logo
२०८१ बैशाख ११ मंगलवार



डढेलोका कारण नाक्चुङ बस्ती जोखिममा

प्रदेश |


डढेलोका कारण नाक्चुङ बस्ती जोखिममा
फाइल तस्बिर


सोलुखुम्बु, फागुन २५ गते । खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेका वडाध्यक्ष शेर्पाले बताउनुभयो । तीव्र वेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ । अग्निनियन्त्रक सिम्रिक एयरको हेलिकोप्टरले दुई दिनदेखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि सफल नभएको प्रहरीले जनाएको छ । गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

आगो लागेको क्षेत्र नजिकै पर्ने सुर्केखोलाबाट पानी तान्ने काम गरिएको छ । मङ्गलबार बेलुका लुक्लामा नै बसेको हेलिकोप्टरले आज पनि आगो नियन्त्रणको प्रयास गर्ने बताइएको छ । डढेलो नियन्त्रणका लागि गाउँपालिकाले सबै संयन्त्र प्रयोग गरेको भए पनि सफल हुन नसकेको पालिकाले जनाएको छ । अत्यधिक भिरालो र तीव्र वेगको हावाका कारण मानिसले आगो नियन्त्रणको प्रयास गर्न नसक्ने स्थानीयवासी रामे तामाङले बताउनुभयो ।

धुवाँका कारण सोमबार बिहान झण्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के–कति क्षति भयो यकिन गर्न कठिन भएको बताइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?