डोटी, जेठ ३१ गते । जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेका छन् ।
नौ स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म जोरायल गाउँपालिकाबाहेक कुनै पनि स्थानीय तहले कानूनी सल्लाहकार राख्न सकेका छैनन् । यतिमात्र नभई यहाँका आठ स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले इजलाससमेत बनाउन सकेका छैनन् । नगर तथा गाउँपालिकाका न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजुरी दिने गरे पनि बहसका लागि इजलास बन्न नसक्दा उनीहरु मारमा परेको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका स्थानीय तथा नेकपका नेता तेजबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायिक समितिमा न्याय माग्न उजुरी पर्छ तर इजलास नहुँदा खुलाचौरमा बसेर मुद्दा फैसला गर्नुपर्ने अवस्था आएको छ, अहिलेसम्म न कानूनी सल्लाहकार छ, न इजलास छ ।”
न्यायिक समितिमा पीडित भएकाहरुको दैनिक उजुरी आउने भए पनि यहाँका स्थानीय तहले आ–आफ्नै कानूनी सल्लाहकार नराख्दा न्याय सम्पादनमा सकस हुने गरेको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । “न्यायिक समितिमा उजुरी परेपछि उनीहरुसँग कानूनी सल्लाहकार नहुँदा कतिपय मुद्दाको टुङ्गो लगाउन मुस्किल पर्ने गरेको देखिएको छ”, उहाँले भन्नुभयो, “कानूनी सल्लाहकार नभएका कारण कतिपय मुद्दा सहमतिमै मिलाउने र आलटाल गर्ने गरेका छन् ।”
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले न्यायिक समितिका संयोजक र सदस्यलाई न्याय सम्पादनका बारेमा तालिम र प्रशिक्षण नदिँदा न्याय सम्पादन गर्नमा झन् समस्या हुँदै आएको जोरायल गाउँपालिकाका न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायिक समितिका पदाधिकारीलाई न्याय सम्पादनका विषयमा खासै गहकिलो तालिमै दिइएको छैन, न्याय दिनेबारे तालिम नै नपाएका मान्छेले कसरी न्याय सम्पादन गर्न सक्छन् ।”
न्यायिक समितिमा आएका उजुरी सम्पादन गर्नेबारेमा अनभिज्ञ हुँदा सास्ती हुने गरेको यहाँका स्थानीय तहमा रहेका न्यायिक समितिका संयोजकहरुको भनाइ छ । जिल्लाका नौवटै स्थानीय तहमा न्यायिक समिति बनेको भए पनि न्यायिक समिति संयोजकलाई न्याय सम्पादनका विषयमा तालिम नदिइनु र कानूनी सल्लाहकार नराखिनुले समस्या उत्पन्न हुँदै आएको कतिपयको बुझाइ छ ।
कतिपय न्यायिक समितिका संयोजक र सदस्यले आफ्नो काम, कर्तव्य र जिम्मेवारीबारे जानकारी नै नभएको बताउँदै आएका छन् । नगरपालिका र गाउँपालिकाले कानूनी सल्लाहकार कार्यविधि बनाएर सल्लाहकार नियुक्त नगरेका कारण न्याय सम्पादन गर्न असहज हुँदै आएको कानून व्यवसायी शङ्करदीप मडैले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले प्रेस सल्लाहकार राख्नुहुने कानूनी सल्लाहकार राख्नमा बाधा के ? पीडितलाई उचित न्याय दिनु छ भने कानूनी सल्लाहकार राख्न जरुरी छ ।”
न्यायिक समितिलाई न्याय सम्पादनमा सहयोग पु¥याउने गरी कानूनी सल्लाहकार राख्नुपर्ने भए पनि हालसम्म सो व्यवस्था हुन नसकेका कारण समस्या हुँदै आएको सयल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “न्याय सम्पादन गर्न कानूनी सल्लाहकार नभएका कारण समस्या हुँदै आएको छ, अब हामी गाउँपालिका कानूनी सल्लाहकार कार्यविधि बनाएर सल्लाहकार नियुक्त गर्ने तयारीमा छौँ ।”
जोरायलमा रहेको न्यायिक समितिमा कानूनी सल्लाहकार नियुक्त गरेका कारण न्याय सम्पादनमा सहज भएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त गएको वर्ष नै न्यायिक समितिमा कानूनी सल्लाहकार नियुक्त गरेका छौँ, अहिले न्याय सम्पादनमा सहज भएको छ ।” सो न्यायिक समितिले एक वर्षमा घरायसी झगडा, अंशबण्डा, खेतको साँध सीमा सम्बन्धका १३५ मुद्दाको फैसला गरेको बताइएको छ भने सम्बन्ध बिच्छेदका न्यायिक समितिमा मिल्न नसकेका केही मुद्दा जिल्ला अदालत डोटी पठाएको छ ।
नगरप्रमुखको स्वास्थ्यमा सुधार हुँदै
जिल्लाको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएको छ ।
शुक्रबार एकाएक श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई नेपाली सेनाको (स्काइ ट्रक) जहाजबाट थप उपचारका लागि काठमाडाँै लगिएको थियो । बिहीबार राति उहाँलाई श्वास फेर्न कठिन भएपछि शुक्रबार काठमाडौँबाट सेनाको जहाज मगाएर उहाँलाई काठमाडौँ लगिएको थियो । उहाँको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालको ७०७ नं श्ययामा उपचार भइरहेको छ । उहाँलाई उक्त अस्पतालका ग्याष्ट्रो मेडिसियन डा प्रेम रत्नले उपचार गरिरहेको नगरप्रमुख मलासीसँगै रहनुभएका उहाँका छोरीज्वाइँ तथा पत्रकार भरत बोहराले जानकारी दिनुभयो ।
नगर प्रमुख मलासीको शरीरमा ग्याष्ट्रिक अत्यधिक मात्रामा बढेका कारण श्वासप्रश्वासमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएको बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “खानपानको समय नमिलेको तथा कामको तनाब बढी भएका कारण श्वासप्रश्वासमा समस्या देखिएको भनी डाक्टरले भनेका छन्, उपचार हुँदैछ, स्वास्थ्यमा केही सुधार देखिँदैछ ।”
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा मलासी एकमात्र महिला नगर प्रमुख हुनुहुन्छ । क्वारेन्टिन व्यवस्थापनमा बढी सक्रिएता भएको र खानपानमा समय नमिलेका कारण नगर प्रमुख मलासीको श्वासप्रश्वासमा समस्या देखिएको जानकारी पाएको डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “मलासी विभिन्न रोगले पीडित हुनुहुन्थ्यो, योपटक अलि बढी खट्नुभएका कारण तनाव र खानपिनको समय नमिलेका कारण समस्या देखिएको हुन सक्छ, अहिले केही सुधार हुँदैछ ।”
प्रेसर तथा मिर्गौलाको समेत समस्यासँगै जुध्दै आउनुभएका नगर प्रमुख मलासीले केही वर्ष पहिले भारतमा समेत उपचार गराउनुभएको घरपरिवारले जनाएको छ । भारतबाट रोजगारी गरी घर फर्केका स्थानीयवासीका लागि क्वारेन्टिन व्यवस्थापनमा खट्दै आउनुभएकी नगरप्रमुख मलासीमा एक हप्ताअघिदेखि श्वासप्रश्वासमा समस्या आएको उहाँका श्रीमान् कृष्ण मलासीले जानकारी दिनुभयो । केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि कैलालीको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार गरी डाक्टरको सल्लाहअनुसार घरमा आराम गरिरहनुभएका नगर प्रमुख मलासीलाई बिहीबार राति एकाएक श्वासप्रश्वासमा समस्या आएपछि काठमाडौँ लगिएको थियो । नगरप्रमुख मलासीले लामो समयदेखि प्रेसरको औषधि सेवन गर्दै आउनुभएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
तत्कालीन नेकपा (एमाले) पार्टीबाट उहाँ दिपायल सिलगढी नगरपालिकामा नगर प्रमुखमा विजयी हुनुभएको थियो । नागरिकको सेवामा सधैँ तल्लिन रहने तथा खटिने भन्दै नगर प्रमुख मलासीको जिल्लामा सबैले स्वास्थ्यलाभको कामनासमेत गर्न थालेका छन् । यहाँका स्थानीयवासीले सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँलाई स्वास्थ्यलाभको कामना दिन थालेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार नगर प्रमुख मलासीलाई अझै एकहप्तासम्म अस्पतालमै राखेर उपचार गरिने तथा उहाँको स्वास्थ्यमा भएका अन्य समस्याबारे पनि जाँच गरिने जानकारी पाइएको उहाँका स्वकीय सचिव रवीन्द्र जोशीले बताउनुभयो ।