logo
२०८१ फाल्गुन २० मंगलवार



बस्ती–बस्तीमा मेयर, स्वरोजगार हुन चाहनेलाई बिना धितो ऋण

प्रदेश |


बस्ती–बस्तीमा मेयर, स्वरोजगार हुन चाहनेलाई बिना धितो ऋण


बागलुङ, असार ९ गते । बागलुङ नगरपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइसरका कारण गुमेको रोजगारी सिर्जना गर्नेदेखि मर्कामा परेका व्यावसायीको कर छुट गर्ने सम्मका योजना ल्याएको छ । नगरसभामा नगरप्रमुख जनकराज पौडेलले बस्ती–बस्तीमा मेयर कार्यक्रमदेखि स्वरोजगार हुन चाहनेलाई बिना धितो ऋणसम्मका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८मा कोरोना भाइरसको नियन्त्रणका लागि विशेष भूमिका निर्वाह गर्ने, रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने योजना अगाडि सारेको छ । कोभिड-१९ ले समस्यामा परेका व्यावसायीले नगरपालिकालाई चालु आर्थिक वर्षमा तिर्नुपर्ने व्यावसायिक करमा २५ प्रतिशत छुट दिइनेछ । यस्तै विपन्न परिवार पहिचान गरी उनीहरूलाई रोजगारी सिर्जना गरी आयस्तर वृद्धिका कार्यक्रम सञ्चालन गरिने, जोखिमपूर्ण काम गर्ने मजदुरका लागि जोखिम राहत कोषको व्यवस्था गरिने नगरपालिकाको कार्यक्रममा उल्लेख छ ।

नसर्ने रोगविरुद्ध जागरण तथा हरेक वार्डमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्ने, अति विपन्न, सीमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रमलाई निरन्तरता दिने, बागलुङका सबै भाषा, धर्म, संस्कृतिलाई संंरक्षण तथा प्रवद्र्धनका लागि विशेष कार्यक्रम लागू गर्न नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले भूमि बैङ्क स्थापना गरी विपन्न एवम् रोजगार गुमेकालाई उत्पादन क्षेत्रमा लगाउने, बाँझो जग्गा राख्नेलाई थप कर लगाउने, नगरपालिकाको आर्थिक लगानीमा कृषि, तरकारी सङ्कलन तथा बिक्री केन्द्र (हाट बजार) व्यवस्थित रुपमा सञ्चालनलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख गरेको छ ।

शैक्षिक प्रशासनलाई सुदृढ गर्न नगर शिक्षा नियमावली जारी गरी शैक्षिक सुधार र गुणस्तर सुधार गर्ने, शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम लागू गर्ने, कोभिड १९–को प्रभावका कारण नियमित विद्यालय सञ्चालन हुन नसकेकाले रेडियो, टेलिभिजन तथा अनलाइनको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाले अगाडि बढाएको छ ।

कोरोना भाइरस रोकथाममा अधिकतम प्रयास गर्ने, कृषि पेसामा आबद्ध किसानको पहिचान गरी किसानलाई किसान परिचयपत्र वितरण गर्ने, पर्यटकीयस्थलको रुपमा विकास भएका गन्तव्यको विकास र प्रचारप्रसारमा आवश्यक पहल गर्ने, नगरपालिका कार्यलयबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तथा सम्पूर्ण निर्माणका कामलाई तीव्रता दिइने नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । सहकारी शिक्षालाई प्रवर्द्धन गर्ने र एक सहकारी एक उत्पादनको नीतिलाई अगाडि बढाउने बताइएको छ । नगरपालिकाले आगामी वर्ष कोरोनालाई मुख्य प्राथमिकतामा राखी करिब ९५ करोड रुपियाँको बजेट ल्याउन लागेको नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?