शिवकुमार काशी
हेटौँडा, साउन ३२ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका पूरै भाग र मनहरी गाउँपालिकाको महेन्द्र राजमार्ग छेउछाउमा लगाइएको निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ ।
कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बिहान बसेको बैठकले निषेधाज्ञा थप गर्नका लागि सिफारिस गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ ९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यसअघि प्रशासन कार्यालयले साउन २६ गते रातिदेखि जारी गरेको निषेधाज्ञा साउन ३२ गते आइतबार राति १२ बजेसम्मका लागि कायम थियो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गड्तौलाका अनुसार थप गरिएको निषेधाज्ञाको मोडालिटीमा केही परिवर्तन गरिएको छ । यसअघि बिहान ९ बजेसम्म तरकारी पसल खुल्ने व्यवस्था गरिएकामा थप गरिएको निषेधाज्ञा अबधिमा बिहान ८ बजेसम्म मात्रै तरकारी पसल खुल्नेछन् । हेटौँडा उपमहानगरपालिका, मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसहितको राय बमोजिम तरकारी पसलहरु पनि थोक बिक्रीका लागि मात्रै खुलाउनका लागि यो अबधिमा थप सहजीकरण हुने बताइएको छ । “सकेसम्म भीड हुने कुनै पनि गतिविधि गर्दै नगर्ने अबधारणा अनुसार तरकारी बजारको व्यवस्थापनलाई अझ कडाई गर्ने प्रयत्न रहनेछ”, सूचना अधिकारी गड्तौलाले भन्नुभयो ।
बैठकले एकसाता जारी गरिएको निषेधाज्ञाको समिक्षा गर्दै प्रभावकारी बनेको निष्कर्ष निकालेको छ । बागमती प्रदेश सरकारको राजधानी पनि भएकाले हेटौँडा उपमहानगरपालिकामा कोरोना जाँच कार्यलाई तीब्रता दिनुपर्ने र संकलित स्वाबको जाँच छिटो गरी तत्कालै रिपोर्ट दिनेतर्फ पनि बैठकले सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराएको छ । बैठकले मनहरी गाउँपालिकामा पनि अर्काे आइसोलेसन निर्माणका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको सूचना अधिकारी गड्तौलाले बताउनुभयो ।
यसैबीच मनहरी गाउँपालिकाले भने तरकारी तथा खाद्य पसलहरु समेत नखुलाउने गरी भदौ ९ गतेसम्म सम्पूर्ण बजार बन्द गर्न सूचना जारी गरेको छ । विपद् व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न सार्बजनिक सूचना र माइकिङ गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।