म्याग्दी, असार १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशनको प्रवेशद्वारमा स्थानीयवासीले लगाएको ताला चार दिनपछि खुलेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको छलफलमा स्थानीयवासीले उठाएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित केही माग पूरा गर्ने विषयमा आयोजना र दानावासीबीच सहमति भएको थियो । सहमतिपछि आइतबार साँझनै स्थानीयवासीले ताला खोलेर सबस्टेशन निर्माणमा भएको अवरोध हटाएका छन् । दानामा सामाजिक उत्तरदायित्वअन्तर्गतका काम गर्न बेवास्ता र बजेट विनियोजनमा विभेद गरेको भन्दै गत बुधबार स्थानीयवासीले तालाबन्दी गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, आयोजना प्रमुख चन्दनकुमार घोष, मालपोत अधिकृत कृष्ण कार्की, वडाध्यक्ष नरसिंह पुर्जालगायतको उपस्थितिमा छलफल भएको थियो । ज्ञानप्रकाश मावि जोड्ने सडकको स्तरोन्नति, आमा समूहको भवन र युवा क्लबको खेलमैदान निर्माणका लागि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सघाउने सहमति भएको छ । यसअघि दानाका लागि रु १२ लाख विनियोजन भएकामा तत्कालै थप रु १० लाख र केही समयपछि अर्को रु १० लाख सहयोग गर्न आयोजनाले सहमति जनाएको छ ।
आयोजनाले प्रसारण लाइनको टावर बनाउने क्रममा दानाकै फगाममा निर्माण गरेको पाँच किलोमिटर सडक मर्मत गर्ने, दानामा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउनेलगायतका सहमतिमा स्थानीयवासी र आयोजनाले सहमति गरेका छन् ।
दुई पक्षको छलफलपश्चात् सामाजिक उत्तरदायित्वका कामलाई तीव्रता दिने र आयोजनाको काममा अवरोध नगर्ने सहमति भएको प्रजिअ ढकालले बताउनुभयो । तालाबन्दी गरेर मजदुरलाई छिर्न नदिइएपछि सबस्टेशनमा उपकरण जडान र अन्य निर्माणको काम रोकिएको थियो ।
जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाहरू सुरत केसीको नेतृत्वमा सात सदस्यीय सङ्घर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए । एशियाली विकास बैंकको सहयोगमा दाना र पर्वतको खुर्कोटमा सबस्टेशनका साथै ३९ दशमलव छ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
असार महिनाभित्र २२० केभी क्षमताको सबस्टेशन चार्ज गर्ने आयोजनाको तयारी छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन बनाउन लागिएको हो ।
प्रसारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना करिब दुई वर्ष ढिला गरी सकिन लागेको हो । पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित बनेको थियो ।
पोखरेबगर क्षेत्रमा करिब दुई वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको काम स्थानीय प्रशासनको सहजीकरणमा गत पुसदेखि पुनः शुरु भएको थियो । आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत् आयोजनाको पाँच मेगावाट विद्युत् खेर गएको छ ।
तेह्र मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । बयालीस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रसारण लाइन र सबस्टेशनसँगै उत्पादन शुरु गर्ने तयारी गरेको छ ।