धनुषा, जेठ ५ गते । धनुषामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब सङ्कलन गरिएको छ । नेपाल पत्रकार महासंघ, धनुषाका अध्यक्ष अनिल मिश्रले गत बिहीबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र कोरोना सङ्क्रमण भेटिएका पत्रकार र पसल व्यवसायीको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरिएको बताउनुभयो ।
विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका अवस्थामा अग्रपंक्तिमा रही काम गर्ने क्रममा पत्रकारमा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा ३० जनाको स्वाब परीक्षण गरिएको जनाइएको छ । पत्रकार महासंघ, धनुषाको आयोजना तथा नेपाली सेना महेन्द्रनगर रणभीम गणको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेकाहरूको स्वाब परीक्षण गरेको हो।
सङ्क्रमितको सम्पर्कमा आएका र घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकार महासंघको सम्पर्कमा आएकाको थ्रोट र नोजल स्वाब सङ्कलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिनुभयो । महासंघले कोरोना महामारीका समयमा सङ्क्रमणको जोखिम उठाएर जनतालाई सुसूचित गराउन जुटेका बेला पत्रकारमा सङ्क्रमण देखिएपछि दोहो¥याएर परीक्षण गराउनुपरेको जनस्वास्थ्यका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिनुभयो ।