logo
२०८१ फाल्गुन २२ बिहीवार



अयोध्याबाट आएका जन्तीलाई फर्किने बेला जलेश्वरमा स्वागत

प्रदेश |


अयोध्याबाट आएका जन्तीलाई फर्किने बेला जलेश्वरमा स्वागत


नागेन्द्रकुमार कर्ण
जलेश्वर, पुस ७ गते । रामजानकी विवाहपञ्चमी महोत्सवमा भाग लिन भारतको अयोध्याबाट आउनुभएका सानो जन्तीलाई जनकपुरबाट अयोध्या फर्किने बेला जलेश्वरमा स्वागत गरिएको छ ।
कोरोना महामारीको कारण विधिवत् रुपमा अयोध्यामा जन्तीलाई निमन्त्रणा नगरिएपनि परम्परालाई ध्यानमा राख्दै अयोध्याका स्वामी हंसानन्द गिरीको अगुवाइमा आउनुभएका सानो जन्तीलाई जलेश्वरमा भव्य स्वागत गरिएको हो ।
जन्ती स्वागत तथा विदाई समारोहका संयोजक नविन कुमार नवलले यसक्षेत्रमा अयोध्याबाट जन्ती आउने रुटको प्रचारप्रसार गरिए पनि माता जानकीको विवाहोत्सवपश्चात अयोध्या फर्किने बाटोको प्रचारप्रसार हुन नसकेको बताउनुहुँदै सोही बाटोको प्रचारप्रसारको लागि सानो जन्तीलाई जनस्तरबाट निमन्त्रणा गरिएको बताउनुभयो ।
उहाँले त्रेताकालमा जनकपुरमा विवाह सम्पन्न भइसकेपछि अयोध्या जन्ती फर्किने क्रममा आफुहरुको जन्मथलो महोत्तरी गाउँपालिकाको अनैठा ठाडी गाउँमा रहेको ठाडेश्वर महादेव मन्दिर नजिक समेत केही वेर विश्राम गरेको चर्चा गर्नुहुदै जन्ती फर्किने रुटको प्रचारप्रसार हुन जरुरी रहेको बताउनुभयो । जनस्तरबाट निमन्त्रणापश्चात आउनुभएका सानो जन्ती समूहलाई जनकपुर, अनैठाको ठाडेश्वरनाथ महादेव मन्दिर हुदै जलेश्वरनाथ दर्शन गराएको चर्चा गर्नुहुँदै नवलले भन्नुभयो, ‘प्रदेश सरकारले जन्ती फर्किएको बाटोको समेत अध्ययन अनुसन्धान गरि सो रुटलाई समेत प्रचारप्रसार गर्न जरुरी देखिन्छ ।’
अयोध्याबाट आउनुभएका स्वामी हंसानन्द गिरी, स्वामी विजयानन्द, आचार्य धिरेन्द्र साध्वी, अंश आनन्द गिरि, महसानन्द गिरी, अन्नपूर्णा दास लगायतका लागि जलेश्वरमा भव्य स्वागतसहित जलेश्वरनाथ महादेव मन्दिरमा आयोजित संध्या आरतीमा समेत सम्मिलित गराइएको थियो । त्यसैगरि उहाँहरुले मन्दिर परिसरमै विशेष प्रवचन समेत दिनुभएको थियो ।
उहाँहरुको रात्री विश्राम जलेश्वरमा नै भएको जानकारी गराउनुहुदै जन्ती स्वागत तथा विदाई समितिका संयोजक नवलले भन्नुभयो, ‘त्रेताकालमा माता जानकीको विवाहोत्सवपश्चात उहाँको डोला भारतको पंथपाखरमा राखिएको वताउनुहुदै जलेश्वरपछि उहाँहरुको विश्राम सोही ठाउँमा हुन्छ ।’
अयोध्याबाट सन्तहरुको आगमनले त्रेतकालिन ठाउँहरुको अध्ययन अनुसन्धानमा सहायक हुने बताउनुहुँदै नवलले अनैठा ठाडीमा रहेको ठाडेश्वरनाथ महादेव मन्दिरसंगै रहेको पोखरीको प्रदेश सरकारले सौन्दर्यकरण गरिरहेको छ भने स्थानीयस्तरमा सन्त कुटी समेत निर्माण भइरहेको जानकारी दिनुभयो ।
अयोध्याबाट आउनुभएका सन्त हंसानन्द गिरीले नेपाल र भारत सरकारले जनकपुर र अयोध्याको सम्बन्धलाई एउटा उचाईमा पु-याएपनि अझै यसमा सक्रियताको खाँचो देखिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?