logo
२०८१ माघ २० आईतवार



पहुँच मार्ग आन्तरिक पर्यटकको रोजाइमा

प्रदेश |


पहुँच मार्ग आन्तरिक पर्यटकको रोजाइमा
सांकेतिक तस्बिर


महेन्द्रनगर, साउन १८ गते । महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।

युवापुस्ता दिनभरजसो उक्त सडकमा आउने र फोटो कैद गर्नुका साथै भिडियो र टिकटक बनाउनेको भीडभाड रहने गरेको स्थानीय रामबहादुर देउवाले बताउनुभयो । “शनिबार त यहाँ सडकमा घुइँचो नै लागेको हुन्छ”, देउवाले भन्नुभयो, “चिल्लो सडक, छेउमा बग्ने महाकाली र बनिरहेको पुलले सबैलाई आकर्षित गरेको छ ।”

यहाँ फोटो सेसनका लागि दैनिक २०० देखि एक हजार जनासम्म पुग्ने गरेको उहाँको भनाइ छ । सडक बनेको विभिन्न ठाउँमा युवायुवती समूहमा आएर टिकटक बनाउन निकै व्यस्त देखिन्छन् । पछिल्लो केही समययता सडकमा भीडभाड बढेपछि यहाँ आइसक्रिम, चटपटेलगायत किराना ससाना पसल सञ्चालनमा आएका छन् ।

भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर देउपाले बाटो निर्माण पूरा हुन नपाउँदै युवाहरुको भीडभाड सो क्षेत्रमा बढेको बताउनुभयो । “बिदाको दिन त यहाँ भीडभाडको सीमा नै रहँदैन”, उहाँले भन्नुभयो, “सडकमा जथाभावी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने र सामाजिक विकृति फैलिने खालका गतिविधिमाथि स्थानीय प्रशासनलाई निगरानी बढाउन अनुरोध गरिएको छ ।”

उहाँले पुलसँगै निर्माण हुने चार वटा ठूलो पोखरीसमेत बने सो क्षेत्र पर्यटकीय गन्तव्य हुनेमा विश्वस्त रहेको बताउनुभयो । “भीडभाड धेरै हुन थालेपछि अब दुई÷तीन दिनमा वडामा प्रहरी प्रशासनसित संयुक्त बैठक डाकेर छलफल गर्ने योजना छ”, उहाँले भन्नुभयो, “अनाश्वयक भीडभाडले दुर्घटनाको जोखिम बढेको छ ।”

पुलसँगै वारितर्फ गड्डाचौकी र पारि दोधारा–चाँदनीमा डेढ किलोमिटर छ लेनको सडक निर्माणाधीन अवस्थामा छ । पुल निर्माण कम्पनीका इञ्जिनीयर किशोरराज पाण्डेयले सडकमा बढिरहेको भीडभाडले दुर्घटनाको जोखिम बढेको बताउनुभयो । “चिल्लो सडक, महाकाली र पुलको मनोरम दृश्यले स्थानीयलाई लोभ्याएकै छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?