श्रीबाबु कार्की उदास
अक्सर मानिस यही कुरा भनिरहेका हुन्छन्, ‘प्रेम अमर विषय हो ।’ कसले भन्न सक्छ र ‘पे्रम अमर विषय होइन, । यो क्षणिक र क्षणभङ्गुर कुरा हो ?’ प्रेम निरर्थक हुँदै होइन । यो सार्थक र सर्वव्यापी रूपमा फैलिएको छ । लहरिएको छ । झाँगिएको छ । अनि अनन्त–अनन्तसम्म फैलिरहनेछ । फूलिरहनेछ । यद्यपि, औसत मानिस घृणाका कुटिल आँखाले हेर्छन् प्रेमलाई । त्यो सर्वथा भ्रम हो, भ्रान्ती हो । मलाई यो घोर आश्चर्य अनि पूर्वाग्रही दृष्टिकोण हो भन्ने लाग्छ ।
प्रेमलाई घृणाको आँखाले हेर्नुहुँदैन । प्रेमलाई प्रतिशोधको आँखाले हेर्नुहुँदैन । प्रेमलाई स्वार्थका आँखाले पनि हेर्नुहुँदैन । पे्रमलाई विचार÷वाद÷सिद्धान्त÷रङ्ग÷जात÷धर्म÷संस्कृति कुनै पनि कुराभन्दा माथि रहेर सोच्नुपर्छ । प्रेम निर्बन्ध हुन्छ । प्रेम स्वतन्त्र हुन्छ । प्रेम प्रकृतिजस्तै सर्वाङ्ग छ । सर्वाङ्ग छ र त सुन्दर छ– प्रेम । हामी स्वार्थी छौँ । प्रेम निःस्वार्थ छ । जब हामी स्वार्थ राख्छौँ र प्रेममाथि नकारात्मक सोच राख्न थाल्छौँं, प्रेम आँखाको गहिराइमा प्रतिविम्बित हुन्छ । प्रेम हृदयको अन्तरकुन्तरमा अनुगुञ्जित हुन्छ । प्रेम हरेक जीव–जीवात्माको जीवनसँग लहरिरहेको हुन्छ । प्रेममा घृणा हुन्छ । घृणामा प्रेम हुन्छ । जसरी प्रेमको प्रतीक गुलाफको फूलमा काँडा र फूलको अस्तित्व हुन्छ । काँडा र फूलमा सापेक्षता छ प्रेमको ।
मानवीय जीवन त झनै प्रेमको अमूल्य पर्याय हो । हामी अनुपम प्रेमको विकल्पमा पलपलको पनि परिकल्पना गर्न असमर्थ हुन्छौँ । म हेर्छु– प्रकृतिका हरेक रङ्गहरूमा जहाँ छताछुल्ल प्रेम फैलिएको छ । रातसँग दिनको प्रेम छ । दिनसँग रातको प्रेम छ । साँझसँग बिहानको प्रेम छ । प्रेमको लहरा लहरिएको जहींँतहीँ ।
प्रेम प्रकृतिको अनुपम बवरदानमात्रै नभएर, यो ब्रह्माण्डको गतिलाई थाम्ने एउटा दर्बिलो मियो पनि हो । एकैछिन आफ्ना दुई नेत्रलाई चिम्म गर्नुहोस् र प्रेमबिवनाको यो सृष्टि कल्पना गर्नुहोस् त । यो पूर्ण रूपमा असम्भव छ । प्रेमविनाको संसार कल्पनै गर्न सकिँदैन ।
यो संसारमा कुनै एकपलमात्रै प्रेम रहेन वा प्रेम भएन भने आमाको न्यानो वात्सल्यमय काखमा बसेर स्तनपान गरिरहेको अबोध शिशु फ्यात्त भुँइमा झर्छ । अन्तरीक्षमा प्रेमले झुन्डिएको पृथ्वी खुत्रुक्क कुनै गड्तीरमा झर्छ र समाप्त हुन्छ ।
प्रेम छ, प्रत्येक हृदयमा फरक–फरक । प्रत्येक मस्तिष्कमा फरक–फरक । यो विज्ञानको प्रयोगशालामा नापिने÷जाँचिने विषय हुँदै होइन ।
प्रेम गहिरो छ– नाप्न नसकिने अथाह गहिरो ।
प्रेम अजर÷अमर छ– मार्न नसकिने ।
प्रेम अनुपम छ– दाँज्न नसकिने ।
प्रेम अपार छ– कल्पनै गर्न नसकिने ।
प्रेम अमूल्य, अतूल्य छ– मूल्य नै आँक्न नसकिने ।
प्रेमको हिसाब अथाह छ, अनन्त छ ।
कुनै दार्शनिकको परिभाषाबाट बुझ्न सकिँदैन प्रेम । कुनै शब्दका अजस्र स्रोतबाट पढ्न सकिँदैन प्रेम । म हेर्दिनँ प्रेमलाई एउटै कोणबाट । यसका अनन्त–अनन्त आयाम छन् ।
प्रेम कविको गजल वा कविता होइन, हुँदै होइन । निबन्ध वा कथा होइन । न त कुनै कलाकारको सुन्दर सिर्जना वा सङ्गीतको कुनै हृदयविदारक आलाप नै प्रेम हो । प्रेम सृष्टिको एउटा अद्वितीय झङ्कार हो । जसको कुनै रूप र सार छैन । ब्रह्माण्डको सुन्दर र अमूर्त सौन्दर्यमात्रै प्रेम हो । यसका रङ्गहरू अथाह छन् । यसका स्वरूपहरू अथाह छन् । यसका लयहरू अथाह छन् । यसका वादहरू अथाह छन् । यसका रूप र स्वरूपहरू अथाह छन् । शैलीहरू अथाह छन् । यसका नीति र नियमहरू अथाह छन् । यो अमूर्त र अदृश्य छ ।
हाम्रा प्राणीशास्त्रीहरू विपरीत लिङ्गीप्रतिको अपेक्षा (प्राप्ति) लाई प्रेम भन्छन् । यो सर्वथा गलत सोच हो । प्रेम अनुभूतिमात्रै नभएर, यो सृष्टिको अद्भुत चमत्कार पनि हो । प्रेमलाई संसारको कुनै शास्त्रले चिनाउन सक्दैन । बुझाउन सक्दैन । यो संसारका हरेक मानिसको भावना÷अनुहार÷दृष्टिकोण÷स्वाभाव÷चाहनाजस्तै भिन्न र पृथक हुन्छ । जसरी सृष्टिका सात अर्ब मानिसका सबै कुरा फरक छन् । प्रेम पनि हरेक जीवाशेषमा नितान्त फरक छ । हरेक जीवको समष्टिगत रूप हो– प्रेम । प्रेमको परिकल्पना हुँदैनथ्यो भने यो प्रेमिल सृष्टि हुने नै थिएन । कुनै जीव–जीवाशेषको जन्म हुने नै थिएनन् । जन्मको मूल स्रोत पनि प्रेम नै हो । प्रेमले नै जन्माएको छ– हामीलाई । प्रेमले नै बचाएको छ– हामीलाई । जन्मको पहिलो पाइलादेखि हामी प्राणको अन्तिम सङ्घार, चिताको नजिक पुुगिरहँदासमेत प्रेमकै तरङ्गले तरङ्गित भइरहेका हुन्छौँ ।
जीवनभर हामी भौतिक संसारमा रमाउने प्रयत्न गर्छाैं । मेरो परिवार÷मेरो जमिन÷ मेरो घर÷ मेरो सम्पत्ति÷ मेरो आफन्त÷ मेरो पद÷ मेरो प्रतिष्ठा ....। भन्दै जपिरहेका हुन्छौँ । मानिसभित्र लालचको पिरामिड नै छ । खाँदा, बस्दा, उठ्दा, हिँड्दा जतिखेरै स्वार्थ सोचिरहेको हुन्छ । लालचमा प्रेम अङ्कुरण हुँदैन । प्रेम त निष्ठाको मलिलो ड्याङ्मा मौलाउँछ । ‘मेरो’ भन्ने भावनाले तपाईं–हाम्रो जीवन कहिल्यै पूर्ण बन्दैन । अपूर्ण नै रहन्छ ।
यो पृथ्वी, ग्रह, ताराहरू, ढुङ्गा, माटो, रूखबिरुवा, खोलानाला, हिमाल, जीवजनावर, मानिस, आकाश, धर्ती, क्षितिज, आगो, पानी, सुख–दुःख सबैसबैलाई समानान्तर प्रेम गर्न सक्नुपर्छ । नत्र हाम्रो जीवन निरर्थक हुन्छ र प्रेम केवल नाटकमा मात्रै सीमित हुन्छ । यसले हाम्रो जीवन रङ्गमञ्चमा अभिनय गर्ने पात्रझैँ कुनै पलभरको अस्तित्वमात्रै बाँचिरहेको भान गराउँछ ।
हामी भ्रममा छौँ– प्रेम प्राप्ति हुने विषय होइन । यो त अनुभूतिमात्रै हो । हामी प्राप्तिलाई प्रेम र अप्राप्तिलाई घृणाका दृष्टिकोणले हेर्छौं र जीवनलाई निरर्थक बनाउनेतर्फ लैजान्छौँ ।
जीवन सार्थक बनाउन प्रेमलाई हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ । हरेक वर्ष आत्महत्याका कैयौँ समाचार सुन्नुपर्छ । आत्महत्याको प्रमुख कारण प्रेम नै हो । हामीले प्राप्तिलाई मात्रै प्रेम भनिदिँदा आत्महत्याको ग्राफ संसारभर बढिरहेको छ । हाम्रा महाकवि देवकोटाले इन्द्रियहरूले गर्नेभन्दा बढी प्रकृतिलाई प्रेम गरे । आफू र आफ्नालाई भुलेर आफू जन्मनुको सार्थकता उजिल्याए । तसर्थ, प्रेमको एउटै रूप र प्रकृतिको हुँदैन । कोटी–कोटी छन् प्रेमका रूप र सौन्दर्यका सुगन्ध । अथाह छन्– गुन र गौरव । प्रेम आस्वादनमा छ भिन्नभिन्न । मूल्यमा छ अनेकानेक ।
हजार तŒव र तरहले निर्मित छ प्रेम । असङ्ख्य रङ्गरोगनले फुलेको छ प्रेम । अथाह सुगन्धका सुवासले मगमगाएको छ प्रेम । अनन्त–अनन्त आयाममा फैलिएको प्रकृतिको निर्विवाद र शाश्वत सत्य हो– प्रेम ।
– प्रेममा गतिशीलताको वैभव छ ।
– प्रेममा सिर्जनाको सुगन्ध छ ।
– प्रेममा अस्तित्वको सार छ ।
– प्रेममा जीवनको सौन्दर्य छ ।
सबथोक हो– प्रेम । प्रेम मानिसले कोरेको आचारशास्त्रमा बसेर गरिँदैन । गरिनु पनि हुन्न । प्रेम कुनै शास्त्र÷दर्शनले मार्गनिर्देशित हुनुहुन्न । सबै दर्शन र शास्त्रबाट निर्बन्धित छ– प्रेम । मानवीय चेतनाको विशिष्ट रूप प्रेम न भोग्य, न भोज्य वस्तु हो । हामी प्रेमलाई भोग्य र भोज्य साधनका रूपमा व्याख्या गरिरहेका हुन्छौँ । यहीँनिर नै गलत भइरहेको छ ।
–प्रेमको यस्तो नियम छ, जहाँ कुनै नियम नै छैन । यो नदीजस्तै छ– सर्वाङ्ग । यो प्रकृतिजस्तै छ– उदाङ्ग । प्रेमका हरेक धारा, हरेक उपधारा र दफाहरू स्वतन्त्र र सार्वभौम छन् । यो नदीले जस्तै परिवेशअनुसार आफ्नो बाटो आफैँ कुँदेर हजारौँं किलोमिटरको यात्रा तय गर्छ ।
तृष्णाले प्रेम उत्पन्न गर्दैन । तृष्णामा केवल स्वार्थ हुन्छ । निष्ठा, त्याग, समर्पण र साधनाले अभ्यर्चना गर्नुपर्छ प्रेमलाई । प्रेमका अर्थ अनन्त छन् । प्रेमका अनेकानेक शास्त्रहरू छन् । प्रेम भौतिक वस्तु होइन, जो सजिलोसँग लिन र दिन सकियोस् । प्रेम अमूर्त हुन्छ– जसलाई बुझ्न हम्मेहम्मे पर्छ । प्रेम अदृश्य हुन्छ– जसलाई हाम्रा दुई चक्षुले देख्न सकिँदैन । यसलाई त हृदयको तेस्रो आँखाले पनि हेर्न होइन, अनुभव गर्न मात्र सक्दछ ।
प्रेम मस्तिष्कबाट सुरु हुन्छ र मानवीय इन्द्रियमार्फत मानिसको भावनामा सिञ्चित हुन्छ ।
प्रेम भौतिक शरीरबाट नभएर, आध्यात्मिक शक्तिबाट मानिसको जीवनलाई प्रज्ज्वलित गर्ने उच्च चेतनाको गतिशील तरङ्गमात्रै हो ।
प्रेम हुनु र नहुनुमा खास अर्थ छैन ।
प्रेम नहँुदा÷नहुँदै पनि हुन सक्छ । यो त कालजस्तै अदृश्य छ । अदृश्य हुँदाहुँदै पनि सत्य छ ।
प्रेम आनन्दको पनि सर्वाेत्तम आनन्द हो ।
प्रेम त जहीँतहीँ हुन्छ । आकाशमा उडिरहेको
चङ्गा चुँडिएर बिजुलीको पोलमा अड्किए, चङ्गालाई भँुइको अगाध प्रेम हुन्छ । आमाको भु्रणमा हुर्किरहेको शिशुलाई पृथ्वीको स्पर्शमा छुट्टै प्रेम हुन्छ । प्रेम जीवनको गीत, जीवनको गति, जीवनको गौरव र जीवनको सोख पनि हो । हामी प्रेमको अतृप्त तृष्णा लिएर जीवनभर भौँतारिरहेका हुन्छौँ । कहिले सपनाका विशाल कुन्युहरूमा झुम्मिरहेका छौँ त कहिले विपनामा तरङ्गिदै–तरङगिदै अनन्त क्षितिजमा दौडिरहेका हुन्छ । मनलाई पानीजस्तै तरल बनाएर बगिरहनु र सुसाइरहनु पनि त प्रेम नै हो । भनौँ, गतिशीलताको अर्काे परिचय हो– प्रेम ।
हरेक धर्ममा प्रेम हुन्छ । हरेक दर्शनमा प्रेम हुन्छ । हरेक विचारमा प्रेम हुन्छ । हरेक जातमा प्रेम हुन्छ । हरेक रङ्गमा प्रेम हुन्छ । हरेक लिङ्गमा प्रेम हुन्छ । प्रेम नभएको संसारमा कुनै ठाउँ छैन ।
–धर्मको पनि धरोहर हो– प्रेम ।
–दर्शनको पनि दरबार हो– प्रेम ।
–विचारको पनि बीउ हो– प्रेम ।
जातको पनि जननी हो– प्रेम ।
रङ्गको पनि रश्मि हो– प्रेम ।
–लिङ्गको पनि लीला हो– प्रेम ।
–मानिसका मनमनलाई जोड्ने रसायन पनि त प्रेम नै हो ।
सोच्छु, हामी धर्ममा विभाजित छौँ । रङ्ग, विचार, झन्डा, भूगोल के–केमा विभाजित छौँ के–केमा ! यी सबै विभाजनलाई जोड्ने यो अचुक रसायन ‘प्रेम’ कसले आविष्कार ग¥यो होला ? कसरी निर्माण भयो होला– प्रेमको दर्शन ?
प्रेमको न कुनै सिमाना छ । न कुनै साँध छ । यो त धर्मका किल्लाहरू भत्काउँदै हिँड्छ । देश–देशका सिमाना मेटाउँदै हिँड्छ । रङ्गका भ्रमहरू सिकाउँदै हिँड्छ । विचारका बेमेल फुकाउँदै हिँड्छ । द्वन्द्वका चिरामा एकताको रसायन लगाउँदै हिँड्छ ।
प्रेमको एउटै सर्वस्वीकार्य मन्त्र छ– “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः ।।