कञ्चनपुर, असार १९ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावि पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पु-याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणको कार्य हुन लागेको छ ।
आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम निर्माण गरी लागू गर्ने योजना बनाइएको छ । चालू शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरिने नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार गर्नका लागि नगरपालिकाका विद्यालयका प्रधानाध्याकहरुको विज्ञ समिति गठन गरी कार्य अन्तिम चरणमा पुगेको छ ।”
खाका तयार भएपछि नगर क्षेत्रका शिक्षा क्षेत्र समृद्ध व्यक्तिसँग छलफल र परामर्श लिई खाकालाई अन्तिम रुप दिई पाठ्यक्रमका रुपमा लागू गरिने उहाँले बताउनुभयो । अर्को शैक्षिक सत्रमा कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठयक्रम निर्माण गरि लागू पर्ने उहाँको भनाइ छ ।
स्थानीयस्तरका विषयवस्तुहरु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले शैक्षिक सामग्री तयार गर्ने कार्य भैरहेको छ । पाठ्यक्रममा यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक, आर्थिक पक्षसँगै जैविक विविधता, नदी, ताल, तलैया, वन सम्पदा, खनिज पदार्थ, जलवायु परिवर्तन, विपद्, योग, खेलकुद, असल सामाजिक कार्यक्रमहरु, स्थानीय पेशा व्यवसायलाई पाठ्यक्रममा समावेश गरिनेछ । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ ।