logo
२०८१ मंसिर ८ शनिवार



वृद्धावस्थाको व्यवस्थापनमा चुनौती

शनिवार |


वृद्धावस्थाको व्यवस्थापनमा चुनौती


 पुष्पप्रसाद श्रेष्ठ

बाल्यावस्था हुँदै युवा र प्रौढावस्थाभरि नै हामी जीवन निर्वाहको व्यस्ततामा दौडिरहेका हुन्छौँ । वृद्धावस्थाको व्यवस्थापनका बारेमा धेरै कमले मात्रै सोचेका हुन्छौँ । बाँच्ने तामझाममा हाम्रो मनस्थिति र व्यवहार यस्तो हुन्छ, मानौँ यो अवस्था कहिलै आउँदैन । वृद्धावस्थाबारे बोल्न, मनन गर्न, छलफल गर्न र लेख्नसम्म चाहँदैनौँ । यतातिर सोच्नुसम्म पनि नहुने मानौँ यो एक वर्जित विषय हो ।
जिन्दगीभर हामी कैयौँ अनावश्यक र निरर्थक कुराप्रति चिन्तित हुन्छौँ र चिन्तन गर्छौं तर आफ्नो वृद्धावस्थाको बारेमा न चिन्तन गर्छौ, न चिन्ता नै लिन्छौँ । जब त्यो अवस्था आउँछ, हामी धेरै कमजोर, दीनहीन र लाचार भैसकेका हुन्छौँ । जीवनकालमा खेती किसानीबाट विश्राम तथा नोकरीबाट अवकाश प्राप्त हुँदै आउने वृद्धावस्थाको बारेमा सकेसम्म सबै पाटोहरू समेटेर यसको चिरफार गरी जीवनको उत्तराद्र्धलाई कसरी शालीन र गरिमामय बनाउन सकिएला भन्नेतर्फ केही सन्दर्भहरूमा छलफल गरिएको छ ।
अनेक कार्यमा सक्रिय हुँदाहुँदै कुन बेलादेखि निष्क्रिय हुन सुरु हुन्छ भन्ने थाहै हुँदैन । ससाना नानीहरू हुर्किदैै कुन बेलादेखि लाखापाखा लाग्न सुरु गर्छन् भन्ने सोच्नै नपाई त्यो दिन आइसकेको हुन्छ । त्यसैगरी नोकरीमा १० र ५ बजाउँदै र वर्ष गन्दै अवकाश हुने समय आइसक्छ । हाम्रो सुगठित शरीर र गरिमामय व्यक्तित्व कुन बेलादेखि थकित र निष्क्रिय हुनथाल्छ, ज्ञात नै हुँदैन । हामी यी अवस्थाप्रति सजग नभैकन एक किसिमले बेहोसीमै समय बितिरहेको हुन्छ । कुनै उद्देश्य र क्रियाकलाप नभएको अवस्थामा खाने, सुत्ने, घुम्ने, गफ गर्ने वा टोल–बाटोमा टहल्दै दिन काट्न थाल्छौँ । हामीसँग गर्नका लागि खास अर्को काम हुँदैन र कुनै काम गर्नुपर्छ भनेर हामीले सोचेकै हुँदैनौँ । गर्ने काम कुराको अभाव हुनु त्यति ठूलो समस्या होइन, समस्या त हामीले राख्ने सोचाइको हो । अब केही गर्न सकिँदैन, गर्ने बेला गयो भनेर जब ठान्छौँ त्यहीँबाट शुरु हुन्छ मूल समस्या । यस्तो नकारात्मक सोचले हाम्रो बानी–व्यवहारलाई ग्रसित बनाउँछ र समस्त परिस्थिति नै त्यसैअनुरूप निर्माण हुँदै आउँछ । कामबाट निवृत्त हुनु स्वाभाविक हो, वृद्ध हुनु स्वाभाविक हो, उमेरसँगै शरीर परिवर्तन हुँदै जानु स्वाभाविक हो तर हामीले सोचेजस्तै वृद्ध भैसकेपछि केही गर्नै हुँदैन वा केही गर्न सकिँदैन भन्ने कुरा स्वाभाविक र सत्य होइन । यसको लागि मानसिकरूपमा तयार नहुनु चाहिँ समस्याको मुख्य जड हो । आखिर किन हामी यस्तो अस्वाभाविक अवस्थालाई निम्त्याई आफ्नो जीवनको सन्ध्यावस्थालाई दीनहीन र परनिर्भर बनाउँछौँ ? यसो हुनुको मूल कारण अरू केही नभई हाम्रो आफ्नै सोचाइ हो । त्यो सोचाइ, जुन वृद्धावस्था र अवकाशप्राप्त जीवनको सम्बन्धमा समाजमा ब्याप्त आमधारणाबाट जन्मन्छन् । हाम्रो सोचाइ परिवर्तन गर्नसके वृद्धावस्था स्वस्थ र सम्मानजनक हुनसक्छ त ? हो प्रथमतः हामीले आफ्नो सोचाइ नै सकारात्मक बनाउनुपर्दछ । त्यसपछि मात्र हामी बाटो खोज्न, योजना बनाउन र त्यसैअनुरूप काम गर्दै अघिबढ्न सक्छौँ । तब मात्र हाम्रो वृद्धावस्था गरिमामय हुन सम्भव छ ।

कस्तो हुन्छ गरिमामय वृद्धावस्था ?
वृद्धावस्था मात्र होइन, हरेक अवस्थामा हामी आत्मस्वाभिमान र सम्मानपूर्वक बाँच्न चाहन्छौँ । आत्मसम्मान बिनाको जीवनमा सुखी हुँ भन्नु र खुशी हुँ भन्नु झुटा कुरा हुन् । यसका लागि हामीले आफ्नो जीवन, सामाजिक व्यवहार तथा सम्बन्धका कैयौँ ससाना विषयप्रति ध्यान दिनुका साथै व्यवस्थित पार्न सक्नुपर्छ सन्तुलन कायम गर्नुपर्छ ।
आफ्नो मान र स्वाभिमानलाई कायम गरेर भएका स्रोत–साधन र व्यक्ति–सम्बन्धहरूलाई सन्तुलित किसिमले परिचालन गरी स्वस्थतापूर्वक सुखी हुनुसक्नु भनेको गरिमामय जीन्दगी जीउनु (न्चबअभाग िीष्खष्लन) हो । वृद्धावस्था त यस्तो समयकाल हो, जसमा जीवनजगत्का अनुभव र अनुभूतिहरू सङ्ग्रह भएको स्रोत सम्पन्न उमेर हो । धेरै कुराबाट मुक्त भै आफ्नो रुचि र रचनात्मक क्षमतालाई उजागर गरी रमाउने उमेर हो तर यथार्थमा हाम्रो अवस्था विपरीत हुनेगर्छ ।

उमेरसँग सम्बन्धित आमधारणा
उमेर र अवकाशसँग सम्बन्धित संसारका सबै समाजमा व्याप्त यी विचारहरू जस्तै, वृद्धावस्थामा काम गर्नुहुँदैन, स्मरणशक्ति नाश हुँदै जान्छ, कुनै कुरा सिक्न सक्तैनन्, कुनै पनि रुचि पाल्नुहुँदैन, धेरै रोगले समात्छ, समाजको भार हुन्छ, परिवर्तन नचाहने हुन्छ । यी आमधारणाका सम्बन्धमा धेरै वैज्ञानिक अध्ययन अनुसन्धान भएका छन् र ती अनुसन्धानका आधारमा गलत सावित पनि भैसकेका छन् । यस सम्बन्धमा प्रकाशमा आएकामध्ये सबैभन्दा ठूलो वैज्ञानिक अध्ययन–अनुसन्धान अष्ट्रेलियन सरकारले गरेको पाइन्छ । उमेर वृद्धिभन्दा मानिसको मानसिक ढाँचाले बढी नोक्सान पु¥याइरहेको तथ्य स्पष्ट भैसकेको छ । यसका धेरै उदाहरण हाम्रै समाजमा र अन्य विकसित देशहरूमा पनि देख्न सकिन्छ । जुनसुकै उमेरका व्यक्तिमा पनि नकारात्मक मानसिकता छ भने त्यो उमेरमा युवा भए पनि बूढो ठहरिन्छ र बूढो भए पनि यदि यस्ता विकारहरूबाट मुक्त सकारात्मक सोच राख्दछ भने ऊ युवा नै हुन्छ । यो सत्य पनि वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भैसकेको छ ।

परिवर्तित पारिवारिक संरचना
आम नकारात्मक धारणाबाट ग्रसित सोचाइ समस्याग्रस्त वृद्धावस्थाका लागि पहिलो प्रमुख समस्या हो । त्यस्तै हाम्रो अहिलेको बदलिँदो पारिवारिक प्रणाली तथा यथार्थप्रति सजग हुन नसक्नु र भए पनि त्यहीअनुरूप आफूलाई तयार राख्न नसक्नु समस्याको अर्को महŒवपूर्ण कडी हो । हाम्रै समाजमा पनि सामूहिक जीवनयापन प्रणालीबाट एउटा मात्र परिवार प्रणाली हुँदै अहिले त एकल पारिवारिक ढाँचा हुनेजस्तो अवस्था पनि आइसकेको छ । परम्परागत पारिवारिक ढाँचा र प्रणालीमा यसरी तीव्र परिवर्तन आइसकेको छ । अर्कोतर्फ हाम्रा बालबच्चाहरू विविध कारणले विदेशिने र विदेशमै अड्किने क्रम झन् तीव्र गतिले भैरहेको छ र यस कार्यमा बाबुआमाहरूले पनि सक्रिय भूमिका खेल्ने गरेका छन् । परिवर्तित पारिवारिक संरचना र प्रणाली मात्र होइन कि ज्यादै खर्चिलो र जटिल बन्दै गएको हाम्रो जीवन पद्धतिका कारणले पनि हाम्रो वृद्धावस्था झनै असहज र कष्टपूर्ण बनिरहेको कुरा हरेकले अनुभूत गरिरहेको प्रष्टै छ । तीव्र गतिमा आइरहेका यी परिवर्तनको विश्लेषण गर्नुको तात्पर्य माथि भनिएझैँ गुण–दोष केलाउनु मात्रै होइन । यसको वकालत वा विरोध गर्नु पनि होइन । परिवर्तित यथार्थलाई बुझेर जे जस्तो छ, यसलाई स्वीकार गर्ने अनि जिम्मेवारीपूर्वक आफैँलाई परिवर्तन गर्न तथा आफ्नो बाँकी जीवनलाई सम्मानपूर्वक व्यवस्थापन गर्न उत्प्रेरित गर्नु समाजका हरेक तह र तप्काले लाग्नैपर्ने हुन्छ । साँच्चै भन्ने हो भने यो गति र परिवर्तित अवस्थालाई रोक्न वा सच्याउन न त सम्भव छ, न उचित नै हुन्छ ।
केही गर्नु भनेको पहिले वस्तुस्थितिलाई राम्रोसँग बुझेर त्यसलाई बहादुरीका साथ स्वीकार्नु हो । जे जस्तो अवस्था छ, त्यसलाई जिम्मेवारीपूर्वक स्वीकार नगरिकन हामी अगाडि बढ्न वा सो अनुकूल आफूलाई समायोजन गर्न सक्तैनौँ । त्यसपछि आर्थिक पक्षलाई विशेष जोड दिएर आफ्ना भावी योजनाबारे स्पष्ट खाका बनाउनुपर्छ । समाजमा व्याप्त आमधारणाको चिरफार गरी यथार्थलाई मनले स्वीकार गर्नु मात्रैले हाम्रो वृद्धावस्था सहज र गरिमामय भैहाल्ने होइन । यी त मानसिक तहका पूर्वाधार मात्र हुन् । जीवनको योजना बनाइसकेपछि यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न पहिला हाम्रो मानसिक सोचलाई सोही अनुसार स्थापित गर्न अत्यावश्यक हुन्छ । यसका लागि केही मानसिक कार्य वा अभ्यासहरू (ःष्लम ःबलबनझभलत) गर्नुपर्ने हुन्छ ।
वृद्धावस्थाको योजना
के हामी कहिल्यै जीवनका बारेमा योजना बनाउनुपर्छ भन्ने सोच्छौँ ? सामान्यतः यस्तो कुनै पनि योजना बनाएर चल्ने गर्दैनौँ । हामी आफ्नो जीवन र विशेषतः वृद्धावस्था सुगम र सम्मानित होस् भन्ने चाहन्छौँ भने समय र परिस्थिति अनुरूप वृद्धावस्थाको योजना बनाउनैपर्छ । कुनै पनि किसिमको योजना बनाउनुभन्दा पहिले हामीले वस्तुस्थिति, पारिवारिक स्थिति, आफ्नो कार्य र जिम्मेवारी के के हुन् भन्ने स्पष्टसँग बोध गर्नुपर्छ । वर्तमान परिस्थितिको यथार्थ स्वरूप र अवस्थाबारे सजग भएपछि यसैको आधारमा आफ्नो वृद्धावस्था कस्तो होस् भन्ने आफ्नो चाहना छ, त्यसको परिकल्पना बेलैमा गर्नुपर्छ । आफ्नो भावी जीवनको स्वरूप मानसपटलमा स्पष्ट कोरेपछि अर्को कार्य भनेको हामीले भावी जीवन (वृद्धावस्था) सँग सम्बन्धित केके कुरामा ध्यान दिनुपर्छ वा वृद्धावस्था सम्बन्धी सरोकारहरू (इमि ब्नभ ऋयलअभचलक) केके हुनसक्छ बुँदागत रूपमा उतार्नुपर्छ ।
आफ्नो सरोकारको सकेसम्म सम्पूर्ण कुराप्रति जानकारी भएपछि जुनजुन कुरामा हामीलाई बाहिरी टेवा वा सहयोग आवश्यक पर्दछ, त्यसप्रति पनि स्पष्ट भई त्यहीअनुरूप ब्यवस्थापन गर्ने योजना बुन्नुपर्दछ । यति गरिसकेपछि मात्र योजनाको खाका तयार गर्ने र समयबद्ध तरिकाले गर्नुपर्ने कार्यगत योजना पनि बनाउनुपर्दछ । जीवन योजना र समयबद्ध कार्य योजना बनाउँदा हामीले मुख्यरूपमा आफ्नो साधन, स्रोत र आर्थिक अवस्थालाई विशेष जोड दिनुपर्ने हुन्छ । आर्थिक रूपले सक्षम र सन्तुलित नभई हाम्रो योजना सफल हुँदैन । योजना बनाउनु भनेको लक्ष्य निर्धारण गर्नु मात्र होइन । यो जीवन पद्धति बनाउनु पनि हो, जसमा हामी सम्मानित र स्वाभिमानपूर्वक सुखी हुन र रमाउन सकौँ । लक्ष्य र बाटोको भिन्नता हामीले बुझ्नुपर्छ ।
आर्थिक योजना बनाउँदा पनि आर्थिक लक्ष्य राख्नुभन्दा महŒवपूर्ण कुरा हामी कसरी नियमित वचत तथा भविष्यसम्मको दिगो तथा सुरक्षित आम्दानी गर्ने भन्ने हो । नियमित र सुरक्षित आम्दानीका साथै आफूसँग बचत भएको पैसालाई कसरी सुरक्षित र वैधानिक लगानी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
हाम्रो मनमा बारम्बार दोहोरिइरहने विषय भनेको आफ्नो लक्ष्य र लक्ष्य प्राप्ति भएको कल्पना हुन् । अर्को भनेको उक्त लक्ष्यलाई टेवा वा बढावा दिने सकारात्मक सोच हुन पनि आवश्यक छ । केही समयसम्म यस प्रकारको मानसिक अभ्यास गरेपछि बिस्तारै हाम्रो मानसिक स्तरमा विकास हुँदै आउँछ र हाम्रो बोली र व्यवहारमा स्वतः परिवर्तन आउन थाल्छ । त्यसपछि मात्र हाम्रो कार्ययोजना ठीक किसिमले कार्यान्वयन हुने दिशातिर जान्छ ।
कुनै पनि नयाँ काम गर्नका लागि सबैभन्दा पहिले सोचाइमा ल्याउन सक्नु पर्दछ र त्यसलाई पूरा गर्ने सङ्कल्प र मानसिक साधना गरेपछि मात्र कार्यान्वयनमा आउन सक्ने तथ्य वर्तमान मनोविज्ञानका कैयौँ सिद्धान्त र अनुसन्धानहरूबाट प्रमाणित भैसकेका छन् । हामी सबैका लागि गरिमामय वृद्धावस्था सम्भव छ तर हामीले अहिलेको परिवर्तित परिस्थितिलाई बुझेर यसलाई स्वीकार गर्दै कार्ययोजना बनाई आफूलाई मानसिक स्तरबाटै तयार गर्न सक्नुपर्दछ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?