जयदेव भट्टराई
म आफ्नो आत्मबलबाट डग्दिनँ भन्ने लाग्छ र यो विचारप्रति आफ्नो श्रद्धा र निष्ठाले गर्दा ममा मृत्युभय भएजस्तो मलाई लाग्दैन । अहिलेको धारणा त्यो हो तर पनि मृत्यु भनेको मृत्यु हो । चिलेका साल्भाडोर आयनले उनको मृत्युभन्दा केही महिनापूर्व दिएको एउटा अन्तर्वार्ता पढेको थिएँ– म मृत्युलाई रुचाउँदिनँ तर मृत्युसित डराउँदिनँ । मृत्युसित भाग्दिनँ भनेर भनेका थिए । सत्य कुरा त्यही हो । मृत्युलाई कोही पनि रुचाउँदैन । किनभने त्यसमा त्रास छ, जीवनको अन्त्य छ । मैले आज भोग्ने आनन्द के ? मैले भोग्ने आनन्द पढ्ने–लेख्ने कुरा हो, त्यसैबाट वञ्चित होइन्छ ......यो सन्तुष्टि छ, यो सन्तुष्टिबाट कुनै पनि क्षण मुक्त हुने इच्छा हुँदैन, अर्थात् मृत्युलाई रोज्ने पक्षमा कोही पनि छैन । म पनि छैन । परन्तु डराउन्न ...मैले देखाउने उपलब्धिको पनि सीमा छ नि । (मदनमणि दीक्षित, रूपरेखा, २०४२ असोज)
मृत्यु भएपछि पढ्ने–लेख्ने कामबाट वञ्चित होइन्छ भन्ने त्रासले मृत्युलाई नरुचाउने मदनमणि दीक्षित भनेजस्तै हुनुहुन्थ्यो पढ्ने–लेख्ने मामिलामा । लाग्छ– मदनमणि दीक्षितलाई पढेको र लेखेको (पछिल्लो समय लेखाएर) नदेख्नेहरू कमै होलान् । जीवन अक्षर साधनामै बिताउने उहाँ लेखनमा यस्तरी लाग्नुभयो कि जीवनको अन्तिम समयमा पनि लेखन र आफूले लेख्दै आएको कृति पूरा गर्ने सुरसारमा हुनुहुन्थ्यो । मृत्यु रोज्ने पक्षमा उहाँ हुनुहुन्थेन तर मृत्युले उहाँलाई रोजिदियो । एक साताको उपचारपछि घर फर्किनुभएको उहाँ घर फर्केको त्यही राति नै अस्वस्थ हुनुभयो र जनैपूर्णिमाको दिन अस्तायो उहाँको शरीर । जीवनको अन्त्य त मृत्युमा छ नै तर मदनमणि दीक्षित मृत्युपछि पनि बाँचिरहनु भएको छ, बाँचिरहनु हुनेछ । यसको आधार के त ? प्रश्न उठ्न सक्छ । मरेपछि मान्छे कसरी बाँचिरहन सक्छ ? मान्छे उमेरले होइन कृति र कीर्तिले बाँच्छ त्यसैले । लेखनको सन्दर्भमा मदनमणि दीक्षित अविस्मरणीय रहनुहुनेछ ।
छ वर्षको उमेरमै पेट बिग्रेर इन्तु न चिन्तु हुनुभएको बखत ‘मर्न लाग्यो’ भन्दै उहाँका अभिभावकले तीन पटकसम्म तुलसीको मठमा सुताएको पनि हो उहाँलाई । त्यतिबेला कालको मुखबाट उम्केर आउनुभयो । १५ वर्षको उमेरमा आफैँले मृत्यु रोज्नुभएथ्यो, त्यसका लागि भएको असफल प्रयासको पनि संस्मरण (गोरखापत्रमा) छ उहाँको– ‘मेरो मामाघरको हजुरबुबालाई चेसको अम्मलजस्तै थियो । चेस खेल्नका लागि उहाँले रु. १०० दिएर चेस खेल्ने मान्छे बोलाउनुहुन्थ्यो । मेरो बुबाले त्यो थाहा पाएपछि मावली बसेर पढ्ने पनि, हजुरबासँग चेस खेल्ने भनी बनारस पठाइदिनुभयो । त्यतिबेला म १५ वर्षको थिएँ, हजुरबुवा ७६ वर्षको । हजुरबुबासँग मैले ७ महिना चेस खेलेँ । हजुरबुबाको बानी थियो दैनिक तीन गेम मात्र खेल्ने र सधैँ सेतो गोटीमै खेल्ने । मैले जित्दा पनि हजुरबुबा क्रुद्ध हुने, हार्दा पनि रिसाउने । नेपालका पाँच प्रधानमन्त्रीलाई, औँलामा खेलाउने म, तँ थाङ्नामा मुत्न नछोड्ने केटोले मलाई हराउने, मलाई जिताउने भनेर गाली गर्ने, यातना दिने गर्नुहुन्थ्यो । हजुरबुबाको यातना सहन नसकी मैले पोखरीमा डुबेर मर्ने विचार गरेँ र राति नजिकैको पोखरीतिर लागेँ । म उठेर हिँडेको थाहा पाएर सँगै बस्ने जेठो बुबाको छोरा केशरमणि पछिपछि आउनुभएको रहेछ । म डुबेर मर्न भन्दै पोखरीको खुड्किलोमा गएको थिएँ, पछाडिबाट दाजुले कठालोमा छोप्नुभयो । के गर्न लागेको भनेर हप्काउनुभयो र फर्काएर लगी कोठामा सुताउनुभयो, त्यतिबेला त्यसरी दाजुले बचाउनुभएको थियो ।’
वि.सं. २०५८ मा पटकपटक हृदयाघात भएर पाँच दिनसम्म बेहोस हुँदा पनि मृत्युलाई जितेर अस्पतालबाट फर्कनुभयो । ९७ वर्षसम्म बाँच्न लेखेको जीवनमा पटकपटक कालको मुखबाट उम्कँदै आउन सफल हुने मदनमणि दीक्षित जीवनमा लेखेरै सफल हुनुभयो । उहाँले सोचेजस्तो हुँदो हो त डाक्टर बनेर बित्थ्यो उहाँको जीवन । केटाकेटी अवस्थादेखि नै डाक्टर बन्ने सपना तुहेथ्यो उहाँको । चाखको विषय गणितमा स्कुल भर्नाको प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि डाक्टर बन्ने सोच परिवर्तन गर्नुप¥यो । चिन्नेहरूले त वीरगञ्जस्थित त्रिजुद्ध स्कुलका ‘हेडसर’ भनेर पनि चिनिदिए र ‘माड्साब’ भनेर सम्बोधित हुनुभयो जीवनपर्यन्त । कम्युनिष्ट पार्टीमा लागेर बिताएका ४० वर्षे राजनीतिक जीवन पनि गाँसियो र चिनायो पनि । सौखिन फोटोग्राफर बनेर हिँडेका दिनहरू पनि थिए । पाँच दशकजति पत्रकारितामै बितेको जीवनको पक्ष अलग्गै छ, पहिचान अलग्गै छ । जोडिसाध्य र भनिसाध्य छैन उहाँको व्यक्तित्व । यही परिवर्तित सोचले नै अक्षरका साधकको रूपमा उहाँ चिनिनुभयो ।
मदनमणि दीक्षितको नाम लिनासाथ धेरैले ‘माधवी’, ‘भूमिसूक्त’ उपन्यासको चर्चा गरिहाल्छन् । भनौँ, मदनमणि भन्नासाथ ‘माधवी’, ‘माधवी’ भन्नासाथ मदनमणि उहाँको चिनारीको शिखर हो । धेरैले जानेको र मानेको पक्ष यही नै हो तर उहाँ स्वयंको विचार भने भिन्न थियो । पछिल्लो भेटमा उहाँले भन्नुभएको थियो– आकारले साना भए पनि मेरा ‘त्रिदेवी’, ‘मेरी नीलिमा’ माथिल्लो स्तरका छन् ।
‘बढ्दो उमेरसँगै उहाँ (बुबा)आफूलाई मनपरेका आफ्नै कृतिका बारेमा समय समयमा कुरा फेरिरहनुहुन्थ्यो,’ मदनमणि दीक्षितका छोरा–लेखक, पत्रकार विनोदमणि दीक्षितको गुनासो छ । कतिपयलाई उहाँले ‘दश लाख हिरोसिमातिर’ भन्ने कृतिलाई आफ्नो उत्कृष्ट कृति भन्नुभएको छ । मलाई लाग्छ, राष्ट्रिय सन्दर्भमा मेरी नीलिमा, अन्तर्राष्ट्रिय सन्दर्भमा माधवी, भूमिसूक्त नै उहाँका माथिल्लो कोटीका कृति हुन् । बढ्दो उमेरले गर्दा जीवनका पछिल्ला केही वर्ष बुबाको स्वभावमा केही परिवर्तन आउन थालेको थियो, एक किसिमको हठी स्वभाव देखाउन थाल्नुभएको थियो । सानासाना कुरामा पनि हठ देखाउने । जीवन अक्षरमै बिते उहाँका, यसैलाई सर्वस्व ठानेर घर–व्यवहारमा कहिल्यै चासो पनि दिनुभएन । सम्पन्न परिवारमा जन्मिए पनि समयको कालखण्डमा नुन–चिउरा खाएर जीवन बिताएका पीडादायी समय पनि व्यहोर्नुप¥यो हामीले । विनोदमणि दीक्षितले चिनेको मदनमणि दीक्षित अलि भिन्न लाग्छ उहाँलाई । ललितपुरको भैँसेपाटीमा भाइ प्रमोद, आमोदसँगै क्रियामा बस्नुभएका विनोद दीक्षित आफ्ना पिताजीको कमजोरी चाहिँ मान्छेको अगाडि बोल्न नसक्ने, लेखेर चाहिँ छाला काढ्ने बानीलाई ठान्नुहुन्छ । मेरा पिताजीलाई विश्वबन्धु थापाले धेरै दुःख दिएथे, उहाँलाई भेट्दा बुबा खुसी भएर कुरा गर्नुहुन्थ्यो, उहाँ गएपछि लेखेर चर्को विरोध गर्नुहुन्थ्यो । जीवनका पछिल्ला वर्षहरूमा लेखिएका केही कृतिको प्रकाशन नगरिदिए हुन्थ्यो भन्ने हामीलाई लागेको हो तर प्रकाशमा ल्याइदिनुभयो । साहित्यमा आफ्नै स्थान बनाउनुभएकी इल्या भट्टराईको बुबाप्रतिको बेग्लै बुझाइ छ । साहित्यमा कहिले प्रोत्साहन गर्नुभएन, उहाँमा घरेलु स्वभाव पटक्कै थिएन । २०५९ सालमा अतृप्ति कथा सुनाएपछि भने राम्रो लेख्दीरहिछौ भनेर प्रोत्साहित गर्नुभयो । बुबाको नाम जोडिएकाले नै साहित्यमा म चाँडै चिनिएकी हुँ । २०७५ मा प्रकाशित मेरो ‘दक्षियाण’ पढेपछि मेरो प्रशंसक नै हुनुभयो र यसलाई हिन्दीमा अनुवाद गर भन्नुभयो ।
लेखेर नथाक्ने र धेरै लेख्नसक्ने लेखकको परिचय बनाउनुभएका मदनमणि दीक्षित अस्पतालको शय्यामा बस्दा पनि आफ्ना अपूरा कृति पूरा गर्ने सुरसारमा हुनुहुन्थ्यो । निमोनियाका कारण एक साताअघि सुमेरु अस्पताल भर्ना हुनुभएका उहाँले आफ्ना सहयोगी हिमाल जिसीलाई आफूले लेख्दै गरेको जीवनको उहापोह नामक कृति पूरा गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । साथै, पहिलेदेखि लेख्दै आइरहनुभएको दैनिकीलाई पनि । वि.सं. १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा जन्मिनुभएका, झण्डै आठ दशकदेखि निरन्तर लेख्दै आइरहेको उहाँको ९७ वर्षे जीवन काठमाडौँको हिमाल नर्सिंङहोममा जनैपूर्णिमाको एकाबिहानै अस्ताएपछि अक्षरका साधक मदनमणि दीक्षितको लेखन थामिन पुग्यो ।
‘लेख्न सक्दिनँ भन्दाभन्दै पनि निरन्तर लेखिरहेको छु, नलेखी बस्नै सक्दिनँ । आँखा कमजोर हुँदैछन्, कान कमजोर हुँदैछन्, शरीर गलिसक्यो मलाई थाहा छ म दिन प्रतिदिन मृत्युको नजिक पुगिरहेको छु भन्ने अनुभव भइरहेको छ मलाई । तथापि लेख्ने काम छुट्दैन, लेख्ने कुरा धेरै बाँकी छन्’ उहाँले भनेजस्तै गर्नुभयो, लेख्ने काम छुटेन, मृत्युको नजिकसम्म आइपुग्दा पनि लेखनमै मन दिनुभयो । सन् १९४१ मा बनारस पढ्न बस्दा श्रीमद्भगवद्गीताको पहिलो अध्यायको नेपाली अनुवाद गरेर थालिएको साहित्य यात्रा मधुपर्क मासिकको २०७६ वैशाख अङ्कमा प्रकाशित मधु विवाह (अनुभूति) सम्म आइपुग्दा लेखनको इतिहास नै आठ दशकको बन्न पुगेछ । पछिल्लो समय मेरी माता (२०७५), जय पराजय (२०७२) नामक कृति अघि उहाँका कसले जित्यो कसले हा¥यो (२०२१), हाम्रा ती दिन (२०२७), मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ (२०३२) लाखौँ शिशु लिफ्ट मागिरहेका छन् (२०३४), माधवी (२०३९), बर्लिन डायरीका पाना (२०४१), ग्यास च्याम्बरको मृत्यु (२०४२), चरैवेती (२०४४), त्यो युग (२०४७), द्रौपदी र सीता (२०४९), विदुषी गार्गी (२०४९), मेरी नीलिमा (२०५०), जेण्डा (२०५१), त्रिदेवी (२०५१), विश्वका प्रथम वैज्ञानिक उद्दालक आरुणी, हाम्रा प्राचीन नारी, भूमिसूक्त (२०५८), श्वेतकाली (२०६०) जस्ता कृति प्रकाशित भइसकेका छन् । उहाँले अनुवाद गर्नुभएको दश लाख हिरोसिमातिर (२०४०), किन्काकुजी (२०४५) आदि कृति पनि प्रकाशित भइसकेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएर काम गर्दागर्दै नवयुग पत्रिकासँग आबद्ध हुनुभएका दीक्षितले २०१४ सालमा महिनाको ३०० रुपियाँ तलब खाने गरी ‘हालखबर’ दैनिकमा जागिर खाएपछि थालिएको पत्रकारको जीवन ‘समीक्षा’ साप्ताहिकको सम्पादकको रूपमा अलग छवि बनाउँदै २०५२ सम्म निरन्तर चलिरह्यो । वि.सं. २०१६ सालको चैतदेखि ‘समीक्षा’ साप्ताहिकमा संलग्न उहाँले आर्थिक अवस्थाको कारण बन्द गर्नुपरेको यथार्थ मात्र होइन, प्रकाशनका क्रममा पटकपटक गरी नौ पटकसम्म समीक्षा बन्द गर्नुपरेको, दुई पटक जेल बस्नु परेको, कहिले प्रहरी हिरासतमा रहनुपरेको तीतो विगत पनि सँगाल्नु परेथ्यो । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा उपकुलपतिसम्म बन्नुभएका दीक्षितले साहित्य साधना र सिर्जनामा लागिपरेर मदन पुरस्कार र साझा पुरस्कार (२०३९, माधवी उपन्यासका लागि),आदिकवि भानुभक्त पुरस्कार, बसुन्धराश्री, शंकर कोइराला स्मृति पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, पहलमानसिंह स्वाँर दीर्घ साहित्य सम्मान, पाण्डुलिपि पुरस्कार आदि पाइसक्नुभएको थियो । पत्रकारितामा योगदान दिएबापत पे्रस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, इमेज एसियन पेण्ट्स मिडिया सम्मान पनि पाउनुभएको थियो ।
साहित्यमा अब्बल कृति सिर्जिएको थलो, समीक्षाको प्रकाशन र सम्पादन हुने थलो काठमाडौँको कालिकास्थानस्थित उहाँको घर यतिखेर सुनसान छ । मदनमणि दीक्षितको कर्मघरको रूपमा परिचय बोकेरै चिनिनेछ त्यो घर । त्यही घर जहाँबाट उहाँका साधनाका साढे पाँच दशक बिते, त्यही घर जहाँ समीक्षाको थलो बन्यो, लेखक साहित्यकार, पत्रकार, राजनीतिज्ञ सबै पुग्ने थलो बन्यो । लाग्छ– पछिल्लो पुस्ताले समेत पढ्नेछन् उहाँका कृतिलाई, चिन्नेछन् मदनमणि दीक्षितको घर भनेर । यतिखेर भने धेरैको मन दुःखी बनेको छ एउटा अथक साधक गुमाउनुपर्दा ।