्तु तथा काठ दाउराको तस्करी रोक्न बन्दाबन्दीमा पनि नियमित कर्मचारी परिचालन गरी गस्ती गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?