कास्की, जेठ १२ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता, कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ ।
मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल–फित्र (इद)का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वेदश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलगायत सबैमा सु–स्वास्थ्य, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।
इद पर्वले पनि विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत मुख्यमन्त्रीले गर्नुभएको छ । “मानव जातिकै अस्तित्वका लागि चुनौती बनेर आएको कोभिड–१९ विरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस विश्व सङ्कटको बेलामा अझ दृढतापूवर्क जुट्न आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु”, मुख्यमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ ।