logo
२०८१ जेष्ठ १२ शनिवार



खडा भयो जुनार चोक !

शनिवार |


खडा भयो जुनार चोक !


 फणीन्द्र फुयाँल ‘ज्वाला’

सिन्धुली जिल्लालाई जुनारको राजधानी भनिन्छ । हिउँदमा यहाँका ग्रामीण इलाकाका कान्ला र बारीमा लटरम्म फलेका पहेँलपुर जुनार देख्दा मनै अघाउँछ । तर अब सिन्धुलीमा बोटमै पाकेका पहेँला जुनार हेर्न हिउँद कुरिरहनु नपर्ने भएको छ । सिन्धुलीको बीचबजारको लोकतान्त्रिक चोकमा फलेको छ ‘विकासे जुनार !’
केही महिनाअघि सिन्धुलीको खम्बेचौर अर्थात् लोकतान्त्रिक चौरको गुलमोरको रुख रातारात ढालिएथ्यो । त्यो रुखको चर्चा सेलाउन नपाउँदै सोही स्थानमा कमलामाई नगरपालिकाले सिन्धुलीको पहिचान झल्किने जुनारको प्रतिमा निर्माण गरेको हो । रहरलाग्दा तीन दाना जुनार दिनमा भन्दा रातमा टिलिक्क टल्किएर झन् स्वादिला देखिन्छन् ।
पञ्चातकालमा राजाको सवारीका बेला सिन्धुलीको सडक किनारका जुनसुकै रुख पनि जुनार पाकेर पहेँलपुर भएका देखिन्थे रे ! राजालाई सिन्धुलीमा जुनारै जुनारको जङ्गल भएको र जुनारबाहेक अरू रुखै नभएको जस्तो अनुभव गराइन्थ्यो रे ! जुनार र अनारमा सिन्धुली अग्रणी भए पनि अन्य फलफूल हुँदै नहुने भन्ने होइन र पूरै जङ्गल नै जुनारमय भएको सिन्धुलीको पहिचान पनि होइन ।
सडक निर्माण, विद्युतीकरण, रेल्वे लिक सर्भे, पेट्रोलियम पाइप लाइन निर्माण, भवन निर्माण आदिका नाममा प्राकृतिक स्रोत साधनको दोहन हुने क्रम पछिल्लो समय अत्यधिक रूपमा बढ्दो छ । चुरेक्षेत्र दिनानुदिन उजाड बन्दै गइरहेको छ । वातावरणीय दृष्टिले यो समस्याले विकराल रूप लिँदै गइरहेको छ ।
विकासका नाममा निर्माण गरिने यस्ता सिमेन्टका संरचनाले वातावरणलाई नै खिज्याइरहेझैँ अनुभव हुन्छ । ‘रुख रोपौँ, हरियाली जोगाऔँ, रुख रोपौँ भूक्षय रोकौँ, रुख रोपौँ वातावरण सफा पारौँ’ जस्ता अनेकौँ नारा हामीले जान्दैदेखि सुन्दै, पढ्दै र लेख्दै आएका हौँ । देशमा लोकतान्त्रिक गणतन्त्र घोषणापछि हरेक जाति, समुदाय, भूगोल, क्षेत्र र धर्मले आफ्नो पहिचानको मुद्दा जोडतोडले उठाउने गरेका छन् । पहिचानकै लागि भन्दै विशेषगरी देशका विभिन्न पहाडी जिल्लामा लालीगुराँस, ढाडे बिरालो, काउली, एभोकाडो, सुन्तला, लसुन, तोङ्बा, कलश, एकसिङ्गे गैँडा आदिका प्रतिमा निर्माण गर्ने क्रम तीव्र रूपमा बढिरहेको छ ।
एक हिसाबले यी वस्तुको निर्माण गरेर आफ्नो जिल्ला तथा क्षेत्रको पहिचान स्थापना गर्नु राम्रो होला तर सोही स्थानमा भइरहेको रुख नै ढालेर सिमेन्टको प्रतिमा बनाउनु चाहिँ कत्तिको शोभनीय कुरा हो ? पहिचान खोज्ने र बजारको बीचमा शीतल छहारीले शोभा दिइरहेको रुख काट्नेहरूलाई यो प्रश्न यतिबेला सिन्धुलीका हरेक वातावरणविद्ले सोध्ने गरेका छन् । एउटा गुलमोरको रुख काटिनु ठूलो चिन्ता र चासोको विषय होइन तर विकास र पहिचानका नाममा यसरी प्रकृतिमाथि निरन्तर दोहन गर्ने प्रवृत्तिचाहिँ ठूलो समस्या हो ।
जसरी प्रत्येक मानिसको आफ्नो पहिचान र स्वभाव हुन्छ, त्यसैगरी प्रत्येक देश, प्रत्येक प्रदेश र प्रत्येक जिल्ला, गाउँ, टोल र गल्लीको पनि आफ्नो विशेषता र पहिचान हुन्छ । आफ्नो जिल्ला र क्षेत्रको पहिचान झल्काउने काम पनि स्थानीय जनता र प्रतिनिधिहरूकै हो । तर त्यसका लागि सबै सरोकारवालाको सल्लाह, सुझाव, प्रतिक्रिया र अनुमति लिएर काम गर्दा त्यसले लोकतान्त्रिक पद्धति, लोकतान्त्रिक मूल्य र मान्यता अनि संस्कार पनि अँगाल्ने थियो । बजारको बीचमा जुनारको प्रतिमा ठडिएपछि सिन्धुलीवासीहरू प्रश्न गर्न थालेका छन्– यदि त्यही खम्बेचौरीमै सालिक बनाउनु थियो भने किन बजारको सौन्दर्यका रूपमा रहेको चौतारो मासेर सालिक बनाउने निर्णयमा नगरपालिका पुग्यो ? चौतारो नमासिकन त्यसैको छेउमै सालिक बनाउन पनि त सकिन्थ्यो होला । चौतारोले दिएको सौन्दर्य सालिकले नदिएको र सालिकले दिएको सौन्दर्य चौतारोले दिन नसकेको जिल्लावासी बुद्धिजीवी, पत्रकार तथा वातावरणविद्हरूको भनाइ छ ।
रुख मासेर कङ्क्रिटका संरचना ठड्याउनु मात्र विकास हो भन्ने मानसिकता अब सिन्धुलीको लोकतान्त्रिक चोक तथा खम्बेचौरमा प्रमाणित भएको छ । मौसम र बेमौसम दुवै समयमा यो ‘विकासे जुनार’ अब सधैँका लागि फलिरहनेछ । चपौलीका एक स्थानीयले भने– ‘जुनार सुपर जोन’ का किसान बिरुवा, कीटनाशक औषधि, बजारीकण, आदिबाट उत्पीडित छन्, यताको जुनारको बोट भने न कहिल्यैै बूढो हुन्छ, न मर्छ, न औषधि छिट्नुपर्छ, न त बजारीकरणकै झमेला, निरन्तर फलिरहन्छ मात्र तीन दाना ।’ बजारको चोकमा, दोबाटो वा चौबाटोमा र राजमार्गका बीचमा निर्माण गरिने यस्ता सिमेन्टका विकासे संरचनाले खासखास भूगोलको पहिचान स्थापित त गरेका छन् नै तर त्यस्ता संरचना निर्माण गर्नका लागि बगैँचा र पार्क नै मास्नु कति शोभनीय हुन्छ ? यो प्रश्नको उत्तर खोज्ने र निर्णय लिने जिम्मा भने स्थानीय सरकारमै छ !
विकास पत्रकारिता र वातावरण पत्रकारिताले पनि यसरी गरिने विकासलाई साँचो अर्थमा विकास मान्दैन । कुनै पनि विकास निर्माण कति आर्थिक खर्चमा गरियो भन्दा पनि त्यो कति मानिसलाई सेवा पु¥याउने उद्देश्यका साथ निर्माण भयो र त्यसबाट कति जनता लाभान्वित भए भन्ने कुरामा विशेष जोड दिन्छ । कुनै पनि विकास निर्माणले वातावरणीय अनुकूलता वा प्रतिकूलता के सिर्जना ग¥यो, त्यो नै प्रमुखताका साथ हेरिन्छ र साँचो अर्थमा विकासलाई वातावरणीय आँखाले हेरेर मूल्याङ्कन गरिन्छ । प्रकृति नै हरेक वस्तुको जननी भएकाले अहिलेको सन्दर्भमा विकासप्रेमी, वातावरणविद्, योजनाकार र विकसित भनिएका राष्ट्रहरूले ‘ब्याक टु नेचर’ (प्रकृतिमै फर्कौं) को अवधारणा अगाडि सारेर काम गर्न थालिसकेका छन् तर हामी चाहिँ अलमलको यात्रामा रुमल्लिरहेका छौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?