हरि बाँस्तोला
पोखरा, जेठ ७ गते । फेवाताल बचाउन जनताका नजिकका सरकारले फेवा जलाधार क्षेत्रमा सञ्चालन गरेका चेकड्याम र सिल्टपोखरी निर्माण कार्यले तीव्रता पाएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलिन नदिन घोषित बन्दाबन्दीमा पनि सामाजिक मूल्य र मान्यताका आधारमा निर्माण कार्यलाई निरन्तरता दिइएको हो ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा फेवातालको जलाधार क्षेत्रअन्तर्गत पहिलो चरणमा कूल २८ करोड ९६ लाख रुपियाँको लागतमा विभिन्न चारवटा खोलामा चेकड्याम तथा सिल्टपोखरी निर्माण अन्तिम चरणमा पुगेको छ । प्रत्येक वर्ष हर्पन खोला र अन्य सहायक खोलाले बगाएर फेवातालमा ल्याउने लगभग एक लाख ५० हजारभन्दा बढी मेट्रिक टन हिलो र लेदो तालमा आउने गरेको विभिन्न सङ्घसंस्थाले गरेको अनुसन्धानमा उल्लेख गरिएको छ ।
वर्षायाममा फेवा जलाधार क्षेत्रबाट आउने हिलो, लेदो, ढुङ्गा, माटोलगायत खोलाजन्य पदार्थको रोकथाम गर्ने उद्देश्यका साथ फेवातालको शिरस्थित बेतयानीखोला, लौरुकखोला, अधेरीखोला र हर्पन, घाँटीछिनामा चेकड्याम र सिल्टपोखरी निर्माण थालिएको हो ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा २०७६ सालमा सञ्चालन गरिएका चारवटै चेकड्याम र सिल्टपोखरीको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको महानगरपालिकाका इन्जिनीयर राजु रेग्मीले जानकारी दिनुभयो ।
“दैनिक स्थानीय १५० जना मजदुरले निरन्तर काम गर्दै आएको छन्”, उहाँले भन्नुभयो, “चारवटै चेकड्याम र सिल्टपोखरीको सम्पूर्ण निर्माण कार्य तोकिएको भन्दा ६ महिनाअघि असार मसान्तसम्म सम्पन्न गर्ने विश्वासका साथ काम भइरहेको छ ।”
उक्त भौतिक संरचना निर्माणका लागि दुवै सरकारले बराबर लगानी गर्ने सम्झौतामा उल्लेख छ । बेतयानी खोलामा चार मिटर उचाइको चेकड्यामसँगै ५० मिटर लम्बाइ ५० मिटर चौढाइको सिल्टपोखरी निर्माणकार्य सम्पन्न भइसकेको छ भने पोखरीसहित खोलाको दायाबायाँ ग्याविन जाली भर्ने माटो फिलिङ गर्ने काम भइरहेको छ ।
सो चेकड्याम र पोखरी कूल पाँच करोड ४६ लाख ५८ हजार ९७५ रुपियाँको लागतमा निर्माण भइरहेको छ । पोखरा २४ कै लौरुक खोलामा पाँच करोड ७४ लाख ८४ हजार ९९८ रुपियाँमा पोखरा २३ र २४ को बीचमा पर्ने अधेरी खोलामा चार मिटर उचाइको चेकड्यामसँगै १०० मिटर लम्बाइ, १०० मिटर चौडाइको सिल्टपोखरी निर्माण भइरहेको छ ।
फेवाताल संरक्षणका लागि पोखरा २३ स्थित हर्पन खोला घाँटीछिनामा सात करोड ८८ लाख ६२ हजार ५४१ रुपियाँको लागतमा चार मिटर उचाइको चेकड्याम १००/१०० मिटर लम्बाइ र चौडाइबराबरको सिल्टपोखरी निर्माण सम्पन्न भइसकेको छ । वर्षायाममा खोलाले बगाएर ल्याएको ढुङ्गा, माटो, पाँगो, सिल्टलगायत पोखरामा जम्मा भएको वस्तु निकाली बिक्री गरेर १५ देखि २० करोड रुपियाँ आम्दानी गर्ने महानगरको लक्ष्य छ । सो आम्दानीबाट बाँध तथा पोखरीको मर्मत सम्भार र स्थानीय विकास निर्माणलाई प्राथमिकता दिने महानगरले जनाएको छ ।
प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै आएको फेवातालको संरक्षणका लागि जलाधार क्षेत्रमा हुने भूक्षयसँगै खहरे खोलाबाट आउने फोहर, माटो, लेदोजस्ता वस्तुलाई तालमा आउन नदिनका लागि आवश्यक सम्पूर्ण तयारी गर्न सके तालको आयु बढ्ने विश्वास छ ।