चितवन,जेठ २४ गते । सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन् । अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ ।
नेपाल नर्सिङ सङ्घ चितवनका सचिव विष्णुमाया अधिकारी अध्यादेश पूर्णरूपमा कार्यान्वयनमा आउनेमा विश्वस्त रहँदै आफूहरुको आत्मबल बढेको बताउनुहुन्छ । स्वास्थ्यकर्मीहरुले पनि आफू कर्तव्यबाट कत्ति पनि विचलित हुन नहुने भन्दै उहाँले इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो अध्यादेशले हामीलाई ऊर्जा थपेको छ ।” स्वास्थ्यकर्मीमाथि जिम्मेवारी थपिएको पनि उहाँले बताउनुभयो । विगतमा भएका घटनामा कतिपयमा स्वास्थ्यकर्मी पनि दोषी भएको भन्दै उहाँले यस्ता घटनाप्रति सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाईंले अध्यादेशलाई ऐनमा ल्याएर पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा खुट्किलो उक्लिएको छ, यसलाई ऐनमा ल्याउनुपर्छ ।” स्वास्थ्यकर्मी र संस्थाहरु सुरक्षित हुने भन्दै उहाँले काम गर्न सबैमा आत्मबल बढाएको बताउनुभयो ।
नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने भौतिक आक्रमणका दोषीलाई प्रमुख जिल्ला अधिकारीले धरौटीमा छाड्ने गरेकामा यो अध्यादेशसँग अदालतबाट सजाय दिलाइने अवस्थाको सिर्जना भएको बताउनुभयो ।
हालसम्म भएका घटनामा आवेगमा आएको नाममा दोषीलाई उन्मुक्ति दिने गरिएको भन्दै उहाँले यससँगै यस्ता तत्व हच्किने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले कानून थिएन, अब कार्यान्वयनको पक्षमा लाग्नुपर्छ ।” पहिले यस्ता मुद्दाहरु सार्वजनिक अपराधअन्तर्गत सामान्य कारवाही गरेर छाड्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्ला वर्षमा अधिकांश व्यक्तिको जन्म र मृत्यु अस्पतालमै हुने गरेको छ । क्रमशः यो प्रक्रिया सतप्रतिशत अस्पतालमा हुने अनुमान गरिन्छ । अस्पतालमा जति बिरामी थपियो, मृत्युदर त्यतिनै बढ्ने चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने बताउनुहुन्छ ।
चिकित्सक स्वास्थ्यकर्मीले हरसम्भव बिरामीलाई बचाउन प्रयास गर्ने भए पनि कतिपय समयमा असम्भव हुने भन्दै उहाँले त्यसलाई सहजरूपमा स्वीकार्नुपर्ने बताउनुभयो । सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण भएको भन्दै उहाँले केही वर्षअघि चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनालाई पक्राउ गरेर यहाँ गरिएको कारवाही नै सबैभन्दा ठूलो रहेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सक र स्वास्थ्यकर्मी ज्यान फालेर बिरामीको उपचारमा तल्लिन हुने गर्छन्, जब बाहिर निस्किन्छन् अस्पताल तोडफोड र आफ्नै असुरक्षा देख्दा दिग्दार लाग्छ ।”
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधान अस्पतालमा स्वास्थ्यकर्मीहरुले सके र भएसम्म बिरामी बचाउने प्रयास गर्ने बताउनुहुन्छ । प्रयास असफल हुँदै गर्दा स्वास्थ्यकर्मी र अस्पतालमाथि आवेगमा गरिने भौतिक आक्रमण रोकिनेमा उहाँ आशावादी हुनुभयो । उहाँले भन्नुभयो, “चिकित्सक स्वास्थ्यकर्मीको आत्मबल उच्च नबनाई काम गर्न सकिँदैन । ”
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन, २०६६ लागू भएदेखि नै आफूहरु यसको परिमार्जन हुनुपर्ने पक्षमा रहेको भन्दै यो अध्यादेश स्वागतयोग्य रहेको बताउनुभयो । भेरीको घटनाले अहिलेको अवस्था सिर्जना भएको भन्दै उहाँले अध्यादेशलाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्ने प्रतिक्रिया दिनुभयो । ठूलाठूला घटना हेर्नका लागि मन्त्रालयमा रहेको समितिले काम गर्ने भए पनि तल्लो तहमा हुने सानासाना घटनाहरुको अनुगमन कसरी गर्ने बारेमा छलफल गरी संयन्त्र बनाइनुपर्ने उहाँको भनाइ छ ।
यस्ता अधिकांश घटना रातिको समयमा हुने भन्दै उहाँले तत्काल कार्यान्वयनका लागि संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । यसले स्वास्थ्यकर्मी र सेवाग्राही दुवै पक्षलाई फाइदा पुग्ने उहाँको तर्क छ । अध्यादेशमा स्वास्थ्यकर्मीमाथि कुटपिट हुँदा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना हुने व्यवस्था छ । स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुनसक्छ ।
कोभिड महामारीसँसँगै अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीमाथि पछिल्ला दिनमा आक्रमणका घटना बढेपछि सरकारले यो अध्यादेश ल्याएको हो । यसले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाएर कोभिड महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ ।