logo
२०८१ बैशाख ३० आईतवार



प्रदेश - २ मा तीन मन्त्रालय लिएर नेपाली काँग्रेस सरकारमा जाँदै

प्रदेश |


प्रदेश - २ मा तीन मन्त्रालय लिएर नेपाली काँग्रेस सरकारमा जाँदै
तस्विर-सामाजिक सञ्जाल


इश्वरचन्द्र झा
काठमाडौं, जेठ २६ गते । प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता लालबाबु राउतसँग दुई बुँदे सहमति गर्दै काँग्रेस सरकारमा जान लागेको हो । काँग्रेसका तीन जना प्रदेश सभा सदस्यले आजै साँझ मन्त्री पदको शपथ लिने तय भएको छ ।
प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबले जनता समाजवादी पार्टीका दलका नेता समेत रहनुभएका मुख्यमन्त्री राउत र काँग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादबबीच सरकारमा जाने सम्बन्धमा दुई बुँदे सहमति भएको जानकारी दिनुभयो । दुबैजना आजै एक कार्यक्रमबीच सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सहमतिको पहिलो बुँदामा प्रादेशिक अधिकार संरक्षण गर्न दुबै दल प्रतिबद्ध रहँदै सरकारमा सहभागी हुने उल्लेख छ । दोस्रो बुँदामा प्रादेशिक आवश्यकता र विज्ञको सुझाबमा मन्त्रालयको संख्या थपघट गर्न सकिने उल्लेख छ । प्रवक्ता यादबले आजै साँझ शपथका लागि समय निर्धारण गरिएको बताउनुभयो ।
सहमति बमोजिम नेपाली काँग्रेसले तीन वटा मन्त्रालय पाउने भएको छ । काँग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादबले भौतिक पूर्बाधार तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँ धनुषा ३(२) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उक्त मन्त्रालय यसअघि जनता समाजवादी पार्टी जितेन्द्र सोनारले सम्हाल्नुभएको थियो ।
त्यसैगरी, बिरगंजबाट प्रत्यक्ष निर्वाचित ओम प्रकाश शर्माले ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य बिरेन्द्र सिंहलाई महिला, बालबालिका मन्त्रीको जिम्मेवारी दिइएको छ । प्रदेश २ मा नेपाली काँग्रेसका १९ जना प्रदेशसभा सदस्य छन् ।
प्रदेश २ को मन्त्रीपरिषद्को बैठकले मंगलबार राति छ वटा मन्त्रालयलाई टुक्रयाएर दश बनाउने निर्णय गरेको थियो । यसअघि मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारमा तात्कालीन राष्ट्रिय जनता पार्टीबाट मन्त्रीको जिम्मेवारी सम्हालेका एक मन्त्री र तीन राज्य मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो । हाल जनता समाजवादी पार्टी उपेन्द्र यादब पक्षमा ३६ प्रदेशसभा सदस्य रहेको दाबी गरिएको छ ।
राजपाका २५ र संघीय समाजवादीका २९ जना प्रदेश सभा सदस्यको बहुमतबाट प्रदेश २ सरकारको गठन भएको थियो । दुबै पार्टी एकीकरण भएपछि जनता समाजवादी पार्टीको एकल सरकार रहेको प्रदेश २ मा महन्थ ठाकुर पक्षीय प्रतिनिधिसभा सदस्य संघीय सरकारमा सहभागी भएपछि त्यसको असर प्रदेश २ मा समेत परेको छ । ठाकुर पक्षीय प्रदेश सभा सदस्यलाई उपेन्द्र यादब पक्षका मुख्यमन्त्री लालबाबु राउतले पदमुक्त गर्दै काँग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन कसरत सुरु भएको थियो ।
प्रवक्ता यादबले अबको केही दिनभित्रै माओवादी समेत प्रदेश सरकारमा सहभागी हुने बताउनुभएको छ । उहाँले वार्ता तथा छलफल चलिरहेको भएपनि सहमति भईनसकेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?