logo
२०८१ बैशाख ७ शुक्रवार



चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

प्रदेश |


चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो


म्याग्दी, चैत २३ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ ।

गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु. ७१ लाख ७१ हजार र समुदायको रु. दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन थापाले भवन निर्माणपछि विद्यार्थीलाई पर्खाल चर्किएर जीर्ण बनेको भवन र चौरमा राखेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ ।

विसं २०७७ असारमा भूमिगत पहिराका कारण धारापानीको ढाडटोलमा रहेको विद्यालयको २० कोठे भवन, ६ वटा शौचालयमा क्षति पुगेको थियो । ढाँडटोलका ७५ परिवार भूमिगत पहिराको जोखिममा छन् । धारापानीको किमबोटमा विद्यालय भवन निर्माणका लागि चक्रबहादुर थापा, उहाँका भाइ क्याप्टेन पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुवा चन्द्रबहादुर र आमा कुन्तादेवी थापाको नाममा ६ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराउनुभएको थियो । यसैगरी लालबहादुर थापा, कुलबहादुर थापा र अर्जुन थापाले पनि जग्गा उपलब्ध गराउनुभएको थियो ।

मूल सडकबाट जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय सूर्यबहादुर थापा, वेदबहादुर थापा, झकबहादुर पुर्जा, शेरबहादुर थापा, खिमदल थापा, मनबहादुर थापा, चन्द्रबहादुर थापा र महादेव थापाले जग्गा उपलब्ध गराउनुभएको छ । जग्गादाताको सम्मान गर्दै विद्यालयको नाम किसानी चन्द्रकुन्ता मावि राखिएको छ । प्रधानाध्यापक धु्रवबहादुर भण्डारीका अनुसार विद्यालयमा २२८ विद्यार्थी अध्ययनरत छन् ।

यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा चारकोठे भवन निर्माण गरिएको थियो । भवन परिसरमा गुड नेवर्स इन्टरनेशलको रु. नौ लाख ५९ हजार, धवलागिरि गाउँपालिकाको रु चार लाख ४५ हजार र समुदायको रु. एक लाख ९६ हजारको लागतमा शौचालय निर्माण गरिँदैछ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरि र २०२१ देखि मालिका गाउँपालिकामा सङ्गम म्याग्दी र कदम म्याग्दीमार्फत एकीकृत सामुदायिक विकास परियोजना सञ्चालनमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?