logo
२०८१ बैशाख १७ सोमवार



चितवनमा चालु आर्थिक वर्षमा उन्नाइस गैँडा मरे

प्रदेश |


चितवनमा चालु आर्थिक वर्षमा उन्नाइस गैँडा मरे


चितवन, पुस ९ गते । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतिले मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ । यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार आव २०७५/७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो । यस्तै आव २०७७/७८ मा ३३, २०७६/७७ मा २६, २०७४/७५ मा २६, २०७३/७४ मा २५, २०७२/७३ मा १४, २०७०/७१ र २०७१/७२ मा ११/११ गैँडा मरेका थिए । यस्तै आव २०६९/७० मा १० गैँडा मरेको निकुञ्जको तथ्याङ्कले जनाएको छ ।

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन् । गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि बढी हुने गरेको छ । सङ्ख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढ्दा अस्वाभाविकरूपमा लिन नपर्ने विज्ञहरु वताउँछन् ।

हत्या अभियोगमा श्रीमान् पक्राउ

जिल्ला प्रहरी कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो । कार्यालयका अनुसार अम्बिकाको उपचारका क्रममा मृत्यु भएपछि उनको शरीरमा भएको घाउचोटका कारण हत्या भएको पुष्टि भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?