logo
२०८१ माघ २३ बुधवार



कोशी राजमार्ग, माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध 

प्रदेश |


कोशी राजमार्ग, माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध 
फाइल फाेटाे


   
खाँदबारी, असार २२ गते । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भीरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।    
    
 एक साता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुङ्गासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उक्त सडकखण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको छ । श्रेष्ठका अनुसार ढुङ्गा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन् ।    
    
 यस्तै, पहिराले खाँदबारी किमाथाङ्का सडकअन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिराले सडक अवरुद्ध पारेको छ । दोभानबाट हेदाङ्नातर्फ जाने सडकमा पहिरो खसेको हो ।    
    
 उता सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिराबाट एक घर पुरिएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिराले घरमा क्षति पुग्नाका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिनुभयो ।    
    
 आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले उक्त घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पहिराबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताउनुभयो । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।    
–––  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?