logo
२०८१ फाल्गुन १२ सोमवार



बन्दाबन्दीको समयमा ‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नति गरिने

प्रदेश |


बन्दाबन्दीको समयमा ‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नति गरिने


खोटाङ, जेठ ५ गते । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीय बासिन्दाले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिको तयारी थालिएको छ ।

स्थानीय बासिन्दाको श्रम तथा चन्दा सङ्कलनबाट अढाई वर्ष लगाएर निर्माण गरिएको दुर्छिमस्थित छापडाँडाको दलस्वर चोकदेखि सुनकोशीको बतासेघाट जोड्ने १३।२७ किलोमिटर सडकका लागि प्रदेश नं १ सरकारले बजेट विनियोजन गरेपछि बन्दाबन्दीकै समयमा सडक स्तरोन्नतिको तयारी गरिएको हो । पूर्वी तराईबाट उदयपुरको लिम्चुङबुङ गाउँपालिका हुँदै त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने सबैभन्दा छोटो पर्यटन मार्गका रूपमा उपयोग गर्न सकिने ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नति गर्न आर्थिक वर्ष २०७६/०७७ मा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रु २५ लाख बजेट प्राप्त भएको छ । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ विसं २०७२ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको सो सडक स्तरोन्नति गर्न स्थानीय कमल चाम्लिङको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

उपभोक्ता समितिको उपाध्यक्षमा धनहरि राई, सचिवमा भोजराज राई, सहसचिव दविन राई, कोषाध्यक्षमा अञ्जना राई तथा सदस्यमा बलबहादुर राई, विशाल राई, मैना राई र तिम्सिना राई चुनिएका छन् । यस्तै, बाबुराम राईको संयोजकत्वमा केवलनारायण राई र लगनकुमारी राई सदस्य रहेको अनुगमन समिति बनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी जारी रहेकाले सडक स्तरोन्नतिका लागि नगरपालिकासँग अनुमति मागिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष चाम्लिङले बताउनुभयो । “बन्दाबन्दीको अवसर पारेर अधिकांश युवा गाउँ फर्किएका छन्”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिको काम पनि यही मौकामा गर्नुपर्ने भएकाले तिनै युवालाई सहभागी गराएर गर्ने योजना बनाएका छौँ ।”

‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित खोटाङ तथा खोटाङ बाहिरका ३७८ दाताको आर्थिक सहयोगमा विसं २०६९ चैत ५ गते दुर्छिमको दलश्वरचोकदेखि शुरु गरिएको सुनकोशी किनारको बतासेघाट जोड्ने सडक विसं २०७२ जेठ ९ गते उद्घाटन गरिएको थियो । स्थानीय बासिन्दाको सक्रियतामा गाउँमा सडक पुगेर यातायातसमेत नियमितरूपमा सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तु ढुवानी तथा आवतजावतमा सहज भएको छ ।

करिब ४०० वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढी आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणका लागि समाजसेवी जनकराज राईले मात्रै रु २२ लाख ५४ हजार २३७ आर्थिक सहयोग गर्नुभएको थियो ।

सडक निर्माणका लागि तत्कालीन दुर्छिम गाविसबाट रु दुई लाखको हाराहारीमा मात्र बजेट प्राप्त भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । स्थानीय कृषिउपज ढुवानी तथा आवतजावतमा प्रयोग हुने उक्त सडक निर्माणका लागि आवश्यक बाँकी रकम दाताबाट गच्छेअनुसार जुटाइएको हो । जिल्लामै सबैभन्दा बढी गिट्टी र बालुवा पाइने सुनकोशीबाट निर्माणजन्य सामग्री निकासीका लागि पनि उक्त सडक उपयोगी बनेको छ । स्थानीय बासिन्दाको सक्रियतामा सडक सञ्चालनमा आएपछि पूर्वी तराईका विभिन्न जिल्लाबाट हलेसी आउने दर्शनार्थी सोही सडकमार्फत आउने गरेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?