logo
२०८१ बैशाख १८ मंगलवार



कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस

प्रदेश |


कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस


चितवन, भदौ ४ गते । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन् । अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन् । दैनिक चार सिफ्टमा डायलासिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले नियमित सेवा लिँदै आएका छन् । साउनमा मात्रै १२१ ले सेवा लिएको उहाँले जानकारी दिनुभयो । साउनमा सेवा लिएकामध्ये ४९ महिला र ७२ पुरुष छन् ।

डायलासिस विभागकी सुनीता देवकोटाका अनुसार अहिले पालो पर्खेर बसेका बिरामीको सङ्ख्या ४० जना छ । पालो पर्खेर बसेकाले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । उनीहरुले यहाँ लामो समयसम्म पालो कुर्नुपर्ने भएपछि अन्य अस्पतालबाट सेवा लिने गरेका छन् । अस्पतालमा पालोमा रहेका बिरामीलाई क्रमशः सेवा दिने उहाँले जानकारी दिनुभयो । चिकित्सकको सल्लाहले आकस्मिक मिर्गाैलाको डायलासिस गर्नुपर्नेलाई भने पालो कुर्नु नपर्ने उहाँले जानकारी दिनुभयो । विसं २०७४ मा यस अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएसँगै एक व्यक्तिले ३०९ पटकसम्म सेवा लिएको तथ्याङ्क छ ।

आकस्मिक सेवा लिनुपर्दा रु. दुई हजार ५०० मा सेवा दिइने गरेको छ । यो सेवा निजीमा भन्दा सस्तो हो । निजी अस्पतालले एकपटकको रु. तीन हजार ५०० देखि रु. सात हजारसम्म लिने गरेका छन् । सरकारी अस्पतालमा प्रक्रिया पु¥याएर उपचारका लागि आए यो सेवा निःशुल्क हुनेछ । सरकारी अस्पतालमा सबै उपकरण सञ्चालन नहुँदा र उपकरणको कमीले चाहेर पनि धेरैले यो सेवा लिन पाएका छैनन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?