logo
२०८० चैत्र १६ शुक्रवार



कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

प्रदेश |


कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने


जाजरकोट, फागुन २७ गते । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ । विज्ञसहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर तालिमप्राप्त कर्मचारी जिल्लामा पठाएको हो । दश कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।

तालिममा सिकेको सीप अधिकतमरूपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ । प्रत्येक मेसिनलाई रु दुई लाख ९० हजारमा खरिद गरी १० मेसिन जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताउनुभयो ।

कर्णालीका सबै पालिकामा माग भएअनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ । फोहर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखापरेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु गरिएको मन्त्री सिंहले बताउनुभयो ।

पुल निर्माणमा तीव्रता

स्तरोन्नतिको काम भइरहेका जाजरकोट–डोल्पा सडकखण्डको बीचमा रहेका भेरी नदीमा बेलीब्रिज पुल निर्माण जारी छ । निर्माण व्यवसायीले अस्थायीरूपमा तल्लु बगरमा बेलीब्रिज निर्माण गरी छिटोछरितो बनाउने कार्यलाई तीव्रता दिएको छ । जाजरकोटको नलगाड नगरपालिकाका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलीब्रिज बनाएर डोल्पा खण्डमा बेलीब्रिज निर्माणलाई तीव्रता दिइएको सडक डिभिजन चौरजहारीका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिनुभयो ।

बेलीब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीेभेरी नदी तरेर सिधै डोल्पाको खदाङसम्म जान पाएका छन् । यहाँ पुल नहुँदा भेरी नदीको किनारमा वारिपारि रोकिएको अवस्था थियो । सवारीसाधन तल्लुबगरबाट गोतामकोटसम्म तुइनमार्फत तारेर रु एक लाख ५० हजार प्रतिपटक रकम खर्च गर्नुपर्ने बाध्यता थियो ।

अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलीब्रिज निर्माणको काम भइरहेको छ । तीनै चारवटा बेलीब्रिज निर्माणका सामग्री ढुवानीका लागि इकोइन्फ्रा बिल्डर्सले बेलीब्रिज निर्माण गरेको हो । बिल्डर्सका प्रतिनिधि मनोज लेखकले बेलीब्रिज निर्माणका सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताउनुभयो । उहाँका अनुसार अस्थायी बेलीब्रिज भएर अरु चार ठाउँका पुल सोझै खदाङ पु¥याइनेछ ।

अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलीब्रिज तयार गरिएको हो । बिल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाड खोला, त्रिपुराकोट, खदाङ र करबगार खोलामा बेलीब्रिज निर्माणको काम गरिरहेको छ । ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ भने सामान जडान गर्न मात्र बाँकी छ । अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलीब्रिज बन्दै छ भने रुपगाड खोला र करबगार खोलामा पनि पुल बनाइनेछ । सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जीनियर सुरेश बस्यालले चारवटा बेलीब्रिज निर्माणको ६० प्रतिशत काम सकिएको बताउनुभयो ।

तल्लुबगरमा पुल नहुँदा नेपालगञ्ज, सुर्खेतलगायत ठाउँबाट आएका सवारी तल्लुबगरमा रोकिने गरेका थिए । अहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत यात्रुले पिठ्युँमै बोकेर सामग्री वारपार गराउने गरेका थिए । अस्थायी बेलीब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?