logo
२०८१ फाल्गुन १२ सोमवार



आरडीटी पोजिटिभ देखिएका तीन जनाको पीसीआर नेगेटिभ

प्रदेश |


आरडीटी पोजिटिभ देखिएका तीन जनाको पीसीआर नेगेटिभ


राँझा, जेठ ३ गते । नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट प्रवेश गरेकाकाे काेराेनाकाे आरडीटी परीक्षणमा पोजेटिभ देखिएका तीन जनाको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको छ । शुक्रबार दिउँसो गरिएको आरडीटीमा पोजिटिभ देखिएका तीनै जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पतालको आरटीपीसीआर यन्त्रमा परीक्षण हुँदा गए राति रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज जमुनाह नाका भएर नेपाल आएका ४६६ जनाको आरडीटी गरिएको थियो । परीक्षणमा तीन जनाको पोजेटिभ देखिएपछि उनीहरूलाई नेपालगञ्जमै आइसोलेसनमा राखेर अन्य नेगेटिभ देखिएकालाई सम्बन्धित जिल्ला र गाउँपालिकाको समन्वयमा सम्बन्धित क्षेत्रमा पठाइएको छ । आरडीटी पोजेटिभ देखिएका सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीन जनालाई शुक्रबार नेपालगञ्ज खजुरारोडस्थित लायन्स डेन्टल अस्पतालमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा राखिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएकाले सम्बन्धित जिल्लामा समन्वय गरेर उनीहरूलाई पनि जिल्ला पठाइने श्रेष्ठले बताउनुभयो ।
सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीलाई बिहीबार राति नेपालगञ्ज ल्याइएको हो । नेपाल प्रवेश गरेका ६८७ नेपालीमध्ये बाँके र बर्दियाका २२१ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको आजदेखि आरडीटी गरिने भएको छ ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र परेका तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी बिहीबार राति नेपाल प्रवेश गराइएको हो । सीमा नाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएका थिए भने नेपालबाट करिब एक हजार चार सय भारतीयलाई भारत पठाइएको थियो ।
११ को पीसीआर नेगेटिभ
प्युठानमा ¥यापिड डाइगोनोष्टिक टेष्ट (आरडीटी) गर्दा एन्टीबडी पोजेटिभ देखिएका ११ जनाको स्वाब परीक्षण (पीसीआर) नेगेटिभ आएको छ । प्युठान नगरपालिकाका गुरीगाउँ, धगे र बुढादेवीको क्वारेन्टाइनमा रहेका आठ पुरुष र तीन महिलामा आरडीटी पोजेटिभ देखिएपछि उनीहरूसहितको स्वाब सङ्कलन गरिएको थियो । क्वारेन्टाइनमा रहेका २८ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुुभयो । बिहीबार १७ जना र शुक्रबार ११ जनाको नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।
जिल्लामा हालसम्म ९९ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिएकामा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आठ जनाको आउन बाँकी छ । आठ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधबार स्वाब पठाइएको छ । त्यसैगरी आरडिटी रिपोर्ट पोजिटिभ देखिएका १३ जना सबैको पिसिआर रिपार्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?