logo
२०८१ फाल्गुन १७ शनिवार



आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

प्रदेश |


आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
सांकेतिक तस्बीर


खोटाङ, माघ १७ गते ।आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते हुनुभएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते हुनुभएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।

शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते हुनुभएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताउनुभयो । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो ।

वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ हुनुहुन्थ्यो । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभएको छ । मृतक हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?