logo
२०८० चैत्र १६ शुक्रवार



हरसिद्धि जात्रा सुरु

प्रदेश |


हरसिद्धि जात्रा सुरु
फाइल तस्बिर


बनेपा, चैत २९ गते । ललितपुरको हरसिद्धि गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ । सो क्रममा त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा (भेडा)को बलि चढाइ पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु¥याएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।

मेलाका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यका अनुसार आज बिहानैदेखि नाचगान सुरु भएको छ भने दिनभरिमा पञ्चबलि (थुमा, बोका, राँगो, हाँस र माछा)को बलि दिइन्छ । बुधबार जात्रा समापन गरी आगामी वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात देवगणहरू फर्किने कार्यक्रम रहेको जात्रा व्यवस्थापन समितिले जनाएको छ । साठी वर्षदेखि पनौतीमा पनि मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तररूपमा मनाउन नसकेको अवस्थामा सोमबारबाट पुनः जात्रा सुरु भएको समितिले जनाएको छ । यसअघि विसं २०६६ मा जनसहभागिताबाट रकम सङ्कलन गरेर जात्रा सञ्चालन गरेकामा त्यसको ठीक १२ वर्षपछि सोमबारबाट जात्रा सुरु भएको समितिका संयोजक सुरेश सैँजूले जानकारी दिनुभयो ।

स्वच्छ मनले एउटा मात्रै चिज मागेर त्रिशक्ति देवीको पूजा गरेमा त्यो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ । करिब दुई हजार वर्ष पहिले प्रारम्भ भएको मानिने हरसिद्धि नाच राजा विक्रमदित्यद्वारा सुरु गरिएको बताइएको छ ।


पनौती नगरपालिकाले १२ वर्षको एकपटक लाग्ने हरसिद्धि जात्रा मनाउनका लागि सार्वजनिक आज बिदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वको पनौती बजारमा हुने जात्राका अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो ।

नगरपालिकाको यही चैत २५ गते बसेको बैठकले आज नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?