logo
२०८० चैत्र १६ शुक्रवार



१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

प्रदेश |


१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन


पर्वत, फागुन २६ गते । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ ।

जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो । तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आउनुभएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने तर उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बहाना नगरी काम सक्न निर्देशन दिनुभएको हो ।

आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताउनुभयो । आयोजनाको काम २०७४ फागुनबाट सुरु भएर पनि बजेटको अभाव, कामदारको अभाव, विद्युत् विस्तारलगायतका कारण काम ढिलो भइरहेको उपभोक्ता समितिले बताउँदै आएको छ । मन्त्रालयको टोलीसमक्ष उपभोक्ता समितिले चैत मसान्तसम्म आयोजनाको काम सकेर एक घर एकधाराको रुपमा पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयको टोलीले आयोजना स्थलमा आएर अनुगमन गरि उपभोक्ता समितिलाई काम चाँडो सक्न निर्देशन दिएपछि उपभोक्ता समितिले मन्त्रालयले भुक्तानीमा बाधा नपु¥याए चैत मसान्तसम्म उपभोक्तालाई पानी खुवाउने प्रतिबद्धता जनाएको थियो ।

वडाध्यक्ष अर्जुनबहादुर केसीले खानेपानी आयोजनाको काम कहिले सकिन्छ भनेर नागरिकस्तरबाट दबाब आइरहेको जनाउँदै अब समितिले रातदिन नभनी काम गरेर उपभोक्ताको घरसम्म पानी खसाल्नुपर्ने बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार लमाएखोलाबाट कोटसम्म एक हजार ५०० मिटर माथिसम्म पाइपलाइन विस्तार भइसकेको छ । लिमिकोटमा दुई लाख लिटरको मुख्य रिजर्भवेयर ट्याङ्की, भूमेकोटमा एक लाख लिटर, थुममा ६० हजार लिटर, भीरवारीमा ६० हजार लिटरको ट्याङ्की निर्माण भइसकेको उहाँले बताउनुभयो ।

थापाठानामा ट्याङ्की र पाइपलाइनको काम पनि चलिरहेको छ । अहिलेसम्म रु तीन करोडको हाराहारीमा रकम खर्च भएको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजनाबाट एक हजार ५० घरपरिवारमा पानीको सुविधा पु¥याउने लक्ष्य रहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?