वालिङ, असार ११ गते । वालिङ नगरपालिकाको आठौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ९२ लाख ५४ हजार ८२२ बजेट सार्वजनिक गरेको छ । वालिङ नगरपालिकाका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले आठौँ नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाको आन्तरिक आय (विभिन्न शीर्षक) तर्फ रु पाँच करोड ३३ लाख, स्रोत उपयोगबाट प्राप्त बाँडफाँट (राजस्व बाँडफाँट) सङ्घीय सरकारबाट १० करोड २२ लाख ६७ हजार ८२२, वित्तीय समानीकरण अनुदान रु १५ करोड ४७ लाख, सशर्त अनुदान ३८ करोड ६९ लाख र सङ्घीय सरकार समपूरक अनुदान दुई करोड प्राप्त हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै सङ्घीय सरकार विशेष अनुदान एक करोड, सडक बोर्ड नेपालबाट ४७ लाख र गतवर्षको मौज्दात अल्या चार करोड ६० लाख गरी ७७ करोड ७८ लाख ६७ हजार ८२२ तथा प्रदेश सरकार राजस्व बाँडफाँटबाट ८७ लाख १९ हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट रु एक करोड २६ लाख ६८ हजार र प्रदेश सरकार समपूरक अनुदानबाट रु एक करोड गरी कूल ८० करोड ९२ लाख ५४ हजार ८२२ अनुमानित बजेट उपप्रमुख कल्पना तिवारीले विनियोजित बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु ८० करोड ९२ लाख ५४ हजार ८२२ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये शिक्षा, स्वास्थ्य, कृषि, पशुसमेतको चालुतर्फ रु ३८ करोड ९६ लाख ८४ हजार ८२२ र पूँजीगततर्फ रु ४१ करोड ९५ लाख ७० हजार खर्चको अनुमानित बजेट आठौँ नगरसभामा उपप्रमुख तिवारीले सार्वजनिक गर्नुभएको हो । कूल बजेटमा चालुतर्फ ४८.१५ प्रतिशत र पूँजीगततर्फ ५१.८५ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण उपचारको प्रभावकारी व्यवस्थापन गर्ने सबैको जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीव्र बनाउने उल्लेख गरिएको छ । त्यस्तै आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न सङ्घीय सरकार प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहहरुसँगको सम्बन्ध बलियो बनाउने भनिएको छ ।
यसअघि नगरसभामा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि दफावार छलफल गरिएको थियो । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । नगरप्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताउनुभयो ।
बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न सङ्घीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल सङ्घ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगरप्रमुख खाँणले बताउनुभयो ।