logo
२०८१ मंसिर ९ आईतवार



स्वास्थ्य चौकी निर्माण

प्रदेश |


स्वास्थ्य चौकी  निर्माण


म्याग्दी,चैत १३ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कुल रु. ३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो ।

भवन निर्माणका लागि धवलागिरिले रु. २६ लाख र गुड नेवर्स इन्टरनेशनल नेपालले रु. आठ लाख ३९ लाख ८३७ सहयोग गरेका उपभोक्ता समितिका सचिव गणेश खत्रीले बताउनुभयो । “धारापानी काठमाडौँ समाजको रु. १० हजार, धारापानी मगर सङ्घको रु. २५ हजार, सिर्जनशील हिमाली युथ क्लबको रु. १० हजार लगानी भएको छ”, उहाँले भन्नुभयो, “भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ ।”

साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकमस्थित वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक भएपछि विसं २०७७ माघमा धारापानीमा स्वास्थ्यचौकी स्थापना भएको थियो । किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गरिएको थियो । एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी रहेको स्वास्थ्यचौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका वडाध्यक्ष कलानिधि सुवेदीले बताउनुभयो ।

“भवन निर्माण भएपछि स्वास्थ्यचौकीको सेवाप्रवाह सहज भएको छ”, उहाँले भन्नुभयो, “प्रशासनिक, औषधि भण्डारण, बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र स्वास्थ्यकर्मीका लागि छुट्टाछुट्टै कक्ष बनाइएको छ ।”

भवन बनाउन सघाएको गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरि र २०२१ देखि मालिका गाउँपालिकामा सङगम म्याग्दी र कदम म्याग्दीमार्फत एकीकृत सामुदायिक विकास परियोजना सञ्चालित छ । सङ्गमले शिक्षा, आयआर्जन साथै बालअधिकार बाल संरक्षणलगायतका क्रियाकलाप सञ्चालन गरेको छ । कदम म्याग्दीले स्वास्थ्य तथा सरसफाइसम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?