logo
२०८१ मंसिर ६ बिहीवार



‘अर्को कुरूक्षेत्र’मा रङ्गशिल्प

शनिवार |


‘अर्को कुरूक्षेत्र’मा रङ्गशिल्प


 प्रा.डा. सावित्री कक्षपती

नेपाली रङ्गकर्ममा अहिले ‘अर्को कुरूक्षेत्र’ नाटक मञ्चन भइरहेको छ । सर्वनामले आफ्नो रङ्गमञ्चमा महिला सशक्तीकरणको आवाजलाई बुलन्द रूपमा उठाइरहेको छ । विक्रम संवत् २०७६ साउन २४ गतेदेखि भदौ २१ गतेसम्म बिहीबारबाहेक निरन्तर र शनिबार अतिरिक्त शोसमेत लिएर ‘अर्को कुरूक्षेत्र’को जीवन्त प्रस्तुति भइरहेको छ । चलचित्र क्षेत्रका सफल कलाकार उषा रजकको बहुमुखी भूमिकाबाट आजका छोरीचेली र महिलाका जीवनको कहालिलाग्दो ध्वनि यो नाटकमार्फत गुञ्जिरहेको छ । नाटक मञ्चनका स्पष्ट दुई पक्ष हुन्छन्– नाटकले उठाएको विषय र त्यो विषयलाई प्रस्तुत गरिने कथा वाचन शैली । निर्देशकले नाटकलाई प्रस्तुत गर्ने शैली आ–आफ्नै हुन्छन् । कोही यथार्थ शैलीबाट प्रस्तुतिलाई अगाडि बढाइरहेको हुन्छ भने कोही अयथार्थ शैलीमा आफ्नो प्रस्तुतिलाई पस्किरहेको हुन्छ । रङ्गमञ्च निर्माण र दृश्यविधानले थाहा पाइहालिन्छ कि त्यो कुन शैलीको प्रस्तुति हो भनेर । नाटक हेर्दा दर्शक रङ्गमञ्चमा देखिएको प्रस्तुति शैलीको बाटो हुँदै विषयमा प्रवेश गर्ने मार्ग खोजिरहन्छन् । यसक्रममा प्रस्तुतिले उठाएको मुद्दामा कस्तो विषयको प्रवेश भएको छ भन्ने कुरामा आफूलाई केन्द्रित गर्दै नाट्य प्रस्तुतिको आस्वादन गर्ने गर्दछन् ।
सम्पदा मल्लको कथामा आधारित यो नाटकको विषय परापूर्वकालदेखि आजको २१औँ शताब्दीको समयसम्म आइपुग्दा महिलाले भोग्नुपरेका विविधखालका जटिल परिस्थितिसँग सम्बन्धित छन् । कहालिलाग्दो अवस्था छ, यहाँसम्म आइपुग्दा पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । सुरुदेखि नै आफ्नो स्थितिप्रति असन्तुष्टि जनाउँदै उठाइएका आवाजहरू दबाइएका छन् । समस्याको विरोधमा जति आवाज उठायो, उति झन् नयाँखालका समस्या सतहमा देखिन थालेका छन् । नारीका बारेमा जति लेखिए, ती सबै नारीको शारीरिक कमजोरीलाई नै आधार मानेर लेखिए । त्यहीअनुसारको कथित औपचारिक र अनौपचारिक अवधारणा र व्यवहारले छोरीभित्रको बौद्धिक क्षमता ओझेलमा पर्दै गयो । महिलाको त्यही स्थितिलाई कमजोरी मानेर त्यसलाई नै लेखनको विषय बनाइँदै लगियो । त्यसैअनुसारको बनाइएको परिभाषा वा भनौँ सीमाभित्र हाम्रा छोरीचेलीहरू बाँधिन पुगे । फेरि परिणाम त्यही द्रौपदी र सीताको जस्तै जीवन भोगाइ ! ‘सहू तिमी बडो हुन्छ सजिलो’को मर्यादा सिकाएर परनिर्भर बनाइएका छोरीचेलीको अन्तरआत्माले अब भने आफ्नै मौलिक आवाज सुन्न थालेको छ । आफ्नो कथा अब अरू कसैलाई भन्न नदिएर ‘आफू के हुँ र को हुँ’ भनी आफ्नो बारेमा आफैँ लेख्न कस्सिएकी छन् आजकी छोरीचेली नाटक ‘अर्को कुरूक्षेत्र’मा ।
नाटकले तथाकथित संस्कार र साँस्कृतिकताले बनाएको त्यो सत्तालाई प्रश्न गरिरहन्छ, जसले समाजमा छोरीचेलीलाई बन्धक बनाइरह्यो । आजका छोरीचेलीले महाभारत र रामायण पढ्दा र सुन्दा द्रौपदी र सीताको कथाले उनीहरू पिरोलिन्छन् । अनुभूत गर्छन् उनीहरूका पीडा र वेदना अनि छटपटी । सभ्यताले विकास गरिरहेको आजको वर्तमान समयमा पनि छोरीचेलीको लडाइँ र सङ्घर्ष जारी छ । मात्र पीडा दिइने प्रवृत्ति र शैलीमा परिवर्तन देखिन्छ । पीडा आखिरमा पीडा नै हो ! द्रौपदी र सीताको पौराणिककालीन पीडा आजका उत्तरआधुनिक समयको जीवन बाँचिरहेका द्रौपदी र सीताका बेग्लैखालको पीडामा रूपान्तरित भएको छ । आजकी छोरीचेली यही लडाइँ लड्दालड्दै आफ्नो बारेमा लेखिएका परम्परागत दस्तावेज च्यातिदिएर यो लडाइँलाई निरन्तरता दिने कुराको उद्घोष गरेको छ– नाटकको कथ्यले ।
यो नाटकको प्रस्तुति पक्षलाई हेर्दा यो अयथार्थ रङ्गकर्ममा उत्रिएको देखिन्छ । उपर्युक्त विषयलाई वरिष्ठ नाट्य निर्देशक अशेष मल्लले रङ्गमञ्चीय प्रस्तुति दिनका लागि यसको परिकल्पना गर्नुभएको हो । उहाँले सम्पदा मल्लको कथालाई नाटकमा रूपान्तरण गरी निर्देशन गर्नुभएको छ । उहाँको मितव्ययी रङ्गमञ्चको शैली यहाँ देखिएको छ । फलस्वरूप यसको संयोजन विसङ्गत र प्रतीकात्मक रहेको छ । विभिन्न महिला पात्रको कोलाजमा प्रभावशाली विम्ब र प्रतीकको ओजिलो प्रयोग भएको छ । कतिपय ठाउँमा कलाकारका अभिनयमा माइम फर्मसँगै शारीरिक कलाको प्रयोग गरिएको छ । घटनाको कार्यव्यापारअनुसारको गतिविधिलाई अभिव्यक्त गर्नका लागि विभिन्न रङ्गका कपडालाई दृश्य सामग्रीका रूपमा प्रयोग गरिएको छ । ती कपडा कहिले द्रौपदीको सारी बनेका छन् भने कहिले दरबार, कहिले घरको ढोका, कहिले खोला आदिका रूपमा प्रयोग भएका छन् । त्यस्तै कहिले जेल, कहिले जीवनयात्राका बाधकको विम्बका रूपमा लठ्ठीको प्रयोग पनि पर्याप्त मात्रामा गरिएको छ । दृश्य सामग्रीमा लामालामा डोरीको प्रयोगले प्रस्तुतिलाई जीवन्त बनाइदिएको छ । मितव्ययी रङ्गशिल्पको यो विधानमा देखिएको प्रभावकारितामा निर्देशक मल्लको सिर्जनशील कल्पनाशीलता प्रतिविम्बित भएको छ । यसरी त्यति लामो कथा र कथाभित्रका गहन कथाहरूको प्रस्तुति पनि बोझिलो बनेको छैन । अर्को शब्दमा भन्नुपर्दा मितव्ययी रङ्गशिल्पको धारामा अगाडि बढाइएको यसको कथा वाचन शैलीबाट रङ्गमञ्च बोझिलो भएको देखिँदैन । नाटकका प्रत्येक दृश्य आफैँमा पेन्टिङजस्तो देखिएको छ । क्यानभासभित्र विभिन्न रङ्गहरूमा पोखिएको चित्रकारको सिर्जनाजस्तो लाग्दछ ।
कतिपय ठाउँमा अयथार्थ ढङ्गले कलाकारको शारीरिक हाउभाउबाट साङ्केतिक भाषामा कथा वाचन भइरहेको देखिन्छ । अभिनेताले बोल्ने संवाद कहिलेकाहीँ साधारणभन्दा क्लिस्ट देखिएको छ । यसबाट कथ्य सम्प्रेषण नहुने पो हो कि भन्ने खतरा देखिन्छ । तर यसमा लठ्ठी, डोरी र कपडालाई दृश्य सामग्रीका रूपमा विभिन्न किसिमले प्रयोगमा ल्याएको पृष्ठभूमिमा रहेका अन्य कलाकारका अभिनयले बुझ्नलाई सहज बनाइदिएको छ । जेलको दृश्य, खोलाको दृश्यलगायत अन्य दृश्यहरूले प्रस्तुतिको धार मितव्ययी बनेको स्पष्ट देखिन्छ । साथै डाँडामा गरेको आत्महत्याको दृश्य रङ्गमञ्चलाई अलिकति उचाइ दिएर गरिएको कोरियोग्राफीले सुन्दर बनाइदिएको छ ।
अतियथार्थ स्वैरकल्पनाको शैलीलाई अङ्गीकार गर्दै निर्देशक मल्लले विम्बात्मक दृश्यहरूको प्रयोग बढीभन्दा बढी गर्नुभएको छ । प्रस्तुतिको प्रारम्भदेखि अन्त्यसम्म कथ्यको घटनाको कार्यव्यापार र तिनको प्रवाहको गति एकैनासको छैन । विम्बको माध्यमद्वारा यहाँ दृश्यात्मक संयोजन गरी कथा वाचनलाई अगाडि बढाइएको छ । यसरी हेर्दा रङ्गमञ्चमा चित्रात्मक शैलीको कोलाजीय प्रस्तुति देखिन्छ । कथावस्तुको समयावधि हजार वर्षभन्दा बढीको रहेको छ । यसैले निर्देशकीय संयोजनमा गरिएको प्रयोगका माध्यमबाट कथ्यले गतिशीलता प्राप्त गरेको छ । दर्शकले प्रत्येक दृश्यको कथानक अलगअलग अनुभूत गर्दै समग्रतामा प्रवेश गर्ने वातावरण निर्माण गरिदिएको छ । परम्परागत कथ्यको गतिजस्तै एकैकिसिमको कथाको विकास यस नाटकमा देखिँदैन । एउटै कथ्यभित्र विभिन्न कथाहरूको प्रवेशले गर्दा दर्शकको ध्यान भङ्ग हुने खतरालाई मध्यनजर गर्दै प्रत्येक दृश्यको स्वरूपलाई चित्रात्मक प्रस्तुतिले सुन्दर देखिएको छ । हरेक दृश्य कुनै क्यानभासको चित्रकलाजस्तो देखिन्छ, जहाँ छोरीचेलीका कथा विभिन्न कोलाजमा पोखिएका छन् । यसमा कोरियोग्राफीको सचेत प्रयोगले रङ्गमञ्चको हरेक खण्ड गतिमान रहेको देखिन्छ । घटनाको कार्यव्यापार अनुसार गीत, सङ्गीत र ध्वनिको तत् प्रयोगले र कलाकारहरूको शारीरिक गतिको सहयोगले एउटै अभिनेत्रीबाट भएका विविध कथाप्रवाह सम्प्रेष्य बन्न पुगेको छ । साथै यसको अर्को सशक्त पक्ष भनेको राज शाहको प्रकाश परिकल्पना र कृष्ण खड्काको प्रकाश परिचालन रहेको छ । कलाकारहरूको संवाद प्रवाहमा बेलाबेलामा देखिने मौनता पनि भाषिक संवाद प्रवाहकै क्षतामा रहेर कथ्यलाई गति दिइरहेको देखिन्छ ।
नाटकमा केन्द्रीय भूमिकामा रहेकी उषा रजकको अभिनयको विविधता त्यत्तिकै सिर्जनशील र बेजोड रहेको छ । रङ्गमञ्चमा उत्रिएका विभिन्नखालका चरित्रका उहाँको ऊर्जाशील अभिनयले दर्शकको मन जित्न सफल भएको छ । चरित्रमा डुब्दै जाँदाको उहाँको संवाद प्रवाहले दर्शकलाई कुन चरित्रको कथा बगिरहेको छ भन्ने स्पष्ट बुझाएको छ । लेखकको भूमिकामा देखिएका पासलाक्पा शेर्पाको अभिनय पनि दमदार रहेको छ । कलाकारहरू मनोज महर्जन, हीरा हमाल, मुकेश हमाल, धीरज थापामगर, आरूषजङ्ग सारू, किन्दु बीएम, शोभा कार्की, रिया भारती, कसिना बोखिम लिम्बूको अभिनयबाट प्रस्तुतिमा भएका विम्बात्मक दृश्यविधानका लागि गरेको मिहिनेत स्पष्ट देखिन्छ । केन्द्रीय चरित्रको सहयोगी चरित्रका रूपमा भूमिका निर्वाह गरेर चरित्रलाई न्याय गर्दै दृश्यविधानमा देखिएका दृश्य सामग्रीलगायत अन्य प्रतीकात्मक विधानमा देखिएको उनीहरूको अभिनय उत्कृष्ट रहेको छ ।
राज शाहको मञ्च परिकल्पना र प्रमिला कार्की उप्रेतीको कोरियोग्राफीले कथ्यको घटना प्रवाहमा कहीँ पनि शिथिलता आउन दिएको छैन । यसले एकाकार भएर नाटक हेर्ने दर्शकको मनस्थितिलाई सहयोग पु¥याएको छ ।
यस नाट्य प्रस्तुतिबारे निर्देशक मल्ल भन्नुहुन्छ, ‘मितव्ययी रङ्गमञ्चको अवधारणामा काम गर्ने मेरो रूचिलाई प्रस्तुत नाटकमा पनि प्रयोग गर्ने प्रयास गरेको छु । एउटै कथाको प्रवाहमा कुनै अमूक पात्रका आरोह र अवरोहलाई अन्त्यसम्म डो¥याउने कथा होइन यो । कथाका अनेक मोडहरूमा अनेक पात्रहरू कोलाज भएर आएका छन् । ती कोलाजीय चरित्रलाई एकजना अभिनेत्रीले नै प्रतीकात्मक प्रस्तुति निर्वाह गर्नुपर्दा निर्देशकीय चुनौती महसुुस गरेको छु । यथार्थ कथ्यलाई अयथार्थ प्रस्तुतिको ढाँचा दिँदा सम्प्रेषणीय व्यवधान आउन सक्छ कि भन्ने डर छ । विम्ब र प्रतीक मेरा आधार हुन् । खासगरी चरित्र र कथानकको विसङ्गति प्रस्तुतिमा तिनको तारतम्य सरल रेखामा नबगोस् भन्ने मेरो चाहना हो । कथामा परम्परागत सोच र मानवीय अस्तित्वबीचको द्वन्द्व छ । यो कुनै दुई अमूक व्यक्तिबीच होइन, दुई समय र वर्गबीचको द्वन्द्व हो । प्रस्तुतिमा विद्रोहको अराजकता होइन, अस्तित्वका लागि गरिएको स्वाभाविक प्रयत्न होस् भन्ने मेरो निर्देशकीय चिन्तन हो ।’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?