logo
२०८१ मंसिर ८ शनिवार



योग र व्यायामका आयाम

शनिवार |


योग र व्यायामका आयाम


 योगी पूर्ण श्रेष्ठ

योगको दृष्टिमा जगत्को प्राणी तथा मानवको सृष्टि तथा जन्म शिवस्वरूप योगमय ध्वनिबाट प्रारम्भ भएको मानिन्छ । शिव ताण्डव नृत्यको ध्वनिबाट अ इ उ ण साथै स्वर अ देखि अः सम्म र व्यञ्जन कदेखि ज्ञसम्मको ध्वनिको कम्पनबाट विशेष प्रकारको शक्तिको जन्म भयो । त्यही शक्तिबाट पञ्चीकृत पञ्च महाभूत र अपञ्चीकृत पञ्च महाभूत तथा दृश्य शक्ति र अदृश्य शक्ति जन्मियो । त्यही शक्तिले नै जीवन, जगत् र वर्तमानलाई जन्माउनु मात्र हैन हाम्रो शरीर र मन चलाइरहेको छ ।
प्राचीन योगदर्शनको नाम हो शिव स्वरोदय विज्ञान । यो दर्शनमा शिव नै योगका स्रष्टा मानिएको छ । योगदर्शन तथा विज्ञानको सर्र्वप्रथम प्रयोग उनै शिवबाट नै हिमालयकी छोरी पार्वतीले अभ्यास गरेकी हुन् । शिव भन्नुहुन्छ, “पार्वती श्वासलाई स्वर तथा ध्वनि बनाऊ, ध्वनिलाई मन्त्र बनाऊ, मन्त्रद्वारा चक्र बनाऊ । लं, वं, शं, षं सं यो मन्त्रको ध्वनिबाट मूलाधार चक्र र पृथ्वी तत्व बन्दछ । वं, बं, भं, मं, यं, रं, लं ध्वनिबाट स्वाधिष्ठान र जलतत्व बन्दछ । रं, डं, ढं, णं, तं, थं, दं, धं, नं, पं, फं ध्वनिबाट मणिपुर चक्र र अग्नि तत्व बन्दछ । यं, कं, खं, गं, घं, ङं, चं, छं, जं, झं, ञं, टं, ठं ध्वनिबाट अनाहत चक्र र वायुतत्व बन्दछ । हं, अं, आं, इं, ईं, उं, ऊं, ऋं, ऋृं, लृं, लृं, एं, ऐं, ओं, औं, अं, अंः ध्वनिबाट विशुद्ध चक्र र आकाश तत्व बन्दछ । ऊं, हं, क्षं ध्वनिबाट मनमस्तिष्क तथा सूक्ष्म शरीर बन्दछ । ध्वनिबाट नै यी सबै विशेष तत्व बन्दछ र यही तत्वबाट हामी हाम्रो शरीर र मनलाई आफूले चाहेजस्तो बनाउन सक्तछौँ । यसलाई स्वरविज्ञान तथा ध्वनिविज्ञान पनि भनिन्छ । जसरी बाँसुरीको सात वटा प्वालले सात स्वर सा रे ग म प ध नि बाट राग–रागिनी तथा सङ्गीत बन्दछ, त्यसरी नै शरीरको सात चक्रमा सात प्रकारको स्वर तथा ध्वनिले पृथ्वी, जल, तेज, वायु, आकाश र सूक्ष्म शरीर तथा मन बनाउन सकिन्छ ।
उपनिषद्मा पनि योग चूडामणि, योग कुण्डल्यूपनिषद्, योग तत्वोपनिषद्, योग राजोपनिषद् जस्ता योगका उच्च दर्र्शन पाइन्छन् । उपनिषद् सूत्रबाट अनेक योग बनेका देखिन्छन् ।
योगवाशिष्ठ तथा रामायणमा पनि रामका गुरु वशिष्ठद्वारा उच्चयोगका अभ्यासहरू गराई रामराज्यको विकास गरिएको पाइन्छ । यस्तै अरू दर्शन शिवसंहिता, घेरण्डसंहिता, गोरखसंहिता, हठयोग प्रदीपिका जस्ता योगका उच्च दर्शन पाइन्छन् । यसबाहेक पातञ्जल योग दर्शन उत्कृृष्ट मनोमहाविज्ञान मानिन्छ ।

योग र व्यायाममा भिन्नता
व्यायामको तुलनामा योगाभ्यास धेरै उच्चकोटिको हुन्छ । आधुनिक व्यायाम बाहिरी स्थुल शरीरमा मात्र केन्द्रित हुन्छ । उमेर, तागत अनि निरोगीले मात्र एउटा अवधिसम्म गर्न सक्तछ । योगाभ्यास सबै अवस्था परिस्थितिमा बच्चा, युवा, युवती, वृद्धवृद्धामा मात्र हैन, बिरामीका लागि पनि गर्न सकिन्छ । पतञ्जलि योगदर्शनमा अष्टाङ्गः यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी योगलाई आठ प्रकारमा विभाजन गरिएको छ । महायोगी पातञ्जलि भन्नुहुन्छ, सबैभन्दा सर्वश्रेष्ठ र सर्वप्रथम नियम अनुशासनको कर्तव्यको पालना गर्नुपर्दछ । जुन देश, समाज र व्यक्तिले कडाभन्दा कडा नियमको पालना गर्दछ । उसले योगको सर्वोच्च अभ्यास गर्न सक्तछ । यति मात्र हैन, उसले समाज र देशलाई पनि विकास गर्दछ । योगको विशेषता भनेको नै शरीर मात्र नभएर स्वस्थ, निरोगी, सुन्दर भएर मात्र हुँदैन, मनको पनि विकास र समृद्धि हुनुपर्दछ । योगमा मनको सर्वोच्चताको मापन, धारणा, ध्यान, समाधिद्वारा गरिन्छ । शरीरको मापन व्यायाम, प्राणायामद्वारा गरिन्छ । योगको व्यायाम, प्राणायामबाट शरीरको सबै प्रणाली नर्भस सिष्टम, हर्मन्स सिष्टम, अक्सिजन सिस्टम, ब्लड सिस्टम, डाइजस सिस्टमको विकास गर्दछ । यही अविकसित तथा विकृत, असन्तुलित सिस्टमकै कारणले रोग हुने हो । हामी त्यसलाई व्यायाम र प्राणायाम ध्यानद्वारा सुधारेर सबै प्रकारका रोगबाट मुक्त बन्न सक्तछौँ ।

योगद्वारा सभ्य समाज
कैयन् शक्तिशाली प्राणीहरूको वंश विनाश भइसकेको छ भने जीवित पनि निकै खतरामा छन् । प्राणीहरूमा मानव धेरै कमजोर प्राणी हो तर मानवले एउटा शक्तिशाली सभ्यताको विकास ग¥यो । मानव जति सभ्य हुन्छ ऊ त्यति नै शक्तिशाली बन्दछ । अष्टाङ्गयोगमा यसैलाई यम र नियम भनिन्छ । यसमा पाँचवटा अनुशासन हुन्छ– अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह । यो पाँच नियम ‘म’ बाहेक अरूको जीवन र जगत्का लागि पालना गरिन्छ । अर्को पाँचवटा नियम– शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वर प्रणिधान यी पाँच नियम आफ्ना लागि पालना गरिन्छ । यो नियमको दश अनुशासन जति हामी पालना गर्छौं, त्यति हामी सभ्य बन्दै जान्छौँ । असभ्य बन्नलाई त कुनै स्कुल, विद्यालय, शास्त्र, गुरु चाहिँदैन ।

विद्यार्थीका लागि योग
शिक्षा तथा मस्तिष्कको समग्र विकास योगबाट हुने पर्याप्त सम्भावना छन् । यो चञ्चल र अशान्त मन, दुर्बल तथा विक्षिप्त मन साथै अविकसित मस्तिष्कलाई सुधार्न योगमा धेरै प्रविधि छन् । योगमा त्राटक, नेति, कपालभाति, आसन, प्राणायाम, कुण्डलिनी सात चक्र मन्त्र, ध्वनिविज्ञान, ध्यानविज्ञान जस्ता विभिन्न आयुर्र्वेदिक पोषक तत्वबाट मन तथा मस्तिष्कको उन्नति गर्न सकिन्छ । एउटा सामान्य त्राटक मात्रले पनि मनको अतीन्द्रिय शक्ति अनि चुम्बकत्व शक्ति तथा सुषुप्त, गुप्त रहस्यहरू जगाउन सक्तछ । अरू प्रक्रियाको वर्णन गरिनसक्नु छ, कुण्डलिनीको सात चक्र मन्त्र, ध्वनिविज्ञान, ध्यानविज्ञान जस्ता विभिन्न आयुर्र्वेदिक पोषक तत्वबाट मन तथा मस्तिष्कको मनग्य उन्नति गर्न सकिन्छ । एउटा सामान्य त्राटक मात्रले पनि मनको अतीन्द्रिय शक्ति अनि चुम्बकत्व शक्ति तथा सुषुप्त, गुप्त रहस्यहरू जगाउन सकिन्छ । 

रोग निदानमा योग
योगमा सर्वप्रथम रोगै नलागोस् भनेर प्रयास गरिन्छ । कथंकदाचित् रोग लागिहाल्यो भने योगले कुनै पनि रोगको समाधान गर्न सक्तछ । योगबाट आकस्मिकबाहेक अरू सबै उपचार हुन्छ तर योगको उद्देश्य भनेको केवल रोगका लागि मात्र होइन । योगले सामान्य मानवलाई महामानव र देहलाई देवालय अनि जीवलाई शिव बनाउन सक्तछ । योग मानवको महाअभियान हो तर आज योगलाई योगाको रूपमा व्यायाम अनि रोगको औषधिको रूपमा परिभाषित गर्न थालिएको छ । जब कि योगले राम, कृष्ण, जनक, सीता, बुद्ध, व्यास, कालिदास, वाल्मीकि, विदुर र उनको नीतिशास्त्र, चाणक्य र उनको नीतिशास्त्र जन्माएको पाइन्छ ।
योगमा असम्भव भन्ने केही हुँदैन । योगदर्शनका प्रणेता महायोगी पतञ्जलिलगायत वेदान्त, साङ्ख्य, वैशेषिक, न्यायदर्शनका प्रणेताहरू जैमिनी, कपिल, कणाद, गौतम, पाणिनि, आयुर्वेदमा चरक, सुश्रुत जस्ता महायोगी हाम्रा पुर्खाहरू जन्मिएका छन् । योगबाट दिव्यदृष्टि, अन्तर तथा तेस्रो नेत्र खोल्न सक्ने क्षमताको विकास गर्न सक्तछ । योगबाट पाकशास्त्र, पोषण सम्बन्धित विज्ञानको प्रयोग गरी उच्च मनको अर्थात् तन, मन, धन तथा धर्म, अर्थ, काम, मोक्ष जस्ता उच्च सभ्यता निर्माण गरी निरोगी र निपुणता प्राप्त गर्न सकिन्छ ।

पोषण विज्ञान
आज आमनेपालीलाई हाम्रा पुर्खाले निर्माण गरेका पाकशास्त्र तथा पोषण विज्ञान सम्बन्धमा जानकारी नै छैन । जसलाई चौरासी व्यञ्जन पनि भनिन्छ । यति उच्च विज्ञानयुक्त सूक्ष्म अनुसन्धान र परिभाषा भएको आरोग्य विज्ञानको वर्णनातीत खोज र परीक्षण हुनसकेको छैन । यसबाहेक भाषा, साहित्य, दर्शन, वेद, उपनिषद, पुराण, ज्योतिष, गणित, व्याकरण, वास्तुजस्ता अगणित खोज र प्रयोग पनि भएका छन् । यस्ता सबै विकास सानो बुद्धि र विवेकबाट भएको पक्कै होइन । यो सबै चमत्कारिक उन्नति गराउन सक्ने देन भनेको योगको अतीन्द्रिय, अलौकिक, चमत्कारिक शक्तिबाट सम्भव हुनसकेको हो ।
अष्टाङ्गयोगको प्रत्यहार, धारणा, ध्यान, समाधिको विषयमा जसले अन्तरङ्ग अभ्यास गर्दछ, उच्च प्रयोगात्मक खोज तथा अनुसन्धान गरेको छ उसको अतीन्द्रिय सूक्ष्म शक्तिहरू जागेको हुन्छ । कसैले पुस्तक पढेर योगको उच्चता प्राप्त गर्ने सपना देख्न सक्छ तर व्यवहारमा उतार्न सक्दैन । ध्यानको अन्तरदृष्टिबाट तथा तेस्रो नेत्रद्वारा मनको भित्र अणुअणु, कणकणको अनुभूति प्राप्त गर्न सकिन्छ । जो आजका विकसित उच्च प्रविधिले गर्र्न नसकेको योगले देखाउन सक्तछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?