रुकुम(पूर्व), पुस १६ गते । रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन् ।
जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व)का कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिनुभयो ।
सोमा सिस्ने गाउँपालिकाका दुई हजार ४५०, भूमे गाउँपालिकाका दुई हजार ५४ बालबालिकाले माेडर्ना खोपको पहिलो मात्रा लगाएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिकाका एक हजार ७१२ बालबालिकाले मोडर्नाको खोप लगाएको फोकल पर्सन गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा यही पुुस ६ देखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो भने १० गतेदेखि १४ गतेसम्म पुथाउत्तरगङ्गा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो ।
स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ । खोप कार्यक्रम सुरु गर्नुभन्दा अघि जिल्लामा १२ वर्षभन्दा माथिका र १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका करिब साढे ६ हजारको हाराहारीमा रहेको आकलन गरिएको भए पनि अहिले यो उमेर समूहका बालबालिका धेरै भएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेसम्म खोप लगाएका बालबालिकाको सङ्ख्या ६ हजार बढी भइसकेको र अझै धेरै बालबालिका खोप लगाउन बाँकी रहेको गिरीले बताउनुभयो । स्वास्थ्य कार्यालयमा पुस २० गतेसम्म मोडर्ना खोप लगाउने कार्यक्रम चल्ने बताइएको छ ।