राजन रावत
सिमकोट, वैशाख २५ गते । तीन जना नाबालक र एक जना गर्भवती महिला सहित ९२८ जना नागरिक जिल्लाका विभिन्न क्वारेन्टाईनमा बस्दै आएका छन् । नेपालगंज र सुर्खेतबाट हवाई तथा पैदल मार्गबाट उद्धार गरिएको कारण कोरोना संक्रमणको आशंकामा उहाँहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।
हुम्ला जिल्लामा यतिबेला क्वारेन्टाईनमा ९२८ रहदै आएको राष्ट्रिय अनुसन्धानका डिएसपी सन्जिब चौधरीले बताउनुभयो । जिल्ला बाहिरबाट उद्धार गरिएका नागरिकहरु गाउँपालिका र वडाहरुले क्वारेन्टाईन वार्ड स्थापना गरेर राख्ने ब्यबस्था गरेका हुन ।
हाल क्वारेन्टाईनमा रहेका नागरिकहरु वैशाख १८ देखि २१ गतेसम्म पैदल र हवाई मार्गबाट उद्धार गरिएका नागरिक हुन । उद्धार गरि नागरिकहरुमा सिमकोट गाउँपालिकाका १४ वटा क्वारेन्टाईनमा २५३ जना रहेका छन् । त्यसै नाम्खा गाउँपालिकामा ८९ जना र खार्पुनाथ गाउँपालिकामा १४७ जना रहेका छन् । त्यहाँ तीन जना नाबालक र एक जना गर्भवती महिला रहेको डिएसपी चौधरीले बताउनुभयो । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर १ को जैरमा ६२ जना क्वारेन्टाईनमा रहेका छन् ।
सो गाउँपालिकाको अन्य वडामा बाहिरबाट धेरै मानिस उद्धार गरिको भएपनि क्वारेन्टाईनमा राखिएको छैन । त्यसैगरि चंखेलीमा २५७ जना नागरिक क्वारेन्टाईनमा राखिएको छ । यता अदानचुली गाउँपालिकामा ११९ जना रहेका छन् भने ताँजाकोटमा एक जना मात्र रहेका छन् ।
उक्त गाउँपालिकामा ३२ जना नागरिकहरुको उद्धार गरि ल्याएको भएपनि अन्य क्वारेन्टाईनमा नबसेको र घरघरमा सेल्फ क्वारेन्टाईनमा बसेको जानकारी प्राप्त भएको छ । हुम्लामा हवाई मार्गबाट ४८० जना र पैदल मार्गबाट ७७४ जना गरि एक हजार दुई सय चौवन्न जना नागरिकको सुर्खेत र नेपालगंजबाट उद्धार गरिएको थियो । अझै तीन सय २६ नागरिक क्वारेन्टाईनमा नबसी घरघरमा बसेका छन् । यसैबिच सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को भिमसेन आधारभुत विद्यालयको क्वारेन्टाईनमा रहेका नागरिकहरु भुईमा ओछ्यान बिच्छ्याएर सुत्न थालेपछि सिमकोटस्थि मानसरोवर होटेलले १५ वटा बेड सहयोग गरेको छ । त्यस्तै अधिकाँस क्वारेन्टाईनहरु न्यूनतम मापदण्ड पनि पुरा नगरेको गुनासो आउन थालेको छ ।