logo
२०८१ कार्तिक १६ शुक्रवार



ताराखोला सिले गाउँका घरघरमा खानेपानीको धारा

प्रदेश |


ताराखोला सिले गाउँका घरघरमा खानेपानीको धारा


गलकोट, पुस १९ गते । जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश/बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७ धारा बनेका छन् ।

नयाँ धारो निर्माण हुनुभन्दा पहिले गाउँमा खानेपानीको अभाव भएको स्थानीय जैमती घर्ती मगरले बताउनुभयो । उहाँले पुरानो धारा जीर्ण भएको र उक्त धाराबाट १०÷१२ घरकाले पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्नु भयो । सिले वासमर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोतिलाल रोका मगरले पुरोना खानेपानी योजना जीर्ण बनेपछि गाउँमा पानी समस्या बन्दै गएको र त्यसको समाधानका लागि नेवासँग माग गरि समाधान गरेको जानकारी दिनुभयो ।

गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । नेवाका कार्यक्रम अधिकृत विनोद कोइरालाले गाउँमा खानेपानीको समस्या भएपछि आफूहरुलाई सहयोगका लागि आग्रह गरेको र गत वर्षदेखि आयोजना सुरु गरेको जानकारी दिनुभयो । सो आयोजना रु ३७ लाख ३५ हजार ८२७ को लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ ।

नेवाको २० लाख ४१ हजार ३२९, ताराखोलाको रु छ लाख र समुदायको रु एक लाख ९० हजारको जनश्रमदानमा आयोजना सम्पन्न भएको होे । सिले गाउँका ५७ घर धुरीमा ५७ धारा निर्माण गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?