logo
२०८१ बैशाख १४ शुक्रवार



स्थानीय निर्वाचन : चितवन काँग्रेसले सबै वडामा प्रतिनिधि खटायो

प्रदेश |


स्थानीय निर्वाचन : चितवन काँग्रेसले सबै वडामा प्रतिनिधि खटायो


चितवन, चैत ११ गते । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । काँग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो ।


जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ । खनालको भनाइमा ती प्रतिनिधि यही चैत १२ गते बिहानदेखि आ–आफ्नो वडामा खटिने छन् । ‘घर जाऔँ, काँग्रेस जिताऔं’ अभियानअन्तर्गत वडा कमिटी र कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्नेछन् । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले काम गर्ने खनालले जानकारी दिनुभयो ।

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीलाई खटाइएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् । अधिकांश वडामा टोल समिति गठन भइसकेको छ । शनिबार बिहान ११ः३० बजे एकैसाथ जिल्लाका ९८ वडामा अभियान सुरु गरिनेछ ।

पार्टीले फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ । जिल्लामा नेपाली काँग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार छ । सात पालिकाका ९८ वडामध्ये गत निर्वाचनमा काँग्रेसले ३५ वडामा जितेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व काँग्रेसले गुमाएको थियो । खनालले भन्नुभयो, “जिल्लाको स्थानीय तहमा वर्चस्व कायम हुने गरी अभियान थालेका छौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?