logo
२०८१ बैशाख १३ बिहीवार



कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

प्रदेश |


कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन


दमौली, चैत १ गते । तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो ।

गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित गरेर जलविहार यात्रा सञ्चालन गर्छाैँ ।”

गाउँपालिकाले यसका लागि रु. १५ लाख बजेट विनियोजन गरेको छ । घिरिङ –१ बैडीबाट घिरिङ –४ करुवाटारसम्म जलविहार सञ्चालन गरिने जनाइएको छ । यसअघि घिरिङसँग सिमाना जोडिएको चापाकोट, बौदीकालीको संयुक्त पहलमा जलविहार सञ्चालन गर्न खोजिए पनि सम्भव भएको थिएन । जलविहार गर्न आउनेलाई बास बस्नका लागि घरबास पनि सञ्चालन गरिएको छ । पुट्टारको घरबास, दृश्यावलोकन केन्द्रलगायतलाई जोडेर जलविहार सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष रानाले बताउनुभयो ।

“गाउँपालिका र प्रदेश सरकारको संयुक्त प्रयासमा गोफा खोला थुनेर कृत्रिम ताल पनि बनाउँदैछौँ, घिरिङमा रहेका सबै पर्यटकीय क्षेत्रलाई एकीकृत गरी जलविहार यात्रा सुरु गर्छौँ”, उहाँले भन्नुभयो, “यसले समग्र पालिकाको पर्यटन प्रवर्धनमा टेवा पुग्छ ।” नारायणी नदी किनारमा सञ्चालन गरिएको जस्तो मोटरबोट सञ्चालन गर्ने भनिए पनि कालीगण्डकीमा त्यो सम्भव नदेखिएको उहाँले बताउनुभयो । गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बैडीबाट करुवाटारसम्म जलविहार गराएको छ ।

आगलागीपीडितलाई सहयोग

व्यास नगरपालिका–४ मा गत फागुन २२ गते भएको आगलागीबाट पीडित भएकालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तेह्रथुम घर भई हाल अमेरिकामा रहनुभएका हेम थापाले आगलागीबाट घर जलेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यस्वरुप रु. ५० हजार पठाउनुभएको हो ।

भूपाल हार्डवेयरबाट सुरु भएको आगलागीका कारण हार्डवेयर आसपास रहेका घरमा क्षति पुगेको थियो । घरमा क्षति पुगेका व्यक्तिलाई केही सहयोग होस् भन्ने उद्देश्यले हेम एण्ड माया फाउण्डेशनमार्फत उक्त सहयोग गरेको उहाँले बताउनुभयो । “आगलागीबाट पीडित भएकालाई सबैले सहयोग गर्नुपर्छ, मैले गरेको सहयोगले अरुलाई पनि उत्प्रेरणा मिल्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

उहाँले नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालमार्फत उक्त सहयोग गर्नुभएको हो । सचिव खनालले व्यास –४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई सोमबार उक्त रकम हस्तान्तरण गर्नुभएको छ । सो क्रममा खनालले आगलागीका कारण घर जलेका व्यक्तिलाई वडा कार्यालयले समन्वय गरेर रकम हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

वडाध्यक्ष न्यौपानेले हार्डवेयरले बीमा गरे पनि व्यक्तिगत घरको बीमा नभएकाले उनीहरुलाई थप क्षति भएको जनाउँदै सहयोग रकमप्रति आभार व्यक्त गर्नुभयो । हेम थापा र उहाँकी श्रीमती माया थापाले आफ्नै कमाइबाट हेम एण्ड माया फाउण्डेशन संस्था सञ्चालन गरी हाल २१ असहाय विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउँदै आउनुभएको छ । उक्त फाउण्डेशनमार्फत देशका विभिन्न ठाउँमा असहाय, पीडितलाई सहयोग गर्दै आएको बताइएको छ । आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै क्या बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?