logo
२०८१ मंसिर ६ बिहीवार



तीज गीत कलाकारको कमाइ

शनिवार |


तीज गीत कलाकारको कमाइ


 गोविन्द मरासिनी

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन विशेषतः हिन्दु नारीले धुमधामका साथ तीज पर्व मनाउने गर्दछन् । यस पर्वमा हिन्दु नारीले देवाधिदेव महादेवको पूजा–आराधना गर्नुका साथै यस दिन विवाहित महिलाले व्रत बसेमा पतिको स्वास्थ्य र दीर्घायु हुने तथा अविवाहित नारीले व्रत बसेमा मनोकामना अनुसारको वर पाउने विश्वास गरिन्छ । तर पछिल्ला तीजहरुमा धेरै भड्किलोपना र चरम विकृति मौलाउन थालेको छ । पहिलाका तीजमा घरमा आमाछोरी, दिदीबहिनी एक ठाउँ भेला भएर दर खाएर चेलीका यथार्थ व्यथा पोखेर गीत गाइन्थ्यो भने आजभोलि भड्किलो पाराले पार्टी प्यालेसहरुमा तीज कार्यक्रम आयोजना गरेर हिन्दी र अङ्ग्रेजी गीतमा कम्मर मर्काउने परम्परा बढ्दो छ । अझ पछिल्ला समयका तीज गीतमा आएको विकृतिलाई हेर्दा भोलिका दिनमा तीज पर्वको महŒव नै ओझेलमा पर्ने पो हो कि भन्ने शङ्कासमेत उत्पन्न हुन थालेको छ ।
पुरानो परम्परा तथा अहिलेको आधुनिक भनाउँदो तीजलाई नजिकैबाट नियालिरहेका चर्चित लोकगायिकाहरू हरिदेवी कोइराला, बीमाकुमारी दुरा, लोकगायक पुरुषोत्तम न्यौपानेदेखि पछिल्लो पुस्ताका चर्चित गायक खुमन अधिकारीसम्मका थुप्रै कलाकार पनि त्यति सन्तुष्ट देखिनुहुन्न । तीज गायिकाका नामले समेत परिचित कोइरालाका थुप्रै मौलिकता झल्काउने र चेलीको यथार्थ वेदना प्रस्फुटन गर्ने तीज गीतहरु बजारमा छन् । वरिष्ठ गायिका कोइरालाका अनुसार विषयवस्तुमा फरक पन ल्याएर गीत गाए पनि आफ्नो मौलिकता, संस्कृति र भेषभूषालाई कहिल्यै पनि बिर्सन नहुने हो । उहाँ थप्नुहुन्छ– ‘तीज भनेको सामाजिक महŒव बोकेको धार्मिक चाड पनि हो । त्यसैले यसको पनि आफ्नै महŒव छ । गीतहरू माइतीघरको आँगनमा छमछमी नाच्नेखालका हुनुपर्छ । समय, काल, परिस्थिति फेरिए पनि समाजमा धार्मिक पाटोको छुट्टै आयाम छ । तीज नेपाली संस्कृतिको धरोहर पनि हो, वर्षभरि आफूले पाएका दुःख र वेदना पो गीतमा पोख्ने हो त, परिवारसँगै बसेर हेर्न र सुन्नै नमिल्नेखालका अश्लील गीतले विकृति निम्त्याउँछन् ।’
पहिलेको तीज र अहिलेको तीजमा धेरै भिन्नता हुँदै आएको भन्दै गायिका कोइराला भन्नुहुन्छ, ‘तीज पहिलाभन्दा धेरै भड्किलो बन्दै गइरहेको छ । पहिला तीज भन्नेबित्तिकै गाउँघरमा दुःखसुखका कुरा, आफूले पाएका वेदना पोखेर परिवारमा बसेर गान–बजान गर्दै मनाइन्थ्यो भने अहिले पार्टी प्यालेसमा र घरघरमा महिनाँैदेखि दर खाएर, भड्किला गीत गाएर मनाउन थालिएको छ ।’
हरेक समयमा फरकफरक विषयवस्तुका गीत गाउने गरिन्छ । अन्य ठट्यौली र व्यङ्ग्यात्मक गीत अरू जुनसुकै समयमा सिर्जना गर्दा हुने तर भदौ महिनामा विशेषतः नारीका पीडा–व्यथा झल्किने खालकै गीतको सिर्जना गर्नुपर्ने कोइरालाको सुझाव छ ।
गीत–सङ्गीत आजलाई मात्र नभई भोलिको पुस्ताले पनि चिन्ने र मन पराउनेखालका बनाउनुपर्नेमा जोड दिनुहुन्छ वरिष्ठ गायिका बीमाकुमारी दुरा । पुराना पुस्ताले भन्दा अहिलेका नयाँ पुस्ताले गीत–सङ्गीतमा विकृति बढाउन खोजेको प्रति सङ्केत गर्दै दुराले भन्नुभयो– ‘जो, जसले त्यस्ता प्रकारका गीतको सिर्जना गरेका छन्, उनीहरुले नै बुझ्नुपर्ने हो ।’ पुराना पुस्ताले जोगाएको रीतिरिवाज र संस्कृतिलाई जोगाउनुको साटो झनै त्यो खालको संस्कृतिलाई बिर्सर्दै तीजका गीतमा विकृति ल्याउनु दुःखद कुरा भएको दुराको बुझाइ छ ।
तीजका सबै गीतमा विकृति आएको नभई केही सीमित गीतले गीतको मर्म र भावना बिगारेको वरिष्ठ गायक पुरुषोत्तम न्यौपाने बताउनुहुन्छ । पुराना कलाकारका तीज गीतले मौलिकता जोगाएको भए पनि नयाँ पुस्ताका केही कलाकार तथा सर्जकले तीजका गीतको नाममा ल्याएको ¥याप र ब्याटलले संस्कृति बिग्रँदै गएको जायज भएको न्यौपानेको तर्क छ । ‘पहिला तीजका गीतमा पुरुषले गाउने प्रचलन चलाए भनेर समेत हामीलाई आरोप लगाइन्थ्यो तर त्यसो होइन, तीजमा दाजुभाइ, बाबाआमा सबैको उत्तिकै भूमिका हुन्छ । त्यसैले केटाले तीजको गीत गाउनै हुँदैन भन्ने होइन । मर्यादित तरिकाले संस्कृतिलाई नर्बिसेर तीजको गीत हो कि होइन भनेर छुट्याउन सक्ने खालको चाहिँ हुनुपर्छ’ न्यौपाने भन्नुहुन्छ । यसरी तीजका गीतमा बढेको विकृतिलाई मुख्यतः स्रष्टा र सर्जकले पनि विचार पु¥याउनुपर्ने भन्दै दिदीबहिनीहरुले साडी लगाएर ब्याटल तीज गीतमा नाच्न पनि छाड्नुपर्ने र मिडियाले पनि त्यस्ता
गीतलाई प्रोत्साहन नभई दुरुत्साहन गर्नुपर्ने न्यौपानेको सुझाव छ ।
पछिल्ला तीजका गीतमा विकृति बढे पनि अघिल्ला दुई वर्षमा भन्दा अहिलेको तीजमा चाहिँ केही कमी भएको हो कि भन्ने गायक खुमन अधिकारीको तर्क छ । विकृति उन्मुख गीतलाई लोकदोहोरी प्रतिष्ठानले पनि रोक लगाएको भन्दै दर्शक–श्रोताले पनि त्यस्ता गीतलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ छ । तीजको छन्द नै नआउने गीतलाई तीज गीत भन्न नहुने भन्दै अधिकारीले भन्नुभयो, ‘कुन सिजनमा कस्ता गीत बजारमा ल्याउने भन्ने सर्जकले पनि बुझ्नुपर्छ ।’ पछिल्लो समय विशेषतः तीज गीतमा आधुनिकताका नाममा मौलाएको विकृतिले भविष्यमा तीज कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
तीजका नाममा जति नै आधुनिकता आए तापनि गायिका कोइरालालाई भने कुनै आधुनिकताले छुँदैन । तीजमा आफ्नो क्षमता र दक्षता हेरेर मात्र मनाउन सुझावसमेत दिनुहुन्छ । यो कुनै गहना प्रदर्शन गर्ने चाड होइन, आफूले जे सकिन्छ, जस्तो सकिन्छ त्यसरी नै मनाउने हो । सामान्य किसिमले तीज मनाउने कोइरालाको तीजमा व्रत बस्ने सन्दर्भमा पनि आफ्नै तर्क छ । आ–आफ्नो रुचि र खुसी अनुसार व्रत बस्नु राम्रो भन्दै कोइरालाले आफू भने तीजमा व्रत नबस्ने बताउनुभयो ।
तीजमा जतिसुकै परिवर्तन आए पनि आफूले आफ्नो धर्म, संस्कृति र रीतिरिवाज कहिल्यै पनि नबिर्सने र बाबुबाजेको पालामा जसरी नै तीज मनाउने वरिष्ठ गायिका दुरा बताउनुहुन्छ । पहिलाको जस्तो सानो उमेरमा बिहे हुने कुरीतिको अन्त्य भएकाले अहिले उमेर पुगेपछि परिवारसँग चिनजान भएपछि मात्रै विवाह हुने प्रचलन आइसकेको छ । माइतीमा जाने मीठो मसिनो खाने र गीत सङ्गीतमा दुःख पोख्ने पर्व नै तीज भएको अधिकारीको भनाइ छ । यसरी आफ्ना चाडबाड मनाउँदा अर्काको देखासिकी गर्ने बानीले पनि विकृति ल्याएको भन्दै अनुसरण गर्न नहुने उहाँले भन्नुभयो । तीजका गीतमा बढेको विकृतिसँगै तीज मनाउने परम्परालाई समेत बिर्सने र अराजकता निम्त्याउने हो पर्वको औचित्य नै धरापमा पर्नसक्ने कलाकार न्यौपानेको तर्क छ ।
तीजको अवसर पारेर कलाकारहरु विभिन्न कार्यक्रममा देश–विदेशका कार्यक्रममा सहभागी हुँदासमेत आफ्नो कला–संस्कृतिलाई बिर्सनु हुँदैन । प्रायः विदेशमा हुने तीज कार्यक्रममा खासै सहभागी नहुने कोइराला देशभित्र हुने विविध कार्यक्रममा भने सहभागी हुनुहुन्छ । यो तीजमा पनि समयले साथ दिएसम्म थुप्रै सम्मान कार्यक्रममा सहभागी हुने कोइरालाको विचार छ । अर्की चर्चित गायिका दुरा पोखरा र चितवनका कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ भने गायक अधिकारी भैरहवा, बुटवल, चितवन, पोखरा र देशबाहिर दिल्ली, कतार, जापानलगायतका देशमा हुने कार्यक्रममा सहभागी हुने ताकमा हुनुहुन्छ । यसैगरी गायक न्यौपाने आफ्नो गृहजिल्ला स्याङ्जामा हुने विविध तीज कार्यक्रम र तीज महोत्सवका साथै पोखरा र धादिङका कार्यक्रममा सहभागी हुने बताउनुहुन्छ ।
यसरी तीजका गीतमा बढेको विकृतिलाई हेर्दा कुन गीतले के सन्देश दिन खोजेको हो भन्ने कुरा श्रोताले मात्र होइन मिडियाले पनि बुझ्न जरुरी हुने कलाकारहरुको तर्क छ । तीजको आफ्नोपन, मौलिकता र ग्रामीण गीत–सङ्गीतबारे भोलिको पुस्ताले पनि अनुसरण गर्दै जाने कुरा भएकाले यही क्रममा विकृति बढ्दै जाने हो भने आगामी पुस्तालाई तीजको यथार्थ महŒवबारे जानकारीसमेत नहुन सक्छ । तीजमा आमाहरूले गाउँदै आउनुभएको सँगिनीभाका लगभग हराइसक्यो । तीजको मूलभाका भनेकै सँगिनी हो । यसलाई मर्न दिन नहुने वरिष्ठ कलाकारहरूको विचार रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?