logo
२०८१ जेष्ठ ७ सोमवार



अक्सिजन प्लान्ट स्थापना चाँडै

प्रदेश |


अक्सिजन प्लान्ट स्थापना चाँडै
फाइल तस्बिर


बैतडी, असोज १९ गते । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ ।

जिल्ला अस्पताल प्रमुख डा. वसन्तराज जोशीका अनुसार प्लान्ट स्थापनाका लागि पहिलो चरणमा केही सामग्री आएको बाँकी पनि चाँडै आइपुग्नेछ । उहाँले भन्नुभयो, “सबै सामग्री आएपछि जडानको काम सम्पन्न गछौँँ ।” पूरै सामग्री आइपुग्न अझै दुई साता लाग्ने उहाँले बताउनुभयो । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँ र जिल्ला अस्पतालबीच सम्झौता भएको थियो । सप्लायर्स कम्पनीको लापरबाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो ।

चार महिनामा बल्ल केही सामग्री आइपुगेको छ । प्लान्ट स्थापनाका लािग सङ्घीय सरकारबाट रु. एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु. ८० लाख बजेट प्राप्त भएको छ । रकम प्राप्त भएपछि अस्पतालले बोलपत्र आह्वान गरी उक्त सप्लायर्सलाई छनोट गरेको हो । गत आर्थिक वर्षभित्र नै जडान गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको थियो ।

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएको थियो । त्यसपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने छ । उक्त प्लान्ट स्थापनाबाट ५० शय्याको अस्पतालका लागि सहयोग पुग्ने डा. जोशीले बताउनुभयो ।

“प्लान्ट स्थापनाले कोरोनाका बिरामीका लागि मात्र नभएर अन्य शल्यक्रिया र सघन उपचार कक्ष सञ्चालनका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ २१ सक्रिय सङ्क्रमित छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?