कपिलवस्तु, जेठ ८ गते । जिल्लाका ३९७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो ।
सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका एक सय, कृष्णनगर नगरपालिकाका १०५, मायादेवी गाउँपालिकाका ६७ र शुद्धोधन गाउँपालिकाका चार जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वाथ्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । बुधबार साँझ कपिलवस्तुको भैरहवा, शिवराजको काठमाडौँ, कृष्णनगरको भैरहवा, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परीक्षणका लागि स्वाब पठाइएको बताइएको छ ।
यस्तै बुधबार मायादेवीका १०८, महाराजगञ्जका ८० र शुद्धोदनका ५० जनाको आरडिटी गरिएको छ । हालसम्म जिल्लामा एक हजार ७३९ जनाको स्वाब सङ्कलन भएको छ । यसैबीच जिल्लाका २६ पत्रकारको स्वाब सङ्कलन गरिएको मध्ये १७ जनाको नतिजा नेगेटिभ आएको छ । जोखिममा रहेका पत्रकारमा कोरोना त्रास बढेसँगै विभिन्न स्थानवाट स्वाब सङ्कलन गरिएको नेपाल पत्रकार महासंघ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो ।