उदयपुर, असार ३ गते । केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध भएका छन् । एक सातादेखि निरन्तर वर्षा भएपछि अहिले जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने सडकमा पहिरो खस्दा उक्त स्थानका सडक अवरुद्ध बनेकाे हो ।
मुर्कुची, माझखर्क हुँदै लिम्चुङबुङको बासबाटे, सातदोबाटे, बराह, ताम्लीछा तथा जाँते र बलाम्ता गाउँहरु जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएकाे लिम्चुङबुङ गाउँपालिकाले बताएको छ ।
यस क्षेत्र जोड्ने सडकहरूको थुप्रै स्थानमा पहिरो खसेको तथा रुखहरू ढलेर चार दिनदेखि यस क्षेत्रको सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा निकै समस्या आएको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताउनुभयो । उपाध्यक्ष राईका अनुसार मुकुर्ची बजार हुँदै पुवारे भएर डिल्लीबर, माझखर्कसम्मका क्षेत्रमा धेरै स्थानमा पहिरो खसेको र रुख ढलेर अहिले जिल्लाका उत्तरी पहाडी क्षेत्र जोड्ने सडक अवरुद्ध बनेपछि यस क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामी विभिन्न स्थानमा उपचारका लागि लैजान समस्या भएको छ ।