logo
२०८१ बैशाख १७ सोमवार



लघुकथा: दर

शनिवार |


लघुकथा: दर


निर्मला कोइराला

अचानक मोबाइलमा बजेको घण्टीको आवाजले वन्दना झस्किई । उसको जेठोदाजुले गरेको रहेछ । काठमाडौँ बस्ने दाजुले तीजको मुखैमा गरेको फोनले उसलाई खुसी र रोमाञ्चित बनायो । मनमा कुरा खेल्न थाले । दाजुले तीजको दर खान काठमाडौँ बोलाउन खोजेको पो हो कि ! भदौको गर्मी पनि छलिने, तीजको रमाइलो पनि हुने । एक साताका लागि भए पनि ऊ काठमाडौँ जाने कल्पनामा डुबी ।
‘दाजु नमस्कार !’ ऊ मुस्कानसहित बोली ।
‘नमस्कार, हिजो विराटनगर आएको थिएँ’ उताबाट आवाज आयो । ‘ओहो दाजु, यतै आउनुभएको पो रहेछ’ खुसी हुँदै उसले भनी । पक्कै पनि भाउजूले उसका लागि तीजको सम्झनामा केही पठाउनुभएको हुनुपर्छ । काठमाडौँं जान नपाए पनि भाउजूले प्रेमपूर्वक पठाइदिएका सामग्रीको कल्पना गर्दै त्यसमा आमाको अनुहार झलझली देखी । आमापछिकी भाउजू ! उसलाई यति माया गरेर सम्झिने नै को छ र ? बाबुआमा बितिहाले । अरू दाजुभाइ पहाडमै बस्छन्, भन्नेबित्तिकै पुग्न सकिने होइन ।
माइती भन्ने शब्द नै प्यारो । अझ परम्पराले सिकाएको होला, तीजमा माइतीले गर्ने चासो निकै अर्थपूर्ण हुन्छ । त्यसमाथि जेठो दाजुको जागिर राम्रो ठाउँमा भएकाले निकै हुनेखानेमा गनिन्छन् ।
‘हो नानी, यसपालि कान्छीछोरीको बिहे गरेको पहिलो तीज । ऊ यहाँ नभए पनि सम्धिनीलाई तीजको दर पु¥याउनैपर्ने रे । भाउजू आउन भ्याइन, अनि म नै आएको ।’ ए हो त, कान्छी भदै बिहेपछि लगत्तै अमेरिका उडेकी उसले सम्झी ।
‘अनि केके ल्याउनु भयो त सम्धिनीलाई
‘दर’ दाजु ?’
‘अँ, त्यस्तो खास त होइन नानी, एउटा छड्के तिलहरी, दुई÷तीन सेट बनारसी र जापानिज साडीहरू, सौभाग्य सामानसहितको एउटा सुटकेस अनि मिठाई, फलफूल, ड्राइफ्रुट्सहरू । सबै भाउजूले नै प्याक गरेकी । अचेल त तीज पनि कति महँगो भएको, झण्डै एक लाख जति खर्च भयो नानी ।’
मुख्य काम सकेर अब दाजु उसैलाई भेट्न आउन लागेको हुनुपर्छ, खुसीले गद्गद् हुँदै उसले सोधी–
‘दाजु अहिले कता हुनुहुन्छ त ?’
‘ए, म ? रीत पु¥याउने काम सकिहालेँ । उतैबाट आतेजाते टिकट लिएर आएको थिएँ । काठमाडौँ फर्किनलाई विराटनगर एयरपोर्टमा छु । प्लेन एक घण्टा ‘डिले’ भएकाले तँलाई सम्झिएर फोन गरेको ।’
दाजु केके बोल्दै थियो । उसको घाँटीमा केही अड्किएजस्तो भयो, जवाफविहीन सुनिरही ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?