कञ्चनपुर, मङ्सिर १७ गते । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाड्नुभएको छ । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उहाँले खेतमा क्यामोमाइल खेती गर्नुभएको छैन । खेतमा उहाँले गहुँ छर्नुभएको छ ।
“क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उहाँले भन्नुभयो, “बिचौलियामार्फत पाइएका व्यापारीले थोरै मूल्यमा तेल खरिद गर्दा निकै समस्या भएको छ । खेती गर्दादेखि तेल प्रशोधन गर्दासम्मको लागत खर्चसमेत नउठ्ने भएपछि खेती गर्न छाडेका छौँ ।”
तीन वर्षदेखि क्यामोमाइल खेती गर्दै आउनुभएकी उहाँले प्रतिवर्ष क्यामोमाइलको तेल बिक्री गरेर रु ४० हजार जति आम्दानी लिँदै आउनुभएको छ । बिचौलियाले रु ५५ हजार प्रतिलिटरमा बिक्री हँुदै आएको तेलको मूल्य घटाएर रु २५ हजार पुर्याएपछि उहाँजस्तै गाउँका अधिकांश किसानले क्यामोमाइलको खेती गर्न छाडेका छन् ।
तीन जना किसानबाट शुरु गरेको क्यामोमाइल खेती गर्ने किसानको सङ्ख्या तीन वर्षको अवधिमै ७० पुगेको थियो । हाल सो खेती गर्ने किसानको सङ्ख्या शून्यमा झरेको छ । “जङ्गली जनावरले नखाने, थोरै मेहनत गरे पुग्ने र सिँचाइमा अन्नबालीभन्दा गतिलो आम्दानी हुने भएपछि परिवारको खर्च धान्नका लागि वैदेशिक रोजगारीमा जाने युवाले गाउँमै रोजगारी पाएका थिए”, प्रगति महिला जडीबुटी व्यवस्थापन समितिका सचिव हर्कबहादुर ऐरले भन्नुभयो, “नसोचेको आम्दानी क्यामोमाइल खेतीबाट हुन थालेपछि युवा खेतीमा संलग्न हुन थालेका थिए । परिवारको खर्च सहजै क्यामोमाइल खेतीले धानेको थियो ।”
बजार नै नपाइएपछि किसानले खेती गर्न छाडेका छन् । क्यामोमाइललगायतको जडीबुटीमा संलग्न भएका युवा रोजगारी खोज्दै विदेशिनुपर्ने बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो । पहिलो वर्ष क्यामोमाइलको प्रशोधित तेल प्रतिलिटर रु ४० हजारमा बिक्री भएकोमा दोस्रो वर्ष रु ५३ हजार र तेस्रो वर्ष रु २५ हजारमा बिक्री भएको छ । बजार मूल्यमा आएको उत्तारचढाव र बिचौलियाका कारण उत्पादित क्यामोमाइलको चार लिटर तेल बिक्री हुनसकेको छैन ।
“क्यामोमाइल रोप्ने अहिलेको समयमा किसानले कुनै सुरसार नै गरेका छैनन्”, प्रगति महिला सामुदायिक वनका अध्यक्ष रामबहादुर साउदले भन्नुभयो, “क्यामोमाइल रोप्ने खेतमा गहुँ छरेका छन् । क्यामोमाइलको उत्पादित तेल बिक्री गर्नका लागि भरपर्दो बजार नपाउँदा किसानले यो खेती गर्न छाडेका छन् ।”
“क्यामोमाइल, मेन्था फ्रेन्चावेशील, लेमनग्रासलगायको जडीबुटी खेतीबाट आम्दानी लिन सकिने कुरा बुझाउनका लागि किसानलाई धेरै मेहेनत गर्यौँ” उहाँले निरास हुँदै भन्नुभयो, “क्यामोमाइलबाट किसानले राम्रै आम्दानी लिँदै आएका बेला प्रशोधित तेल बिक्री नहुने समस्याले किसानले खेती नै गर्न छाडेका छन् ।”
जडीबुटीको उत्पादित तेल बिक्रीका लागि बजार नहँुदा निकै समस्या भएकाले बजारको खोजी गरी पुनःकिसानलाई जडीबुटीखेती तर्फ डोर्याउने प्रयासमा लाग्ने उहाँ बताउनुहुन्छ । क्यमोमाइलसँगै बेलडाँडीका किसानले प्रगति महिला सामुदायिक वनबाट तीतेपाती(करिपत्ता)सङ्कलन गरी उद्योगमा प्रशोधन गरी तेल उत्पादन गर्दै आएका छन् । यो वर्ष तीतेपातीको तेल बिक्री नभएपछि सो सङ्कलनको कार्यसमेत बन्द भएको छ ।