logo
२०८१ बैशाख २८ शुक्रवार



बागलुङमा महिला भन्दा पाँच गुणा बढी पुरुष संक्रमित

प्रदेश |


बागलुङमा महिला भन्दा पाँच गुणा बढी पुरुष संक्रमित
तस्बिरः नवीन शिशिर विक


नवीन शिशिर विक
बागलुङ, असोज १६ गते । पहिलो पटक महिला कोरोना संक्रमित पहिचान भएको बागलुङमा महिला भन्दा पाँच गुणा बढी पुरुष संक्रमितको संख्या रहेको छ ।
वैदेशिक रोजगारबाट फर्कने र बाहिरी जिल्लाबाट कामको लागि आउने महिला भन्दा पुरुषको संख्या धेरै हुँदा पुरुष संक्रमितको संख्या बढी भएको हो । बेल्जियमदेखि आएका पहिलो र दोस्रो संक्रमित महिला भए पनि हालसम्म महिला कोरोना संक्रमितको संख्या कुल ६४ हुँदा पुरुष संक्रमितको संख्या ३५८ रहेको छ ।
विशेष गरी भारत, कोरिया, युरोप तथा खाडीमा कामको लागि गएर फर्कनमा पुरुषको संख्या बढी हुँदा पुरुष संक्रमित धेरै भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताउनुभयो । समुदायस्तरमा भने महिलाको संख्या बढी छ ।
गत चैत्रदेखि कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न थालेको बागलुङमा ६ महिनाको अवधिमा ८ हजार ५९ जनाको कोरोना परीक्षण गरिएको छ । ५ हजार ९०८ जनाको पिसिआर विधि र २ हजार १५१ जनको आरडिटि विधिमार्फत स्वास्थ्य परीक्षण गर्दा ४१४ जनामा कोरोना पोजिटिभ पहिचान भएको हो । संक्रमित मध्ये ३३१ जना निको भएका छ भने ८२ जना उपचाररत रहेको महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो ।
संक्रमण हुनेमा अधिकांस छिमेकी जिल्ला भारत, युरोप, कोरीया तथा खाडी मुलुकबाट आएका हुन । पहिलो पटक चैत्र १५ गते बेल्जियमदेखि बागलुङ आएका १९ बर्षिय एक युवतीलाई संक्रमण पुष्टि भएको थियो । यद्यपी उहाँको सम्पर्कमा आएका परिवार, आफन्तजन तथा साथीहरु कसैलाई पनि कोरोना सरेको थिएन ।
साउनको दोस्रो सातादेखि क्वारेन्टाईनमा कार्यरत सुरक्षाकर्मी, खाना पकाउने भान्से, स्वास्थ्यकर्मी, कुखुरा व्यवसायी, पार्लर व्यवसायी र उनीहरुको सम्पर्कमा रहेका अन्य व्यक्ति हुँदै समुदायस्तरमा कोरोना पहिचान हुने क्रम जारी रहेको फोकल पर्सन बरालको भनाई छ ।
‘अहिले कोरोना समुदायस्तरमा देखिएको छ’ उहाँले भन्नुभयो–‘एक जिल्लाबाट अर्काे जिल्लामा आउने जाने गर्दा धेरै सजग हुनुपर्ने देखिन्छ ।’ टोल शिक्षा संचालनको लागि सर्लाहीदेखि बरेङ्ग गाउँपालिकामा आएका शिक्षकलाई पनि कोरोना देखिएको उल्लेख गर्दै सजक र सर्तक नबने जटिल अवस्था आउने उहाँको भनाई छ ।
‘लकडाउन हटेको हो, कोरोना होईन’ उहाँले भन्नुभयो–‘अति आवश्यक बाहेकका काममा भिडभाड नगर्ने तथा सुरक्षा मापदण्डको पालना गर्ने तर्फ ध्यान दिनु आवश्यक छ । नेपाली सेनाको व्यारेक, शिक्षक, सुरक्षाकर्मी तथा व्यवसायीलाई कोरोना संक्रमण हुँदा समाजमा सहज फैलिने उहाँको भनाई छ ।
सरकारले होमक्वारेन्टाईन र होम आईसोलेसनलाई प्राथमिकतामा राखे पछि समुदायमा कोरोनाका त्रास तथा जोखिम बढेको स्वास्थ्य शाखा बागलुङका प्रमुख रामसाद खनालले बताउनुभयो ।
दश स्थानीय तह रहेको बागलुङमा सबै भन्दा बढी बागलुङ प्रवेश नाका तथा जिल्ला सदरमुकाम रहेको बागलुङ नगरमा ८२, गलकोट नगरमा ६७, काठेखोला गाउँपालिकामा ५८, बडिगाडमा ४४, ढोरपाटन नगरमा ३९, बरेङ गाउँपालिकमा ३६, तमानखोलामा २१, जैमिनी नगरमा १८, निसीखोला गाउँपालिकामा १६, ताराखोला गाउँपालिकमा १५ र अन्य बाहिरी जिल्लाका १७ नागरिकलाई संक्रमण भएको थियो ।
जिल्लामा कोरोना जित्नेको दर ८० प्रतिशत रहेको छ । संक्रमित मध्ये ५५ प्रतिशतले दुई हप्ता, २७ प्रतिशतले तीन हप्ता, ७ प्रतिशतले चार हप्ता, आठ प्रतिशतले एक हप्ता २ प्रतिशतले पाँच हप्ता तथा एक प्रतिशतले ६ हप्ता बढी दिनमा संक्रमण जितेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?